कसरी बुझाऊँ पीडाको प्रमाण !
न्यायमूर्तिज्यूहरू ! रेकर्ड गर्न दिएर केटाहरू मसँग अपशब्द बोल्दैनन्। मेरो स्तनमा ठोक्किन आउनेहरू भन्दैनन्, ‘म तिमीसँग ठोक्किन्छु। तिमी साक्षी जम्मा गरिराख। क्यामेरा स्ट्यान्डबाई राख।’
महिला हरेक पल ‘चरित्र’ भन्ने कुराबाट जोगिनुपर्ने । यो बाध्यताको भुक्तभोगी म पनि हुँ। कैलालीको साबिक उदासीपुर गाविस हाल कैलारी गाउँपालिका–८, दुधिया गाउँमा जन्मेहुर्केकी म। बाल्यकाल राम्रै थियो। म स्कुल जाँदादेखि ७ कक्षासम्म घरमै शिक्षकको व्यवस्था। तर हुर्काइमा भने केही विभेद ।
स्कुलमा शिक्षकले पनि बेलाबेला प्रश्न सोध्ने बहानामा मेरो सर्टको गोजी समातेर तान्ने–धकेल्ने गर्थे। दुव्र्यवहार भनेको के हो, थाहा थिएन। तर जुन बेला शिक्षकले मेरो सर्टको गोजी समात्थे, त्यति बेला मलाई अप्ठ्यारो महसुस हुन्थ्यो। डर लाग्थ्यो। तर किन यसो गरेका भनेर प्रश्न गर्ने न हिम्मत थियो, न आँट ।
मैले गोजी हालेको सर्ट लगाउँदा पुरुष साथीहरूको नजर सर्टको गोजीमै हुन्थ्यो। तर मैले कहिल्यै कसैलाई केही भन्न सकिनँ। तिम्रा आँखा किन मेरो गोजीमा भन्नै सकिनँ। केटा साथीको आँखा सर्टको गोजीमा होइन, हुर्किंदै गरेका मेरा स्तनमाथि रहेछन्।
शिक्षकले सर्टको गोजी समातेर तान्ने र धकेल्ने बहानामा मेरा बढ्दै गरेका स्तन छोएर सन्तुष्टि लिन्थे सायद। ममाथि आफ्नै साथी र ज्ञान दिने कथित शिक्षकबाट यौन दुव्र्यवहार भइरहेको छ भन्ने कुरा बोल्नै सकिएन। या भनौं, त्यो हिंसा महसुसै भएन। अप्ठ्यारो र नराम्रो लाग्थ्यो। पढ्दापढ्दै म वैचारिक लडाइँमा होमिन पुगँे, रिजल्टचाहिँ परिवारको अगाडि बिग्रेकी केटी। मेरो आफ्नै परिवारले मलाई ‘सय घाट पानी खाएकी केटी कसरी भर्जिन हुन सक्छे’ भनी मेरो चरित्र हत्या गर्नसमेत भ्याए ।
युद्घतिर लागें
युद्धकालीन जनअदालतको उजुरी लेख्ने एक छापामार एकाएक कलमको निब तिखार्दै आफ्नो लेखनीलाई रूपान्तरण गरी आज मूलधारको पत्रकारितामा रामाइरहेकी छु। घरपरिवार छोडेर तत्कालीन नेकपा माओवादी पार्टीको पूर्णकालीन सदस्य भएँ। पार्टीले जनअदालतमा आउने मुद्दाको जाहेरी लेख्ने जिम्मेवारी दियो। ६ महिनासम्म जाहेरी लेख्ने काम गरें। न्याय निरूपणमा सहजीकरण गर्नु मूल धर्म ठान्थेँ। उजुरी लेखाउन आउनेले दिएको थोरै पैसाले आफ्नो गुजारा चलाएको स्मरण छ ।
प्रतिजाहेरी पाँच रुपैयाँ पाउँथेँ। त्यही पैसाबाट साँझबिहान तरकारी, नास्ताको खर्च जोहो हुन्थ्यो। लेखनमा रुचि बढ्दै जान थालेपछि पार्टीले प्रचारप्रसार विभागमा खटायो। २०६३ सालमा माओवादीको मुखपत्रका रूपमा चिनिने सेम (सेतीमहाकाली) आवाज पत्रिकाको हकर बनेँ। मुद्दाको उजुरी त लेख्थेँ तर समाचार के लेख्ने र कसरी लेख्नेबारे ज्ञान थिएन। कुनै रोजाइको विषय पनि थिएन, न त रहर नै।
राज्यको चौथो अंग मानिने पत्रकारिता जति आकर्षक छ, त्योभन्दा धेरै चुनौतीपूर्ण । कहिले हिरो त कहिले जिरो हुने अवस्था सामना गरिरहनुपर्ने अवस्था छ। र महिला भएकै कारण थप समस्या पनि छँदै छन्। बेलाबेला सामाजिक असुरक्षासँगै लैंगिक विभेद, यौन दुव्र्यवहारलगायत यौन आशयका मनोवैज्ञानिक हिंसाबाट गुज्रिनुपर्छ।
पत्रकारिता क्षेत्रको सुरुआती चरणमा धनगढी बजारको चोक, गल्लीगल्लीमा पत्रिका बाँडँे। मसँगै पत्रिका बाँड्ने पुरुष सहकर्मीलाई पत्रकारज्यू भनेर सम्बोधन गरिन्थ्यो तर मलाई भने फलानाकी छोरी पत्रिका बाँड्छे भनिन्थ्यो। पत्रिका वितरण गर्दा होस् या समाचार संकलन, सहकर्मी तथा माथिल्लो ओहदाका कर्मचारीबाट समेत यौन आशयका प्रहार खेपेँ।
बाटोमा हिँड्ने बेला पाइन्टको गोजीभरि ढुंगा बोक्थेँ, ब्यागमा खुर्सानीको धुलो, सानो चक्कुजस्ता हतियार बोकेर अफिसबाहिर निस्किन्थेँ। एक दिन साथीहरूले ब्यागमा चक्कु देखेपछि हप्काए— किन चक्कु बोकेको ? यसरी धारिलो हतियार बोकेर हिँड्नु हँुदैन। केही भइहाल्यो भने तिमी फस्छौ।
त्यो दिनदेखि चक्कु बोक्न छोडेँ। काम गर्ने दौरानमा ठाउँठाउँमा काँडा हुन्छ भन्छन्, हो रहेछ भन्ने भान हुन्छ कहिलेकाहीँ। सार्वजनिक यातायात चढ्दा यात्रुहरूबाट दुव्र्यवहार खेप्नुपर्ने बाध्यता, साथीहरूको निजी गाडीमा चढूँ भन्दा आफ्नै साथीबाट अदृश्य रूपले दुव्र्यवहार हुने। कस्तो नियति ! बसको यात्रा गर्ने क्रममा सँगै सिटमा बस्ने धेरै पुरुषलाई ‘बस्न आउँदैन, बस्न पनि सिकाउनु पर्छ कि क्या हो’ भनेर हप्काएको याद आउँछ। बाइकमा बस्ने पुरुषहरू तिम्रो बडी कस्तो राम्रो, बेलुनजस्तै फुक्क भएको भन्दै जिस्क्याउँछन्। मेरो शरीर त यस्तो छ, अरूको कस्तो हुन्छ नि ?
पत्रकारितामै पनि पदमा विभेद, ज्यालामा विभेद र काममा पनि विभेद भइरहेको हुन्छ। यो विभेदमा लिंग जोडिएर आउँछ।
अहिले म आफ्नै सम्पादनमा केर्नी न्युज डटकम चलाइरहेकी छु। विज्ञापन माग्न जाँदा पटकपटक अदृश्य रूपले यौन दुव्र्यवहारको सिकार हुनु परेको छ ।
पहिला पनि केही पत्रकार साथीसँग मिलेर न्युजपश्चिमेली पत्रिका सञ्चालन गरेका थियौं। म त्यो पत्रिकाको उपसम्पादक थिएँ। रिपोर्टिङ–मार्केटिङ सबै आफैं हेर्नुपर्ने भएकाले दिनभरि बजार डुल्थेँ, साँझ समाचार लेखेर राति पत्रिका सेटिङ गर्दागर्दै १२÷१ पनि बज्थ्यो ।
एक दिनको कुरा हो ।
राति ८ बजेतिर कामको सिलसिलामा रेडियो पश्चिम टुडे गएकी थिएँ। त्यहाँबाट फर्किने क्रममा बाटोमा एक व्यक्तिले पछाडिबाट आएर मेरो संवेदनशील अंग समात्यो। म चिच्याएँ। जबर्जस्ती गर्न थाल्यो। मेरो हातमा ढुंगा थियो। त्यही ढुंगाले हिर्काएर बल्लबल्ल जोगिएँ।
त्यो घटनापछि अफिसमा काम गर्ने सम्पादक र विशेष सामाचारदाता छोडेर अन्तै काम गर्न थाल्नुभयो। प्रेस अफिसभन्दा डेढ किलोमिटर पर थियो। एक दिन राति प्लेट छोड्न जाने क्रममा एक पुरुष सहकर्मीसँग बाइकमा लिफ्ट मागेँ। उहाँले लिफ्ट पनि दिनुभयो। बिनाप्रसंग उहाँले भन्नुभयो, ‘मलाई श्रीमतीको याद आयो ।’
म झसंग भए। मन दरिलो बनाएर भनेँ, ‘श्रीमतीको याद आए श्रीमतीसँगै बस्नुपर्ने ?’
‘म नआए प्रेसमा कसरी जान्थ्यौ ? बाटोमा कसैले केही
गर्यो भने ?’ उसले भन्यो ।
मैले मुखभरिको जवाफ दिएँ।
सहकर्मी होस् या नजिकको साथी, १०÷१२ वर्षको दौरानमा धेरैको बाइकपछाडि बसेर रिपोर्टिङ गरेकी छु। ब्रेक लगाउने बहानामा यौन दुव्र्यवहार गर्ने धेरै पुरुषको फेला परेकी छु। विभिन्न व्यक्तिबाट फेसबुक इनबक्समा अश्लील तस्बिर र मेसेज आइरहन्छन् । हालै फेसबुकमा अश्लील सामग्री पठाउनेविरुद्ध उजुरीसमेत दिएकी छु। ‘दुःखी आत्मा’ नाम राखेर फेसबुक चलाउनेमाथि साइबर क्राइम मुद्दाअन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान थालेको छ। परिचित व्यक्ति पनि विज्ञापन दिने बहानामा बोलाएर कहिले आँखाले, कहिले हातले, कहिले कुइनाले त कहिले छातीले दुव्र्यवहार गरिरहेका हुन्छन्। न्यायालयमा गएर
उजुरी हालूँ भने पनि मलाई फलानो मान्छेले सुस्केरा हाल्यो,
छेड्यो, अश्लील बोल्यो, कुइनाले मेरा स्तनमा छोयो, मलाई धकेल्यो भन्दा ‘तिमीसँग प्रमाण के छ ? देख्ने सुन्ने साक्षी को
छ ?’ भनिन्छ।
न्यायमूर्तिज्यूहरू ! रेकर्ड गर्न दिएर केटाहरू मसँग अपशब्द बोल्दैनन्। मेरो स्तनमा ठोक्किन आउनेहरू भन्दैनन्, ‘म तिमीसँग ठोक्किन्छु। तिमी साक्षी जम्मा गरिराख। क्यामेरा स्ट्यान्डबाई राख ।’
हामीले कसरी र कति प्रमाण पेस गर्नु र साक्षी जुटाउनु ?
विषयमा भन्दा बढी मेरो प्रेमी छ कि छैन ? कस्तो केटा मन पर्छ ? म तपाईंलाई कस्तो लाग्छु ? तपाईंको यो चिज राम्रो छ, हुन त यस्ता यावत् प्रश्न र जिज्ञासाविरुद्ध अचेल ठाउँका ठाउँ प्रतिकार गर्छु तर मेरो प्रतिकारले मात्रै सम्भव छ त ?
पत्रकारलाई सचेत भनेर मानिन्छ। मजस्ता त पाइलैपिच्छे यौन दुव्र्यवहारको सिकार भइरहनुपरेको छ भने अन्य सोझासीधा महिलाको अवस्था कस्तो होला ?
[email protected] क्रियाशील पत्रकार महिला कैलालीकी अध्यक्ष हुन् ।