#नटमी

#नटमी

यो कथाजस्तो लाग्न सक्छ।

तर कथा होइन।
तर घरीघरी लागिरहन्छ, कथा भइदिएको भए बरु जाती हुन्थ्यो।

फेरि लाग्छ, कथा माटोबाट खनेर निकाल्ने हैन। कथा हुनु भनेको नै पात्रहरू हुनु हो। पात्रहरू निरपेक्ष हुँदैनन्। सोच्न थालेपछि मन पोल्छ। लेख्न थालेपछि शीतल हुन्छ। सायद मैले यो लेख आफ्नै मनलाई शीतल बनाउन लेखेकी हुँ। यसलाई ययार्थको कसीमा उम्दा बनाउनका लागि मैले कत्ति पनि कल्पना हालेकी छैन। 
तर पनि, समाजको साहै्र विरूप अनुहार हेर्न मन छैन भने यसलाई कथै मानेर पढे पनि हुन्छ। 
तर फेरि पनि भन्छु, यो कथा चाहिँ होइन। 

सात वा आठ वर्षकी हुँदी हुँ। आमा मामाघरमा बसेर त्यहीँको स्कुलमा पढाउनुहुन्थ्यो। शुक्रबार शुक्रबार घर आउनुहुन्थ्यो। शनिबार बिहानै नुहाइदिनुहुन्थ्यो, जुम्रा हेरिदिनुहुन्थ्यो, स्कुल ड्रेस धोइदिनुहुन्थ्यो र २ बजेतिर हतारहतार फेरि मामाघर जान निस्कनुहुन्थ्यो। 
म गल्लीको तगारोनेर बसेर आमाले लामालामा पाइला चालेको हेरिरहन्थेँ। अलि तल पुगेपछि उहाँ फर्केर एकछिन टुलुटुलु हेर्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, ‘घर जाऽऽऽ !’
हजुरआमाले स्याहार गर्न भ्याउनुहुन्न भनेर आमा महिनैपिच्छे घरअघिल्तिर ठूलोगरामा लगेर मेरो कपाल छाँटिदिनुहुन्थ्यो। म ठुटे कपालमा टिसर्ट र हाफ कट्टु लगाएर गाउँ चहार्थेँ। जामा त मलाई मेरी आमाले कहिल्यै पनि किनिदिनुभएन। 

एकदिन कसैले सुतिरहेको बेला मेरो उही कट्टुभित्र हात हाल्यो। म झकाउन लागेकी रहेछु। एकछिन त मसँगै सुतिरहेको मेरो प्रिय पाहुनाले किन त्यसो गरिरहेको छ भन्ने पनि मेसो पाइनँ। मुटु ढक्क फुल्यो। सास फेर्नै रोकेर कक्रक्क परेँ। ऊ सायद अलिअलि जाँडको तालमा थियो। उसले फेरेको सासको आवाज र गतिले ऊ निद्रामै छ जस्तो लाग्थ्यो। एकछिनमा उसको हात चलमलाउन छोड्यो र ऊ घुर्न थाल्यो। त्यसपछि म बिस्तारै खाटबाट निस्केँ र भर्‍याङ ओर्लेर लुसुक्क हजुरआमाको ओढ्नेभित्र पसेँ। 
ओढ्नेभित्र पसेको धेरै बेरसम्म पनि मेरा गोडा थर्थराइरहे, मुटु 
ढुकढुक गरिरह्यो। 
‘किन आइकी ह्याँ ?’ हजुरआमाले मेरो टाउकोलाई सिरानीनेरको कुनै लुगाले छोपिदिँदै सोध्नुभो।
‘त्यत्तिकै।’ मैले घुँडो र मुन्टो एकैठाउँ जोतेर भनेँ।

त्यसपछि हजुरआमा चुरोट गन्हाउनुहुन्छ भन्ने बहाना निकालेर मैले कहिल्यै पनि घर आउने पुरुष पाहुनाहरूसँग सुत्ने ढिपी जितिनँ। बरु केही थान गाउँखाने कथाहरूको माया मारिदिएँ। 
त्यस दिन, रात छिप्पिएपछि ‘त्यत्तिकै’ आफ्नो ओछ्यानमा घुस्रन आएकी नातिनीको एउटै गुजुल्टो परेको शरीरमा हजुरआमालाई केही नौलो लाग्यो कि लागेन होला ? थाहा छैन, किनकि, न हजुरआमाले सोध्नु भो, न मैले भनेँ।

त्यस दिन हात चल्मलाउन नछोडेको भए ? समाचारमा ससाना नानीहरू बलात्कृत भएको समाचार आउँदा अचानक बार्दलीको त्यो खाटमा 
पुग्छु र झसंग हुन्छु। नढाँटी भन्ने हो भने कञ्चनपुरकी निर्मला पन्तको घटनाबाहेक मैले कहिल्यै पनि बलात्कारका कुनै समाचार शीर्षकबाहेक खोलेर पढेकी छैन।

एसएलसीको जाँचभन्दा केहीअघि एउटा राष्ट्रियस्तरको टीभी च्यानल हाम्रो स्कुलको वार्षिकोत्सव खिच्न आएको थियो। आमाले घरपाई भएर आएदेखि छाँट्न छाडिदिएको भुत्ते कपाल पहेँलो डोरीले माछीकाँडे बाटेर मलगायत साथीहरू स्कुलमा फर्‍र्याकफुरुक गरिरहेका थियौं। 
यत्तिकैमा कार्यक्रम लिएर आउनेमध्ये एउटाले भन्यो, ‘कसैलाई आफैं कार्यक्रम चलाउन मन छ ?’

सानैदेखि रेडियोमा कान जोडेर ठूली भएपछि कार्यक्रम प्रस्तोता बन्ने रहर फुलाएर बसेकी ममा त्यो प्रस्तावले जिउमा काँडा नउम्रने कुरै थिएन। माइक समातेर मैले नबिगारी क्यामेरामा हेरेर फरर बोलेको देखेर कालेकाले, दुब्लेपातले व्यक्तिले भने, ‘तिमीले जत्तिको राम्रो कार्यक्रम त हाम्री रेगुलर प्रस्तोताले पनि चलाउँदिनन्। एसएलसी सकिएपछि काठमाडौं आउँछ्यौ ?’
मेरी आमा १२ वर्षको उमेरमा घरमा झगडा गरेर एकैचोटी कक्षा ४ मा स्कुल भर्ना हुनुभएको थियो। टिसर्ट र लुंगी लाएर घरबाट दुई घण्टा ओरालो झरेर स्कुलको बेन्चमा बस्दा उहाँलाई बाह्रखरीबाहेक आउँदैनथ्यो रे। 

त्यो तन्नेरी युवक, जसले मेरा अक्षरको प्रशंसा गर्दै कापीमुनिबाट मेरो तिघ्रामा हात घुसारेको थियो वा आँखीभौँ फुलेको त्यो वृद्घ पुरुष, जसले मेरो झोला लिइदिने निहुँमा मेरो पाइन्टको जिपरतिर हात बढाइरहेको थियो। कतै ती सबै म सातआठ वर्षकी छँदा मेरो कट्टुभित्र हात घुसार्ने पाहुनाका प्रतिविम्ब त होइनन् ? 

घाँस काट्न जाँदा बाटोमा किताब हेर्दै पाठ घोकेर उहाँले १२ कक्षासम्म पढ्नुभो। जागिर खानुभो। उहाँलाई सहर गएर पढ्ने, टाठीबाठी हुने खुब रहर थियो। आफ्नो रहर उहाँ ममार्फत पूरा गर्न चाहनुहुन्थ्यो। म एसएलसीपछि काठमाडौंमा मामाघर बसेर पढ्ने म सानो छँदै पक्का भइसकेको थियो। 
मैले मक्ख पर्दै मुन्टो हल्लाएँ। 
उनले मेरी आमाको नम्बर लिए। फर्कने दिन बुवाले एक झोला पाकेका सुन्तला कोसेली ल्याइदिनुभो। 
‘होस्टेलबाट घर आएका बेला फोन गर्नु है। अथवा मिसकल गर्नु। 
म आफैं गर्छु।’
जानेबेला उनले भनेका थिए। 

हरेक महिनाको अन्तिम शुक्रबार होस्टेलबाट घर गएका बेला म उनलाई फोन गर्थें। उनी काटेर आफैं गर्थे। पढाइ, सञ्चोबिसञ्चो आदि सोध्थे। ब्रिजकोर्स गर्ने गरेर चाँडै आऊ भनेर सुझाव दिइरहन्थे। मेरो मामाघरको ठेगाना सोध्थे। त्यहाँबाट उनको डेरा र अफिस पुग्न कति समय लाग्छलगायतका कुरा बताइरहन्थे। कहिलेकाहीँ मेरो खुब प्रशंसा गरेर ममीसँग पनि बोल्थे। 
म गर्व र घमण्डले गजक्क फुल्थेँ। कति असल मान्छे, मलाई लागिरहन्थ्यो। 
एसएलसी सकेपछि म होस्टेलबाट घर फर्किएँ। परिस्थिति त्यस्तै पर्‍यो, ब्रिजकोर्स गर्न काठमाडौं गइनँ। उनीसँग बरोबर कुरा भने भइरहन्थ्यो। दिउँसो फोन गरेमा उनी भन्न थालेका थिए, ‘अहिले बिजी छु, राति गर्छु।’ 

यस्तैमा एकदिन राति फोन गरेका बेला उनले राधा, कृष्ण र गोपिनीहरूको कथा सुनाए। म भर्खरभर्खर मायापिरतीका कुरा बुझ्ने भएकी थिएँ, एकदुई केटाहरू थिए, जसलाई देख्दा मनमा काउकुती लाग्थ्यो तर त्यस रात मेरा कानलाई उनको कथा बिझायो। त्यसमा मायापिरतीको आग्रह लेस मात्र पनि थिएन र जसरी उनले ती कुराहरू भनेका थिए, म भित्रभित्रै डराउन थालिसकेकी थिएँ। तर कसरी प्रतिक्रिया जनाउने, जानिनँ। उनले भनेको कथाको मतलबके थियो, त्यो पनि खुट्याउन सकिनँ। न गाली गर्न सकेँ, न फोन काट्न नै। 
म बार्दलीको त्यही खाटमा पल्टिरहेकी थिएँ। 

भोलिपल्ट दिनभरि सोच्दा पनि उनको त्यो कथा मन पराउन नसकेपछि साँझपख मझेरीको थामलाई अँगालो हालेर मैले भनेँ, ‘ममी, म काठमाडौं पढ्न जान्नँ।’
हजुरआमा पिँडीमा बसेर चुरोट तान्दै हुनुहुन्थ्यो। ममी साँझको दियो झुल्क्याउन लाग्नुभएको थियो। फरक्क फर्केर भन्नुभो, ‘बौलाइस् क्या हो ?’ 
ममीले हकारेर हजुरआमाले सम्झाएपछि अलिकति अक्मकाउँदै मैले भनेँ, ‘मलाई त्यो मान्छे अलि बदमास बदमास लाग्यो। फोनमा जे पायो त्यही कुरा गर्छ।’
ममीले के कुरा भनेर सोध्नु भएन। बरु उत्तिनखेरै तनहुँको फुपूको घर पोखरामा सारिदिनुभयो। फुपूकी बिहे भइसकेकी छोरीलाई भर्खर एसएलसी दिएकी बनाइदिनुभयो। ऊ र म भएर पोखरामै साइन्स पढ्ने भयौं, ममीको बहानामा। र मलाई तुरुन्तै उसलाई फोन गर्न लगाउनुभयो। एकाएक त्यस्तो खबर सुनेर ऊ सुरुमा त अकमक्क पर्‍यो। अघिल्तिर मेरो मुख हेरेर बसेका आमा र हजुरआमाको आडले फोन राख्नुअघि अलि खरो स्वरमा मैले अबदेखि मलाई फोन नगर्नु भनेपछि त्यो मेरो बहाना थियो भन्ने बुझ्यो कि ? उसले मलाई फेरि कहिल्यै फोन गरेन। 

काठमाडौं आएको दुई वर्षपछि मैले बालबालिकाका लागि समाचारमूलक कार्यक्रमको प्रस्तोताको रूपमा टीभीमा जागिर खाएँ, आफ्नै खुबी र पाइनले। अमेरिका अनि भारत हुँदै केहीअघि लुसुक्क नेपाल छिरेको ‘मीटू’ आन्दोलनलाई एक्लै लघारिरहेका केही महिलाहरूमाथि ‘अवसर पाउन्जेल लिने’ वा ‘कुरा मिलुन्जेल मस्ती, बिग्रेपछि केटालाई सास्ती’ जस्ता लाञ्छनाले मलाई अकस्मात् आफ्नो विगतमा फर्कायो। सोचेँ, त्यस दिन आमासित काठमाडौं पढ्न जान्नँ भनेर मैले आफूलाई कत्रो दुर्घटनाबाट बचाएकी रहेछु। नत्र यतिखेर म पनि ‘मैले अवसरका लागि उसको प्रयोग गरेकी थिइनँ...’ भनेर स्पष्टीकरण दिइरहेकी पो हुन्थेँ कि ? 

हिजोआज आमा मलाई अचम्भित पारेर तेरो ब्वाइफ्रेन्ड छैन ? भनेर घरिघरि सोध्न थाल्नुभएको छ। तर ‘त्यो रात के भन्याथ्यो दुर्गा, त्यल्ले ?’ भनेर कहिल्यै पनि सोध्नु भएन। मैले पनि कहिल्यै त्यहाँभन्दा धेरै भनिनँ। एकमनले लाग्छ, सायद बिर्सिसक्नु पो भयो कि ? अर्को मनले तुरुन्तै प्रतिवाद गर्छ, अहँ, कसै गरे पनि बिर्सनु भएको छैन। लाग्छ, आमा त्यो कुरा उप्काउन चाहनुहुन्न, त्यसरी नै, जसरी ‘त्यस्ता’ दुव्र्यवहार र दुर्घटनाबाट जोगिएकाहरू धन्न जोगिइयो, अब कुरा गरेर के फाइदा भनेर उप्काउँदैनन्, वा ‘त्यस्ता’ दुव्र्यवहार र दुर्घटनाबाट नजोगिएकाहरू जे हुनु भई त गयो, अब कुरा गरेर के फाइदा भनेर कुरा उप्काउँदैनन्।

असारको अन्तिम हप्ता थियो। बुवाआमा वर्षे बिदाको मौका पारेर काठमाडौं आउनुभएको थियो। साइन्समा प्लस टु सकेपछि म डाक्टर पढ्दिनँ, कानुन पढ्छु भन्दा बुवाले भन्नुभएको थियो, ‘दुईपैसे वकिल बन्नलाई ?’

मैले त्यतिबेला उहाँलाई कति बुझाउन सकेँ वा सकिनँ थाहा छैन, तर कानुनमा भर्ना भएरै छोडेँ। टेलिभिजन प्रस्तोताको रूपमा पार्ट टाइम जागिर सुरु गरेँ। क्यामेराका अघि निर्धक्क भएर बोल्थेँ। कक्षामा हुने विभिन्न बहसमा बोलेर थाक्दैनथेँ। गाडीमा कार्ड डिस्काउन्ट नदिने सहचालकलाई ट्राफिकसम्म पुर्‍याउन समेत बाँकी राख्दिनथेँ। नाकाबन्दीको बेला तेब्बर बढी भाडा उठाउने बसलाई थानकोट चेकपोस्टमा आधा घण्टा रोकिदिएकी थिएँ। 
‘कति जब्बर छेस् ? बदमासहरूले रिसइबी पालिराखेर केही उल्टोपाल्टो गर्दिए भने...’ आमा मेरो स्वभाव देखेर डराउनुहुन्थ्यो। 
तर आमालाई थाहा थिएन, म पनि डराउँछु। 

त्यस दिन झोलामा भर्खरै पाएको अधिवक्ताको लाइसेन्स थियो। मलाई कहिले घर पुगेर बुवाआमालाई प्रमाणपत्र देखाऊँ झैं भएको थियो। माइक्रोका अगाडिका सिट खाली थिएनन्। अन्तिमको सिट खाली थियो तर नजिकै झर्नुपर्ने हुँदा कुनापट्टि छिर्न मन लागेन। बाटैनेर सिटको झ्यालपट्टि बसिरहेको केटाको छेवैमा बसेँ। मोबाइलमा डेटा अन गरेँ। कसैले ट्विटरमा मेन्सन गरेर जिस्काएको रहेछ। मुसुक्क हाँसेर रिप्लाई गरेँ अनि मोबाइल बन्द गरेर झोलामा राखेँ। 

काखमा झोला थियो। झोलामुनिबाट कसैको हात तिघ्रातिर सगसगाएजस्तो लाग्यो। आँखीभौं खुम्च्याएर एकछिन विचार गर्न खोजेँ, माइक्रो हल्लिँदा छोइएको पो हो कि ? तर झुक्किएर छुनु र हातै घुसार्न खोज्ने प्रयासमा हुने भिन्नता नबुझ्ने हुस्सु म थिइनँ। मुन्टो अर्को साइडमा फर्काएर झ्यालपट्टि एकनासले हेरिरहेँ। मुटु ढुकढुकढुक गर्न थाल्यो।
केही दिनअघि मात्रै यस्तै माइक्रोमा मेरो बाबुको उमेरको मान्छेले 

यसैगरी मेरो तिघ्रातिर हात बढाएको थियो। सँगै घरीघरी आफ्नो लिंगमा पनि हात राख्थ्यो। म भित्रभित्र तथानाम गाली गर्थें, तर बाहिर भने मरिकाटे आवाज निक्लदैनथ्यो। 
कसैले मेरा तिघ्रा वा स्तनमा हात बढाएको यो पहिलोपटक भने 

थिएन। तर त्यस दिन मलाई कुनै अचम्मको चिजले छोपेर ल्यायो र झर्नै लागेको बेला म अकस्मात् पड्किएँ, ‘तपाईं मेरो शरीरमा हात ल्याएर के गर्न खोज्दै हुनुहुन्थ्यो ?’ 
उसले सुरुमा हड्बडाउँदै प्रतिकार गर्‍यो। त्यसपछि सरी भन्यो। तर म रोकिइनँ। गाडीबाट ओर्लेर पर पुगुन्जेल पनि म एक्लै बर्बराइरहेकी रहेछु। मेरा गोडा उसैगरी काँपिरहेका थिए जसरी १७ वर्षअघि बार्दलीको खाटबाट निक्लेर भर्‍याङ ओर्लंदा काँपेका थिए। 

अस्तिको घटना दिमागमा रिप्ले हुँदाहुँदै यसपटक पनि झर्ने ठाउँ नजिकै आइसकेको थियो। चुपचाप सरक्क ओर्लूं कि त भन्ने विचार पनि घरीघरी नआएको होइन। तर झोलाको अधिवक्ताको प्रमाणपत्रले गिज्यायो। मिति सकिइसकेको पत्रकारको परिचयपत्रले गिज्यायो, जसको आडमा मैल पाँच वर्षसम्म कैयौं बालबालिकाका यस्तै र योभन्दा भयंकर कथाहरू अरूलाई सुनाएकी थिएँ। अन्तरमनले गाली गर्‍यो, ‘आफ्नै लागि त बोल्न नसक्नेले अर्काका लागि कसरी बोल्छेस् ?’ 
मैले जुरुक्क झोला उचालेँ। उसले स्वाट्ट हात तान्यो। एक्कासि आवेशमा आएर म चिच्याएँ, ‘के गर्दै थिइस् तैले ?’

खचाखच माइक्रोका मान्छेले मतिर हेरे। 
‘के गर्‍याछु ?’ उसले उल्टो मलाई हर्कायो। 
जब मुन्टो फर्काएर मतिर हेरिरहेका मान्छेलाई मैले बुझाउन खोजेँ त्यहाँ के भइरहेको थियो, ऊ अकस्मात् बोल्यो, ‘दिमाग फुस्क्याछ यो केटीको !’
एकछिनको लागि त म अवाक् भएँ। कालो कोट र सेतो सर्ट लगाएकी थिएँ। अनुहार ठीकठाक थियो। मेरै छेऊमा बसेको मेरै उमेरको केटा आफूलाई आरोप लगाएबापत् मलाई मानसिक सन्तुलन गुमाएकी, आफैं उतिर टाँसिन आएकी ऊजस्तै गतिछाडा केटीको संज्ञा दिँदै थियो र मेरो अगाडिका एक हूल मान्छे कोही मुसुमुसु हाँस्दै त केही ट्वाल्ल परेर रमिता हेरिरहेका थिए।
‘ऊः त्यो बाहिरको ट्राफिकलाई बोलाइदिनु न...’ 

मैले रुनमात्र नसकेर भनेँ।‘हाम्ले उसले तपाईंलाई हात हालेको त देखेको छैन, कसरी पत्याउने ?’
उल्टो सिटमा बसिरहेको एउटा अधबैँसे पुरुषले मलाई गिज्याएको भावमा भन्यो। मैले जिन्दगीमा आफूलाई यति अपमानित, निरीह र असहाय कहिल्यै पनि महसुस गरेकी थिइनँ। 
त्यो दिन झोलामा वकिलको ब्रान्ड न्यु प्रमाणपत्र नहुँदो हो त म त्यो केटा र ती मान्छेहरूलाई थुकेर गाडीबाट ओर्लने थिएँ होला। तर ओर्लिइनँ, किनकि यसै ओर्लन हुन्न भन्ने चेतना ममा पलाइसकेको थियो। मसित झ्याल खोलेर आफैं पुलिसलाई बोलाउन सक्नेसम्मको चर्को बोली थियो। निवेदन लेख्न सक्ने क्षमता थियो। भरे रात परे पुलिसचौकीबाट ट्याक्सीमा फर्कन सक्ने पैसा थियो। पछि केही गरिहालेछ भने देखा जाएगा भन्ने दृढता र हठ थियो। 

प्रत्यक्ष रूपमा, तात्तातै, रंगेहात मलाई यौन दुव्र्यहार भयो भनेर भन्दा त एउटा स्वरको सहयोगसमेत नपाएकी मलाई त्यो दिनको घटनापछि जीवनको कुनै कालखण्डमा ममाथि फलानाले यस्तो हिंसा गरेको थियो 
भनेर बाहिर आउने महिलालाई लगाइने चरित्रहीनको आरोप नौलो लाग्न छाडेको छ। 

र यसअघि कुनै लेनदेन नभएको एउटा सामान्य मानिसले गरेको अन्यायका विरुद्ध बोल्न मैले आफूमाथि दुव्र्यवहार भइरहेको छ भन्ने चेतना, गुहार्नुपर्ने सम्बन्धित निकायको जानकारी र पहुँच, डट्ने र लड्ने साहस, मेरो भाइको ‘नछोड्नू दिदी त्यस्तालाई’ भन्ने मेसेज र रात परे भरे घर फर्कनको लागि पैसासमेतको बारेमा सोच्नुपर्‍यो भने स्थापित, शक्तिशाली मान्छेविरुद्ध बोल्न एउटी महिलालाई के के चाहिन्छ, ‘मप्रति अन्याय भयो’ भन्ने महिलालाई प्रतिआरोप लगाउने मान्छे सोच्नैपर्छ। कति महिलाले जीवनको कुन कालखण्डमा पुगेपछि यी सबै कुरा जुटाउन सक्छन् भन्ने पनि विचार गरे प्रतिआरोप लगाउनै पर्दैन। कसैलाई यौन हिंसा र दुव्र्यवहारजस्तो गम्भीर आरोप लगाउनु केटाकेटी छँदा आमासँग यसले मेरो कलम चोर्‍यो भनेर चुक्ली लगाइदिए जस्तो सजिलो र सामान्य होइन भन्ने बुझ्नै पर्छ।

म स्कुल पढ्दा ब्रा लाउने उमेर नहुँदासम्म मेरा गालाहरू तानिए, तिघ्राहरू चिमोटिए। अंकल, ठूलोबुवा, दाइलगायत विभिन्न नाता र साइनोहरूले जबर्जस्ती मेरा गालामा दलिदिएका दाह्रीले अझै पनि मलाई खस्रो गरी बिझाउँछन्। जब ब्रा लगाउने उमेर भयो, कक्षा चलिरहेकै बेला सर्टबाहिरबाट मेरो ब्राका फित्ताहरू नापिए। स्याबासीको धाप मारिँदा होस् वा बदमासीका लागि कुटाइ खाँदा, मसँगै मेरा धेरै साथीहरूले आफ्ना ढाडमा सरसराउने छिप्पिएका हातहरूलाई भुइँमा निहुरिएर सरापेका छौं। कतिपय शिक्षकहरूले जबर्जस्ती आफ्नो मुखमा गाडेको चम्चाले जुठ्याइदिएको टिफिनको खाजा चुपचाप खाएका छौं र उनीहरू पर पुग्नासाथ जमिनमा थुकेका छौं। कक्षाकार्य दिएर एउटा कुनाबाट चिहाइबस्ने सरहरूको गिद्धे नजरदेखि निधारको पसिना पुछेर नङले आफूतिर छर्कने शिक्षकहरूको अपमानसमेत घुटुघुटु पिएका छौं। कहिले दाँत किटेर, कहिले थुकेर र कहिले आँसु बहाएर आफैंलाई थुम्थुम्याएका छौं। 

केही महिनाअघि जब ललितपुरको एउटा चर्चित विद्यालयमा शिक्षकहरूमार्फत भएका यौनहिंसाका घटनाहरू एकपछि अर्को गर्दै बाहिर आए, उक्त स्कुलमा केटाकेटी पढाइरहेका बाबुआमा एकाएक तर्सिए, आत्तिए। तर तमाम् बाबुआमालाई अझै के थाहा छैन भने देशैभरिमा एउटा स्कुल छैन जहाँ कम्तीमा पनि एउटा शिक्षकले तपाईंका नानीहरूको ब्राको फित्ता नपड्काएको होस्। उनीहरूलाई एकान्तमा लगेर फ्रकभित्र हात घुसाउनेहरू समेत अब अपवाद बन्न छोडेको कुरा त यस्ता घटनाबारे बढ्दो समाचारले पनि बताउँछ। खाटा बसिसकेको घाऊ उप्काएर त्यसको पीडा फेरि भोग्नु जति जटिल काम हो, त्यो घाउ लगाउनेलाई ठुङ्न जानु त्योभन्दा जटिल काम हो।

बलात्कार जस्ता घटनामा त पीडितको इज्जत जान्छ भनेर छोपछाप पारेर राख्ने हाम्रोजस्तो समाजमा यसले यति वर्षअघि मेरो चाकमा चिमोटेको थियो वा मलाई अफिसभित्र बोलाएर आफ्नो लिंग देखाएको थियो भनेर भन्नु कुनै पनि हालतमा सजिलो काम होइन किनकि, हाम्रो समाज महिलालाई पत्याउँदैन। हाम्रो सामाजिक चरित्र नै अचम्मको छ। केटाकेटी छउन्जेल कुनै बदमासी गरेको हो होइन पक्का गर्न दाजुभाइको विश्वास गरिन्न, दिदी वा बहिनीलाई हाजिर गराइन्छ। तर जब ठूला हुन्छन्, हाम्रो समाजको उनीहरूमाथिको विश्वास यति धमिलिएर जान्छ कि आमा एक्लैको नाममा नागरिकता दिने व्यवस्था ल्याइयो भने महिलाहरूले विदेशीका सन्तान जन्माउने अभियान चलाउँछन् भन्ने सोच्नसमेत हाम्रो समाज पछि पर्दैन। 

सोच्छु, कैयौंचोटि मामाघर वा मन्दिर वा आफन्तकोमा जाँदा मैले आश्रय लिएका काखहरू, जसले मलाई अप्ठ्यारो गरी बिझाउँथे, घोच्थे र कहिले झर्ने ठाउँ आउला र भागौंलाजस्तो बनाउँथेँ। कक्षा १२ को जाँच दिन जाँदा सँगैको सिटमा परेको त्यो तन्नेरी युवक, जसले मेरा अक्षरको प्रशंसा गर्दै कापीमुनिबाट मेरो तिघ्रामा हात घुसारेको थियो वा कलेजी रङको लगौंटी लगाएको त्यो बौद्ध भिक्षु, जसको हातले बसको सिटमा म निद्राबाट ब्युँझँदा मेरो छाती खोस्रिइरहेको थियो वा निधारमा चन्दन लगाएको, आँखीभौँ फुलेको त्यो वृद्ध पुरुष, जसले मेरो झोला लिइदिने निहुँमा मेरो पाइन्टको जिपरतिर हात बढाइरहेको थियो..., कतै ती सबै म सातआठ वर्षकी छँदा मेरो कट्टुभित्र हात घुसार्ने पाहुनाका प्रतिविम्बहरू त होइनन् ? 
वैवाहिक बलात्कारको कानुन आउँदा आफ्नै श्रीमतीसँग सुत्न पनि सहमतिको करारमा हस्ताक्षर गर्नुपर्ने भयो भनेर करार नै मस्यौदा गरेर सामाजिक सञ्जालमा भाइरल बनाउने, ‘मीटू’ आन्दोलनलाई अब त केटीहरूलाई मेसेज गर्न पनि डराउनुपर्ने भयो भनेर उडाउनेहरू तिनै 

हुन्, जसले महिलालाई पूर्ण मानवको रूपमा कहिल्यै पनि हेरेनन्। र जसलाई लाग्छ, महिलाहरू कि त स्टुपिड हुन्छन् होइन भने बदमास वा छट्टु हुन्छन्। तर सत्य त यो हो कि, कुनै पनि महिलाले आफूलाई छुने हातहरूको नियत एक निमेषमै पत्तो लाउन सक्छिन्। फरक यत्ति हो, केही महिलासँग ‘त्यो हात झिक’ भन्न सक्ने साहससम्म हुँदैन भने केही हात हटाएर हात राख्नेका गालामा पाँच औंलाको डाम बस्ने गरी चड्कन हानेर जान सक्ने साहस राख्छन्। 

तर दुःखको कुरा के हो भने चड्कन हान्न सक्ने बलिया महिलाहरू हामीले मनग्गे उत्पादन गर्न सकेका छैनौं र त्यसका लागि हामीलाई अझै निकै वर्ष लाग्नेछ। र ढुक्क हुनुस्, जुन दिन त्यस्ता महिलाहरू उत्पादन हुनेछन्, त्यो दिन यौन दुव्र्यवहार र हिंसाका घटनाहरू मुलुकी अपराध संहिता वा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार ऐनअनुसार हेरिन्छन्, ‘मीटू’का रूपमा आउँदैनन्। 

असल र खराबको समिश्रण हाम्रो समाजमा असल पुरुष पनि छन् र खराब महिला पनि छन् र भइरहनेछन्। उस्तैले कुनै कुराप्रति पूर्वाग्रह वा गलत नियत राखेर पनि कसैलाई आरोप लगाइदेलान्, तर अहिलेको प्रश्न त्यो होइन। आफ्नो नियत र स्वच्छतामा विश्वास गर्ने कुनै पनि पुरुषले त्यसलाई कानुनी रूपमा सम्बन्धित निकायमा च्यालेन्ज गर्न सक्छ र कतिपयले गरिरहेका पनि छन्। अहिलेको प्रश्न भनेको महिलाका कुरा सुन्ने साहस, धैर्य, तत्परता वा सहभाव वा समवेदना हो, उनीहरूले बाँचेका कहालीलाग्दा कथाप्रति विश्वासको हो। यतिखेर, विशेषगरी असल नियतका पुरुषहरू ‘मीटू’ देखि तर्सिनुपर्ने कुनै जरुरत छैन, किनकि जसरी अहिले ‘मीटू’ लाई मानिसहरूले विश्वास गर्ने आधार र कारण भेट्टाइरहेका 
छन्, दुरुपयोग भएको खण्डमा त्यसरी नै बहिष्कार गर्ने आधार पनि भेट्टाउनेछन्। यी कुराहरूलाई समयको गर्भमा नै छोडिदिएको राम्रो। होइन भने ‘मीटू’ को विरुद्ध अहिले उठिरहेका आवाज विगतमा (र अझै पनि) त्यस्तै इतिहास भएका पुरुषहरूको ‘चोरको खुट्टा काट्’ भन्दा उचालिएको खुट्टाबाहेक केही होइन। 

र, जीवनको दोस्रो दशक नाघेकी, आफूलाई सक्षम र बोलक्कड भन्ने एउटी युवतीसित त यति अनगन्ती यौन दुव्र्यवहार र हिंसाका अनुभवहरू छन् भने सोच्नुस्, यौन दुव्र्यवहारको एउटै किस्सा नबाँची हुर्कन पाएका महिलाहरू हाम्रो समाजमा कति होलान्। आफू र आफूजस्तै साथीहरूको भोगाइको आधारमा एउटा ओपन सिक्रेट के हो भने ‘मीटू’को ‘ह्यासट्याग’ लगाएर आफ्नो कथा भन्ने आँट भलै निकै कम महिलाहरूसँग मात्र होला, ‘नटमी’ को ‘ह्यासट्याग’ लगाएर म अहिलेसम्म पनि यौन दुव्र्यवहार वा हिंसाको सिकार भएकी छैन भनेर खुलेआम भन्न सक्ने महिलाहरू त्यति 
पनि छैनन्। 

प्रिय पाठक, पत्याउनुहुन्न भने आफ्ना छोरी वा दिदीबहिनीहरूलाई एकफेर सुटुक्क सोध्नोस् वा सोध्न लगाउनोस्, ‘नानी, कसैले तिमीलाई कुनैबेला बार्दलीको खाटमा सुतिरहेको बेला कट्टुभित्र हात घुसारेको त थिएन ?’
नानीले मुन्टो हल्लाइन् भने अर्को प्रश्न पनि सोध्नुहोला वा सोध्न लगाउनुहोला, ‘त्यतिबेलै किन नभनेको त ?’
सक्नुहुन्छ ? 
आफ्नालाई सोध्न सक्नुहुन्न भने अरूहरूलाई 
पनि नसोध्नुस्, प्लिज !   

@durgakrk  लेख्न बसेपछि आफूभित्रको कानुनको विद्यार्थी र  लेखकबीचको अन्तर्द्वन्द्व मन पराउँछिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.