यहाँ जे जे हुन्छ, सब फेक हुन्छ

यहाँ जे जे हुन्छ, सब फेक हुन्छ

गायक, भीजे तथा भ्लगरका रूपमा परिचित समृद्धि राई सन् २०१० को मिस नेपालकी टप फाइभ फाइनलिस्ट पनि हुन्। गत हप्ता मिस नेपालको नयाँ संस्करणको अडिसनको एउटा भिडियो भाइरल भएपछि समृद्धिले फेसबुक स्ट्याटस लेख्दै मिस नेपालजस्ता प्रतियोगिता महिला सशक्तीकरणका नाममा जोक भएको टिप्पणी गरिन्। 

कति चेली मिस नेपाल बन्ने सपना देखेर बसिराछन्, तर तपाईंले यसलाई  जोक भन्दिनुभयो ?   

यो मेरो व्यक्तिगत धारणा हो। तर, सुन्दरी प्रतियोगितालाई जसरी महिला सशक्तीकरणको गंगाजल छर्केर चोख्याउने गरिएको छ; त्यस हिसाबले जोक भनेकी हुँ। तर, यो कुरा मैले मिस नेपाललाई मात्र भनेकी होइन। युवतीलाई प्लेटफर्म दिने नाममा जति पनि सुन्दरी प्रतियोगिता भइरहेका छन्, ती सबलाई भनेकी हुँ। हेर्नुस्, सुन्दरी प्रतियोगिता मार्केटिङ ट्रिक हो। यसबाट प्रतियोगीले कम, आयोजकले ज्यादा फाइदा लिइरहेका छन्। 

कसरी ?   

नेपालमा सुन्दरी प्रतियोगिताको इतिहास हेर्नुस्। कसले सुरु गर्‍यो यो प्रतियोगिता ? मनी मेकिङ ग्रुपले। अनि पैसा कसरी आउँछ, जब तपाईं सुन्दरभन्दा सुन्दर केटीलाई प्रतियोगिताको नाममा वस्तुसरह प्रयोग गर्नुहुन्छ। महिलालाई अब्जेक्टिफाई गर्नुहुन्छ। मिस नेपालको अडिसनबाट बाहिरिएको भिडियो हेर्नुस्। त्यहाँ स्पष्ट रूपमा तिमी एकदमै राम्री हुनुपर्छ भन्न खोजिएको छ। अपेरियन्सका आधारमा कसैलाई जज गर्नु इथिकल्ली गलत हो। तर, सुन्दरी प्रतियोगिताले यही गरिरहेका छन् ।

तर, त्यस्ता प्रतियोगितामा जानेले त्यति कुरा त थाहा पाएरै जान्छन् नि होइन र ?    

खै, थाहा हुँदो रैछ त।   त्यो भिडियोमा भएकी बहिनी हेर्नुस् त, उनको ब्याकग्राउन्ड इन्जिनियरिङ रैछ। उनलाई मिस  नेपालबारे केही कुरा पनि थाहा छैन। कति इनोसेन्ट्ली बोलिरहेकी छन्। उनलाई सुन्दरी प्रतियोगितामा आवरणका आधारमा मात्र जज गरिन्छ भन्ने थाहा छैन। अनि 
सामाजिक सञ्जालमा जसरी हाम्रो प्रतिक्रिया आइरहेको छ, त्यसले पनि हाम्रो सोच बुझाउँछ। किनकि हामीलाई लागिराछ, यस्ता प्रतियोगितामा तपाईंको बाहिरी÷भित्री दुवै गुण हेरेर विजेता छानिन्छ। मैले बुझाउन खोजेको कुरा के हो भने यस्ता प्रतियोगितामा 
तपाईंको भित्री गुण हेरेर मूल्यांकन हुन्न। हामी यत्तिकै मिस नेपालको जजमाथि रिस पोखिरहेका छौं। उहाँले पेजेन्टको धर्मअनुसार बोलिरहनुभएको छ। 

त्यसो हो भने त फलानो प्रतियोगिता सीधै ‘रूपरङ मिलेका’ युवतीका लागि मात्र हो भने भयो नि ?    

अहिलेको कन्फ्युजन यही हिप्पोक्रेसीका कारणले हो। आयोजक पनि सत्य कुरा नभन्ने, प्रतियोगी पनि यस्ता प्रतियोगिताको उद्देश्य नबुझी भिड्न जाने। आयोजकले तपाईंलाई प्रयोग गर्छ। आफू प्रयोग हुने हो भनेर जानुस्, यो गज्जबको प्लेटफर्म हो। हैन, म 

यहाँ गएर इम्पावर्ड हुन्छु भन्ने सोच्नुहुन्छ भने नजानुस्। त्यहाँ तपाईंले सही आदर्श  भेट्नु हुन्न। तपाईं साँच्चिकै इम्पावर्ड हुने हो भने अनुराधा कोइराला, पुष्पा बस्नेत, मीरा राईलाई आदर्श बनाउनुस्। 

तपाईं पनि कुनै समय त्यहाँ जानुभएको थियो नि ?   

गएकी थिएँ किनकि मलाई पनि अहिलेका धेरै बहिनीहरूलाई जस्तो यस्ता प्रतियोगिताले व्यक्तित्व निर्माणमा ठूलो योगदान दिन्छन् भन्ने भ्रम थियो। यसबाट म पनि फाइदा लिन्छु भन्ने ज्ञान थिएन तर त्यहाँ गएपछि मलाई यस्ता प्रतियोगिता कति खोक्रा हुन्छन् भन्ने थाहा भयो। 

के हुँदो रहेछ त्यहाँ ?   

जे हुन्छ, सब फेक हुन्छ। जुरी विजेता सब आयोजकको गोजीबाट निस्कन्छन्। मैले सन् २०१० मा मिस नेपालमा भाग लिएँ। 
प्रशिक्षण अवधिभर सबले ‘यो पालिको मिस नेपाल तैं हो’ भन्थे। म टप फाइभमा पुगेर रोकिएँ। नरमाइलो लागेन। तर, नरमाइलो त्यति बेला लाग्यो जब आयोजककै मुख्य मान्छेले मिस नेपाल सकिएपछिको पार्टीमा आएर ‘तिमी विनर थियौ तर तिम्रो नाम मैले काटिदिएको हुँ’ भनेर सगर्व बताए। कारण के भन्दा म ‘विद्रोही खालकी’ थिएँ रे। त्यसयता फेयर जजमेन्ट भएजस्तो लाग्दैन। 
सन् २०१६ को मिस नेपालको फिनालेमा पनि यस्तै केही भएको थियो। त्यो वर्ष सृजना रेग्मीले फिनालेमा सोधेको प्रश्नको सही उत्तर दिएकी थिइन् तर उनले टाइटल जितिनन्। टप फाइभमा आइन्। उनको कुनै पर्सनल कुरा थाहा पाएर आयोजकले उनलाई बाइपास गरेको थियो। 

भनेपछि मिस नेपाल फेयर हुँदैन ?   

मैले तपाईंलाई आफ्नै उदाहरण दिएँ त। जो जो मिस नेपाल बनेका छन्, उनीहरू सबैप्रति मेरो रेस्पेक्ट छ। प्रतियोगितामा जान चाहनेलाई पनि मेरो उत्तिकै सम्मान छ। तर, प्रक्रियामा समस्या छन्। 

त्यति बेला नै यो कुरा किन उठाउनु भएन ?   

किनकि त्यति बेला मैले यो कुरा गर्दा ‘आफूले जितिन, त्यही कारण यस्ता कुरा गरी’ भनेर मान्छेहरूले पत्याउँदैनथे। आज किन भन्न जरुरी लाग्यो भने यस्ता प्रतियोगितालाई लिएर अझै पनि समाजले अनावश्यक टाउको दुखाइरहेछ।   

प्रस्तुति : सामीप्यराज तिमल्सेना


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.