मैले नजन्माएको छोरो
अंग्रेजीको ‘प्रेगनेन्ट’ शब्द २०३२÷३३ सालमा
हाम्रो बाबुसमेत जन्मिनुभएको चुच्चेपाटीको घरमा गोठ थियो। तल गाईहरू बाँधिएका हुन्थे, माथि दुइटा कोठा। यहाँ कोही न कोही भाडामा बस्न आउँथे। त्यतिखेर एउटा कोठामा बौद्ध लामाहरू र अर्को कोठामा उनीहरूकै परिचित दुई केटी, सायद अमेरिकन, बस्थे ।
ती केटीहरू मैले गाई दुहेको हेरिरहन्थे। एक दिन म गाई दुहिसकेर इनारमा हात धुन लागेकी थिएँ, एउटी आएर सोधिन्, ‘त्यो अर्को गाईले किन दूध दिन्नन् ?’
उनको सोध्ने तरिका र मेरो बुझ्ने शैली गज्जबको थियो। उनलाई नेपाली नआउने, मलाई अंग्रेजी ‘कालो अक्षर भैंसी बराबर’।
अहिलेको पुस्तालाई त लाग्दो होला, अंग्रेजी पनि नजान्ने ? उही, कुन रैतीले दूधभात पनि खान पाउँदैनन् भन्ने राजाको प्रश्न जस्तै ।
म कक्षा १ देखि १० (उति बेला १० सम्म मात्रै स्कुल हुन्थ्यो) सरासर पढ्न पाउने भाग्यमानी परिनँ। सीधासीधा हिसाब गर्ने हो भने मेरो स्कुले पढाइ जम्माजम्मी तीन वर्ष, त्यो पनि अंग्रेजी प्रश्नको जवाफ कसरी दिनु !
मैले उनलाई आफ्नो पेट देखाएर, धाप मार्दै हातले बच्चा बोकेको आकृति बनाएँ। अनि उनले सोधिन्, ‘प्रेग्न्यान्ट ?’ मैले टाउको हल्लाएर ‘हो’ जनाएँ ।
त्यो गाई ‘प्रेग्न्यान्ट’ भएको क्षण थियो र मैले जीवनमा अर्थ बुझेर अंग्रेजी सिकेको पहिलो शब्द नै त्यही थियो ।
तर एक दिन म रातो पोेते र हरियो छड्के तिलहरी गलामा
झुन्ड्याएर, ती गाई दाम्लामा बाँधिएर डोर्याइँदै गन्तव्यमा ल्याइए जसरी ‘कर्मघर’ पठाइएँ ।
पठाइएको दुई महिनामै ती गाई जस्तै ‘प्रेग्न्यान्ट’ भएँ।
‘प्रेग्न्यान्ट’ भएको उमेरको हिसाब लगाउँदा १९ साल मंसिरमा जन्मिएकी, २०३५ साल मंसिरमा १६ पुग्थेँ। तर जेठमा कर्मघर पठाइएकी म, १६ वर्षे बैंस नकाट्दै ‘प्रेग्न्यान्ट’ भएँ।
अब म ‘नयाँ दुलही’बाट ‘पेट बोकेकी बुहारी’ भएँ ।
अल्लारे केटी, चुलबुले उमेर, घर रिझाउनुपर्छ भनेर मात्र सिकेकी। अहिले जस्तो टेलिभिजन, इन्टरनेट आदिबाट सूचना र जानकारी पाइन्छ भन्ने सुनेकै भए पनि रामायणको ‘पुष्पक विमान’को वर्णन जस्तै लाग्थ्यो होला। तर त्यो त त्यस्ता कुरा छन् भनेर जान्ने बेला पनि थिएन।
अब मैले आफूलाई, कर्मघरका माननीय सदस्यहरूका अगाडि, खास्टोले पेट ढाकेर वा सुती धोतीले पूरै हात, पाखुरा, टाउको, पेट ढाकेर मात्र निस्कनु पथ्र्यो। घरको भान्सामा जाँदा चोलो र भित्री लुगासमेत लगाउन पाइन्नथ्यो। मैले आजसम्म खोज्न नसकेको उत्तर के हो भने भान्सामा जाँदा शरीरको माथिल्लो अंग किन
खुला राख्नुपथ्र्यो ?
आपत् तब हुन्थ्यो, उचालिँदै गएको पेट ढाक्नु कि कपाल देखिएला भनेर टाउको ढाक्नु ! त्यसमाथि अल्लारे फुच्ची केटी !
अल्लारे केटीले ‘पेट’ त बोकी तर त्यो बढ्दै गएको पेटसँगसँगै डर पनि बोक्दै गई।
कर्मघर जानुअगाडि मुस्किलले चारपाँचवटा सिनेमा हेरिएको थियो। ‘सेक्स’को कुरा त के ‘सेक्स’ शब्द उच्चारण गर्नु पनि महापाप हुन्थ्यो। अझ परिस्ष्कृत भाषामा त्यस्ता शब्दहरूलाई नै
‘ट्याबु’ भन्थे ।
त्यस्तो वातावरणमा गर्भ र गर्भवतीबारे कहाँ कसरी कुरा गर्नु !
गर्भ रहेको थाहा भएपछि पहिलोपटक डाक्टरकहाँ जाँदा पनि लाज, संकोच, डर...।
त्यति बेलाकी चर्चित गाइनोकोलोजिस्ट डा. सरस्वती पाध्या। सायद तीन महिना जति नै भइसकेको हुँदो हो। पिसाब जँचाएको वा अन्य केही याद छैन, सीधै जाँचेर, रजस्वला भएको मिति गनेर बच्चा वैशाखमा जन्मिन्छ भनिदिइन्।
गर्भमा भ्रूण बढ्दै गएपछि बाहिर देखिने भाग मात्रै ठूलो भएन, भित्रै पनि चल्न र चटपटाउन थाल्यो। जतिसुकै पेट छोपेर मानिसको अगाडि जाँदा पनि लात्ताले हान्दा बाहिरसम्मै पेट हल्लिएको देखिन्थ्यो, त्यो पनि कसैले देख्यो कि भन्ने डर र
लाज। त्यहाँ कोही थिएन, जसले भनिदेओस्, ‘यो त प्रकृतिको अनुपम उपहार हो, सृष्टिको निरन्तरता हो, तिमीले, तैंले, लाज र डर मान्नु पर्दैन ।’
त्यो त देखिने कुराको बारेमा डर र लाज थियो ।
एक्कासि त्यो दिन आयो, कताबाट मनमा भय पसेछ, ‘यो बच्चा र बच्ची जन्माउँदा मरेँ भने !’
त्यो दिनसम्म, कसैले बच्चा जन्माउँदै गरेको देखेकी पनि थिइनँ। सिनेमामा पनि त्यो ताका बच्चा जन्मिने भनेको बन्द कोठा थुनेर, भित्रबाट ‘च्याँहाँ...’ गरेको आवाज मात्र सुन्न पाइन्थ्यो ।
एकपटक पाँच र ६ वर्षको उमेरमा कसैलाई सुत्केरी गराउन तयारी गरिएको अवस्थाको धूमिल सम्झना थियो। बच्चा पाउने व्यक्तिलाई आँखीझ्याल मात्रै भएको कोठाको कुनामा परालमाथि केही ओछ्याएर सुताइएको। अरू दुईजना सहयोगीको भूमिका निर्वाह गर्न ठूलो बोर्सीमा आगो बालेर, त्यसमाथि ओदान राखेर पित्तले डेक्चीमा पानी तताउँदै गरेको। त्यसपछि ढोका थुनियो। एकाध घण्टामा बच्चा ‘च्याँहाँ... च्याँहाँ...’ गरेको आवाज आयो। केही समयपछि त्यो कोठाको ढोका खुल्यो। सुत्केरी, त्यही कुनामा ढली नै रहेकी थिइन्। सहयोगीमध्ये एक महिला बच्चालाई त्यही बोर्सीको आगोमा तताएको पानीमा धोती च्यातेर बनाएको
थाङ्ना भिजाउँदै पुछपाछ गरिदिँदै थिइन्। अर्की महिला, हँसियाले काटेको नाल लिएर घरको ढोकाकै छेउको बारीमा गाड्न हिँडिन्। बूढापाकाको भनाइअनुसार ‘नाल’ गाडिएको ठाउँमा केही मीठोमसिनो पाक्दा त्यो नाल गाडिएको व्यक्ति खान आइपुग्थ्यो रे !
हुन त अस्पतालमा जन्मिएकाहरू पनि त्यसैगरी त्यहाँ त पुग्दैनन् होला ! कुरो नि !
फेरि बच्चा जन्मिनेबारेकै कुरा, बच्चा कसरी जन्मिन्छ भन्ने देखेको त्यत्ति हो ।
जब बच्चा ठूलो हुँदै गयो, आफ्नो मनको ‘भय’ पनि त्यति नै मौलाउँदै गयो। दिनभरि त घरको काम नै भ्याइनभ्याइ हुन्थ्यो, यताउति सोच्ने फुर्सद नै हुन्नथ्यो। केवल, आफ्नो काम तलमाथि पर्यो भने कोही रिसाउला कि ! कसैलाई केही चित्त नबुझ्ला कि ! भन्नेमै बित्थ्यो। घरमा काम गर्ने सहयोगीहरू जतिसुकै भए पनि घरका बुहारीहरूले घरको नियमित काम गर्नै पथ्र्यो। जहान पनि सानो थिएन; सातजना दाजुभाइ, जेठानी दिदीहरू, प्रायः नटुट्ने बाहिर जिल्लाबाट आउने नातेदारहरू।
पहिलो पटक गर्भवती हुँदा एक दिन पनि सन्चो नभएर काम नगरी बसेको वा सुतेको याद छैन। सानी ज्यानकी, छरिती, जे गर्न पनि तयार; बिहान ४ बजेदेखि सुरु भएको दैनिकी बेलुकीको ९÷१० बजेसम्म अलिकति थाकेकोसम्म महसुस नगरी
चलेकै थियो ।
खान भने अलि सकस हुन्थ्यो। घरमा सधैं रहरको दाल पाक्ने, काठमाडौंकी मान्छेलाई कालो दालबाहेक नरुच्ने ! जहान घरमा तरकारीको भाग पाउन पनि साइत जुर्नुपर्ने ।
उपाय एउटै थियो, तरकारी पकाएर निथ्रिसकेको तेलको
बट्टा तर्काएर चुहाएको थोपो थोपो तेलमा अलिकति नुन छर्थें।
एउटा हातले पानीको गिलास उचाल्थेँ, अर्को हातले निस्तो। अलिअलि काँचो तेल चुहाएको भात गाँस हाल्थेँ। पानीले
घुटुक्क पार्थें ।
नजानिँदै पनि कहिलेकाहीँ आँखाको डिलमा उम्लिएको
आँसु रोकिँदैनथ्यो। सम्झिन्थेँ, जन्मघरमा पछिसम्म पनि
बुवाले एउटा ठूलो ताम्चिने बाटामा भात, दाल, तरकारी मुछेर, पाँचवटी छोरीलाई वरिपरि राखेर, पालैपालो भात खुवाउनुहुन्थ्यो। कुनै दिन नखुवाई बाहिर जान पर्यो भने बेलुकी आएर ‘हेर, आज यिनीहरूले राम्ररी खाएनन् जस्तो छ, मुख नै खिस्रिक्क परेको
छ !’ भन्नुहुन्थ्यो ।
पेटमा बच्चा ठूलो हुँदै गएको थियो। कहाँको पौष्टिक आहार, कताको के ! पेटभरि बुगुल्टिएको भात खानु नै सबै थोक थियो ।कोही गर्भवतीले भुइँको माटो कोट्याएर खान्छन् पनि भन्थे। अहिले बुझ्दै जाँदा पो थाहा पाइयो, आइरनको कमीले गर्दा त्यस्तो तलतल लाग्ने रहेछ ।
एक दिन मुङको तितौराको तरकारी खान मन लागेर अति भयो। त्यति बेला त मुङको तितौरा बनाउन पनि झन्झटिलो थियो। मुङ भिजाऊ, सिलौटोमा पिँध, बिहान घाम झुल्किनुअगाडि बनाएर सुकाऊ। त्यो पनि प्रायः तिहारको समयतिर बनाइन्थ्यो, जुन बेला पानी पर्ने सम्भावना कम हुन्थ्यो, एक घाममै अख्रियोस् भनेर। त्यति गरेर बनाएको तितौरा विशेष गरी बिरामी र सुत्केरीका लागि राखिन्थ्यो। अहिलेको जसरी बजारमा गएर मस्यौरा, तितौरा किन्न पाउने चलन नै थिएन। त्यसरी बनाएको तितौरा घरकी बुहारीलाई खान मन लाग्यो भनेर कहाँ पाउनु !
तितौरा खानकै लागि म मामाघर गैह्रीधारा बिहान भात खाँदै गएँ र हजुरआमालाई भनेँ। उहाँले पकाएर खान दिनुभएको त्यो दिनको तितौरा र भात मेरा लागि आजसम्मकै सबैभन्दा मीठो र नबिर्सने गरी मनमा रहेको छ ।
यसरी पेटभित्र हुर्किरहेको बच्चासँग म डरको पौंठेजोरी
खेल्दै थिएँ।
एक मनले भन्थेँ, मेरो ममीले जन्माउनुभएका हामी पाँचजना सग्लै छौं। अनि मेरी सासूले जन्माउनुभएका १० सन्तानको परिवार पनि मेरैअगाडि छ भने ममात्रै यो बच्चा जन्माउँदा कसरी मरूँला र !
तर मनको भित्री कुनामा जरो गाडेर बसेको त्यो मानसिक भयलाई मैले हटाउनै सकिनँ। त्यो डर सम्झँदा सम्झँदै, मैले ब्याउन नसकेर मरेकी गाईसमेत सम्झिएँ ।
त्यति बेला बच्चा पाउँदा मरिन्छ कि भन्ने भयले ग्रसित फुच्ची म, अहिले ‘बालविवाह र बालिका आमा’लाई केवल तथ्यांकले मात्रै सम्बोधन गरेको देख्दा, ती दिनहरू झलझली सम्झिन्छु। त्यो प्रजनन अंगसमेत विकसित नभइसकेको, मानसिक रूपले अपरिपक्व र त्रसित, भर्खर १६ काटेर केही महिना टेक्दै आमा बन्ने दायित्व पूरा गर्दै थिएँ ।
बच्चा जन्माउने महिना आइपुग्न लागिसकेको थियो, परिवारकै एक सदस्यको बच्चा जन्मियो। सासू र ससुरासँग शान्त भवन अस्पताल, सानेपामा आमा र बच्चा हेर्न गइयो। त्यहाँ नवजात शिशु देखेर आङ नै सिरिंग गर्यो। लाग्यो, ओहो ! मेरो पेटमा यसैगरी हातखुट्टा चलाउने जिउँदो मान्छे बसिरहेको छ ! त्यो डरले फेरि मानसिक अशान्ति थप्यो ।
घर फर्किएपछि सासू र ससुराको वार्तालाप सुनेँ।
सासू, ‘अब यिनले के पाउने हुन् ?’
ससुरा, ‘देखिहालिन् क्यारे !’
छोरी जन्मिएको हेरेर आएको, कुराको अनुसारले छोरा होस् भन्ने थियो कि ! त्यसको १८ दिनमा मेरी छोरी जन्मिइन्। उनलाई मैले आफ्नो तर्फबाट ‘छोरा’ बनाउन त सक्तिनथेँ !
फेरि मेरो दाजुभाइ नभएको। जो पनि मलाई हेर्न आउँथे, तीमध्ये प्रायः सुनाइहाल्थे, ‘आमा गोता जाने भइन् !’
समाज साँच्चै क्रूर थियो, आफ्नो खुसीमा रमाउन पनि दिँदैनथ्यो ।
त्यसरी मानसिक, शारीरिक रूपले अपरिपक्व र पौष्टिक आहारलगायतका कुराबाट वञ्चित भ्रूणको कति विकास भएको थियो होला ! तर जतिसुकै विकास भए पनि वा नभए पनि बच्चा त जन्मिन्थ्यो नै।
धन्न ! सायद सात महिनाको भएपछि नियमित रूपमा शान्त भवन अस्पतालमा गइन्थ्यो। त्यहाँ साह्रै मायालु ‘एल्ड्रिज’ नामकी विदेशी डाक्टर थिइन्, उनले राम्रो जाँच गर्थिन् ।
त्यो दिन पनि आयो, अस्पताल गइयो। बच्चा जन्मिई। मलाई मातृत्वको पहिचान गराउने पहिलो सन्तान्, मेरी छोरी थिइन्।
छोरी, प्राकृतिक व्यथा लागेर नै जन्मिइन्।
धन्न मैले बच्चा जन्माउँदा मर्नु परेन, बल्ल त्रस्त मनबाट मुक्ति मिल्यो। अस्पतालमा बच्चा जन्माउने नर्सहरू आफ्ना साथीहरूलाई बोलाउँदै थिए, ‘बच्चाले बच्चा जन्माएको हेर्न आओ !!’
बच्चीले बच्चा त जन्माई तर उसलाई मातृत्वबोध नै भएको थिएन। पटकपटक बच्चालाई स्तनपान गराउन पनि सकस नै थियो। भर्खर जन्मिएकी बच्ची पनि आफ्नो बल लगाएर दूध चुस्न सक्तैन थिई। स्तनपान राम्ररी गराउन नसकेपछि स्तन गानिएर अर्को कष्ट भयो।
मलाई राखिएको बेडको पारिपट्टिको बेडमा रहेकी मेरै उमेरकी युवतीले मैलेभन्दा पाँच दिनअगाडि छोरा जन्माएकी थिइन्। उनी केही सन्चो नभएको कारणले आफ्नो शिशुलाई दूध चुसाउन सकिरहेकी थिइनन्। नर्सहरूले उपाय सुझाए, त्यो बच्चालाई दूध चुसाउने। त्यसो गरेमा मेरो गानिएको स्तन चिर्नुपर्ने डरबाट मुक्त होइने र आमाको दूध चुस्न नपाएको बच्चालाई पनि बट्टाको दूध चुसाउनु नपर्ने।
त्यसपछि ती छोरालाई मैले अस्पताल बसुन्जेल दूध चुसाएँ। अनि मेरी छोरी पनि अलि चुस्न सक्ने भइन् ।
घर आइयो। मलाई ‘मातृत्व’ कुन चराको नाम हो पत्तो थिएन। छोरीलाई समयसमयमा खुवाउनुपर्छ र स्याहारसुसार राम्ररी गर्नुपर्छ भन्ने ज्ञानचाहिँ थियो। एवं रीतले दिन बित्दै गयो। छोरी ठूली हुँदै गइन्। अहिलेको जस्तो बाबुले छोरी बोक्ने चलन नै थिएन, स्याहार्ने त परै जाओस् ।
म पनि कस्तो मनस्थितिमा थिएँ भने कुनै दिन दिनभरि छोरी छाडेर हिँड्न पाए फुक्काफाल हुन्थेँ। कहिलेकाहीँ त लाग्थ्यो— मेरो जीवन, तेलमा डुबेर, गुहुमुत स्याहारेर नै जाने भयो। अहिले आएर त्यो बेलाको आफ्नै मानसिकता र व्यवहार विश्लेषण गर्दा कतै मलाई ‘नयाँनयाँ आमालाई हुने चिन्ता, खुसी र डरबाट मिश्रित भाव’ त थिएन ? भन्ने पनि लाग्छ ।
जे होस्, छोरी बढ्दै गइन्। मलाई बिस्तारै छोरीप्रतिको माया र स्नेह बढ्दै गयो। हरेक दिन सोच्थेँ, मैले बालककालमा नपाएको हरेक सुखसुविधा उनलाई प्रदान गर्नेछु। उनलाई स्वतन्त्र र निर्भीक व्यक्तिका रूपमा खुट्टा टेकाउनेछु।
केही मैले सहयोग गरेँ होला ! केही उनकै आत्मविश्वास र मेहनतले बनायो होला ! आजको दिनमा छोरीलाई देख्दा गर्व लाग्छ। अब त उनका पनि दुई सन्तान भइसकेका छन्। उनले ‘मातृत्व’को उल्लासमय उपभोग गरेको देख्दा मन आनन्दले प्रफुल्लित हुन्छ ।
छोरी जन्मिएको चार वर्षपछि फेरि अर्की छोरी जन्मिइन्। उनी जन्मिँदै शरीरमा केही रोग लिएर आएकी रहिछन् क्यारे ! त्यति थाहा पनि भएन। चार महिना पुगिसकेकी उनलाई एक दिनको बिरामीले अस्पतालको बेडमै, कहिल्यै नफर्कने गरी छाडेर आउनु पर्यो ।
त्यो बेला भोगेको विक्षिप्त मनस्थितिले झन्डै मानसिक सन्तुलन गुम्ला जस्तो भइसकेको थियो। तर बिस्तारै त्यो घाउमा खाटा त बस्यो तर अझै पुरिएको छैन। बेलाबखत आँखामा आँसु र मनमा भारीपन लिएर बल्झने कोसिस गर्छ ।
छोरी गुमाएको चार वर्षपछि छोरा जन्मियो। उसको बेलासम्म उमेर धेरै पाको भइसकेको थियो। सन्तानको चाहना र मोह पनि बढेको थियो। तर, त्यति बेला पनि ‘मातृत्व’को सुख भोग्न सजिलो पक्कै भएन। साढे सात महिनामा जन्डिसले थलिँदा ‘बच्चाको आशा नगर !’ आमा बाँचे नै ठूलो कुरो भन्ने जस्तो चर्चा हुन्थ्यो। जाडो आउन लागेको थियो। केही गरी मरिइहाल्यो भने छोरीलाई जाडोमा चाहिने लुगाहरू नहोला भनेर तयार गर्न लगाएकी थिएँ। छोरीको पीर लाग्थ्यो। त्यो बेलाको पीडा र कथा यहाँ लेखेर सकिँदैन। छोटकरीमा भन्नुपर्दा बच्चा केही दिन छिटो जन्मिए पनि राम्रै जन्मियो ।
ऊ पनि अहिले बच्चाको बाबु बनिसक्यो।
पहिलो बच्चा जन्मिसकेपछि त बच्चा जन्माउँदा मरूँला भन्ने डर पनि त भएन !
अस्पतालको जनरल वार्डको एक कुनामा मेरो बेड थियो। बीचमा ढोका थियो। ठ्याक्कै सामुन्ने एउटी राम्री र हँसमुख युवतीको बेड थियो। उनको छोरा जन्मिएको थियो। उनले आफ्नो नवजात छोरालाई दूध चुसाउन सकिरहेकी थिइनन्, मेरो भने छोरीले चुसेर पनि दूध गानिइरहेको थियो, जुन महिलाहरूलाई प्रसूतिपश्चात् हुने अर्को ठूलो दुःखाइ हो ।
त्यो देखेर नर्सहरूले ती युवतीको बच्चालाई दूध चुसाउन अनुरोध गरे। मैले सहर्ष स्वीकार गर्दै पटकपटक त्यो नवजात शिशुलाई दूध चुसाएँ ।
बच्चालाई दूध चुसाउन ल्याउँदा नर्सहरूले ती युवती काठमाडौंको प्रख्यात वकिलकी छोरी भएको बताएका थिए। उनका बारेमा अरू कुराहरू पनि भनेका थिए, त्यो मेरो
सम्झनामा रहिरह्यो ।
समयको अन्तरालसँगै मैले त्यसरी बच्चालाई दूध चुसाएको कुरा भुसुक्कै बिर्सिसकेकी थिएँ। एकाध वर्षदेखि मेरो मनले फेरि त्यो शिशुलाई सम्झन थालेको थियो। म सोच्ने गर्थें— ऊ कहाँ
होला ? के गर्दै होला ?
तीन वर्षअगाडि ‘साथी’ संस्थाको निमन्त्रणामा जाँदा मलाई एउटी महिलाको कथाले खुबै छोयो। उनको कुरा सुन्दा मेरा आँखाहरू वर्षिए। मुखबाट हाँसोको फोहोरा छुट्यो। खुबै भावनात्मक पनि भएँ। उनी कुशल र प्रखर वक्ता थिइन् ।
कार्यक्रम सकिएपछि उनी नजिक गएर आफ्नो परिचय दिँदै बधाई दिएँ। त्यसपछिका दिनमा हामी राम्रै साथी भयौं ।
२०७३ सालको चैतमा बार र बेन्चबीच असमझदारी भएको थियो। त्यस बेलाका असन्तुष्टिहरूबारे उनले आफ्नो बाबुको प्रसंग जोडेर फेसबुकमा एउटा स्टाटस लेखिन्। त्यो स्टाटस पढेपछि मैले उनलाई ‘फलानाकी छोरी हो ?’ भनेर मेसेन्जरमा सोधेँ। उनी नेपालका प्रख्यात वकिल कृष्णप्रसाद पन्तका तीन सन्तानमध्ये एकमात्र छोरी हुन् ।
उनले ‘हो !’ भनेपछि मैले उनलाई आफूले दूध चुसाएको बच्चाबारे सुनाएँ। हाम्रो त्यति बेलाको गाइनोकोलोजिस्टको
नाम, अस्पतालको बेड सबै बताएँ। यो प्रसंग करिब ३७ वर्ष
पुरानो थियो ।
त्यसपछि थाहा पायौं, मैले दूध चुसाएको बच्चा उनकै
छोरा रहेछन्।
मैले उनलाई बताएको कुरा उनले आफ्नो छोरालाई भनिछन्।
एक दिन छोराले मलाई मेसेन्जरमा भने, ‘मलाई मामुले सबै कुरा भन्नुभयो ।’ त्यो दिन मैले ती छोरालाई पनि आफ्ना छोराछोरीलाई जत्तिकै आशीर्वाद दिएँ। उनको प्रगति र उन्नतिको कामना गरेँ।
यसरी मैले आफूले नजन्माएको तर छोरा मानेको अर्को व्यक्तिलाई हृदयमा प्रवेश गराएँ ।
केही दिनअगाडि त्यो प्यारो ‘बच्चा’ पनि भेटेँ। बच्चा त छोरीको बाबु बनिसकेछन्। हामीले एकअर्कालाई कसिलो अँगालोमा बाँध्यौं। त्यो पक्कै पनि भावनात्मक क्षण थियो ।
‘बच्चा’को आमा अञ्जु र म मन मिल्ने साथी भएका छौं ।
‘मातृत्व’को अविस्मरणीय क्षणले मलाई अर्को परिवारसँग जोडिदिएको छ। पृथ्वी गोलो छ भनेको यसैले होला।