अत्याधुनिक विभेद
‘तिमी त मिस नेपालमा जानुपर्ने। राम्री छौ। स्मार्ट पनि छ्यौ। जरुर जित्छौ। मिस वल्र्ड पनि जित्छौ, भाग्य चम्किन्छ तिम्रो त !’
‘तिमी त मिस नेपालमा जानुपर्ने । राम्री छ्यौ । स्मार्ट पनि छ्यौ । जरुर जित्छ्यौ । मिस वल्र्ड पनि जित्छ्यौ, भाग्य चम्किन्छ तिम्रो त’
केही आफन्तजन र साथीभाइ मलाई सुझाउँछन् । २० कट्नुअघि नै मेरा लागि उनीहरूको ‘माया’ अनौठो छ । सुरुआती दिनहरूमा त यस्तो सुन्दा खुसी नै लाग्थ्यो । तर, बढ्दो उमेर र चेतनासँगै शिक्षित हुँदै गएपछि यी सुझाव मेरा लागि अवमूल्यन जस्तो लाग्न थाल्यो ।
मेरो विचारधारासँग नमिल्ने प्रतियोगितामा मानिसहरू किन मलाई जबरजस्ती पठाउन चाहन्छन्, यस्तो नि
लाग्न थाल्यो । मेरा लागि मिस नेपाल एउटा प्रतियोगिता मात्र हो । तर म जस्ता अरू कैयन् युवतीका लागि मिस नेपाल उनीहरूको जीवनको सपना–चाहना हो । जीवनमा सपना र चाहना हुनु गलत होइन, तर मिस नेपाल नै बन्ने अथवा ‘ब्युटी क्विन’ नै बन्ने सपना कत्तिको ‘सही’ हो ?
गत हप्ता सार्वजनिक भएको मिस नेपालको काठमाडौं अडिसनको एउटा क्लिपले सामाजिक सञ्जालमा अझै पनि हंगामा मच्चाइरहेको छ । सो क्लिपमा अडिसनकी एक निर्णायक, मिस नेपालकी आधिकारिक कोरियोग्राफर रचना गुरुङ शर्मा एक प्रतिस्पर्धीसँग रूखो बोलीमा बोल्दै गरेको देखिन्छ । ललितपुर निवासी अस्मिता महर्जनलाई उनले मेक–अप र कन्ट्याक्ट लेन्स नलगाई आएर आफूहरूको र मिस नेपाल प्रतियोगिताकै अपमान गरेको भनी हप्काएको देखिन्छ । यसै कारण गुरुङ सामाजिक सञ्जालमा यो साता चर्चाको विषय बनिन् । अस्मिताले भने आफूलाई आरामदायी महसुस हुने कुरा लगाएको र काठमाडौंको प्रदूषणले गर्दा आफ्नो आँखा जोगाउन चस्मा लगाएको भनेकी थिइन् ।
बन्द कोठाभित्र भएको अडिसनको यस संवादका बारेमा सामाजिक सञ्जालमा मानिसहरूले आआफ्ना विचार सेयर गरे, रचना गुरुङ शर्मालाई गाली गरे, उनलाई व्यंग्यको विषय बनाए । कसैले गुरुङले अस्मितासँग माफी माग्नुपर्छ र मिस नेपालको आधिकारिक कोरियोग्राफरको पदबाट राजीनामा दिनुपर्छ भने त कसैले मेकअप र शृंगार भनेको आफ्नो इच्छाको विषय हो, मिस नेपालले लगा भनेर जबरजस्ती गर्न पाउँदैन पनि भने । विडम्बना त के थियो भने, गुरुङमाथि आरोप लगाउनेहरू र मिस नेपाललाई दोषी मान्ने तिनै मानिसहरू थिए जसले गत वर्ष डिसेम्बरमा चीनको सान्यामा भएको मिस वल्र्डमा शृंखला खतिवडालाई जिताउनु प¥यो भनी आफ्नो सामाजिक सञ्जालमा भोट माग्दै हिँडेका थिए ।
सबै तर्फबाट गुरुङलाई दोष लगाइयो तर यो सम्पूर्ण सौन्दर्य प्रतियोगिताको प्रणालीमाथि नै औंला उठाउने मान्छे कमै भेटिए । मिस नेपालसम्बन्धी यो घटनाले मलाई चकित तुल्याएन ।
नेपालमा सौन्दर्य प्रतियोगिताले गति लिएको एक दशकभन्दा बढी भइसकेको छ । विभिन्न क्षेत्र–वर्ग, जात–थरका नाममा मिस थपेर ‘वुमन इम्पावरमेन्ट’ र ‘ब्युटी विथ ब्रेन’को ट्याग लगाई प्रतियोगिताहरू आयोजना हुनु कुनै नौलो कुरा होइन । प्रतियोगिता मिस नेपाल जस्ता स्तरका होस् वा मिस पूर्वाञ्चल, मिस एसईई स्तरका होस्, प्रतियोगितामा भाग लिने युवतीहरूको कमी हुँदैन ।
मिस ‘...’ बन्नु अधिकांश युवतीको बाल्यकालदेखिको सपना बनाइएको छ । आफ्नो बाल्यकालीन अवस्थादेखि नै मिस नेपाल उपाधिलाई ज्यादै प्रशंसा गर्ने र आफ्नो जीवनको उद्देश्य नै मिस नेपाल बनाएका युवतीहरू देख्दा मेरो मन खिन्न हुन्छ । नेपाली समाजले सौन्दर्य प्रतियोगितालाई समर्थन गर्दै बढावा दिएकैले हामी युवतीहरूलाई ‘ब्युटी विथ ब्रेन’ हुनका लागि मिस नेपाल गइरहनु पर्दैन भन्नुको साटो सानै उमेरबाट उनीहरूलाई ‘सौन्दर्य’को पाठ पढाउँछौं र यस्ता प्रतियोगितामा सहभागी हुन प्रोत्साहन गर्छौं ।
सौन्दर्य प्रतियोगिताहरूको मूल सिद्धान्त नै कमजोर र गलत हुन्छ । यी प्रतियोगिताहरू मनोरञ्जनका लागि आयोजना गरिएको प्रतियोगिता मात्र हो भन्नुको साटो ‘ब्युटी विथ ब्रेन’ अर्थात् बौद्धिकतासहितको सुन्दरता भनी सामाजिक सेवा गर्ने प्रतिबद्धताको ढोङ बाँडिन्छ । मिस नेपालको अडिसनमा ढोकाभित्र छिर्नुअघि नै युवतीहरूको मूल्यांकन गरिन्छ र विभेद त्यहीँबाट सुरु हुन्छ । उचाइ ५ फिट ४ इन्च र उमेर १९ देखि २५ वर्षको बीचमा भएकाहरूले मात्र अडिसन दिन पाउँछन् ।
काठमाडौं निवासी २४ वर्षीया सृजा कोइराला पनि यही विभेदको सिकार भइन् । उनका अनुसार उनले भरेको फर्म हेरिसकेपछि ‘द हिडन ट्रेजर’बाट अडिसनका लागि उनलाई बोलाइयो तर अडिसनमा जाँदा तपाईंको उमेरको हद कटिसक्यो भनेर अडिसन दिन मिल्दैन भनियो । सौन्दर्यजस्तो आत्मपरक कुरालाई प्रतियोगात्मक ढाँचामा लगेपछि सौन्दर्यको गलत परिभाषा प्रसारित हुन्छ ।
एकमहिने तालिम दिइसकेपछि अन्त्यमा प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट छान्नलाई उनीहरूलाई कहिल्यै नदेखेका र नचिनेका विभिन्न क्षेत्रबाट बोलाइएका मानिसहरू हुन्छन् । अन्तिम चरणमा सोधिने प्रश्नहरूको त कुरै नगरौं !
सन् २००९ को मिस नेपालमा प्रतिस्पर्धीलाई ‘के तपाईं आफ्नो जीवनको त्यस्तो कुनै सम्झनैपर्ने अनुभव हामीलाई भन्न सक्नुहुन्छ, जुन कुरा अहिलेसम्म कसैलाई पनि भन्नुभएको थिएन ?’ प्रतिस्पर्धीहरूले धेरै सोच्न नपाईकन त्यही बेलामा प्रश्नको उत्तर दिने क्षमताका करिब १० जना मान्छेले मूल्यांकन गरेका आधारमा बनाइएका ‘ब्युटी क्विन’हरू नै नवयौवनाहरूको ‘रोल मोडल’ बन्न पुग्छन् ।
मिस नेपालका विजेताहरू प्रायः आफू मानवतामा विश्वास राख्ने र सामाजिक सेवा आफ्नो मुख्य उद्देश्य रहेको बताउँछन् तर इतिहास हेर्दा प्रायः मिस नेपालका विजेता ग्ल्यामर क्षेत्रमा लागेका देखिन्छन् । धेरैजसो प्रतिस्पर्धी वा विजेताहरूले मिस नेपाललाई ग्ल्यामर क्षेत्रमा इन्ट्रीको टिकटका रूपमा लिएको पाइन्छ । मिस नेपाल पनि बढ्दो बजारीकरणका रूपमा देखा परेको छ ।
एक महिनाको तालिममा उनीहरूलाई असह्य भए पनि पाँच इन्चको हिल लगाएर हाँसेर ‘आत्मविश्वास’का साथ हिँड्न बाध्य बनाइन्छ । प्रतियोगितामा सहभागी हुनुको मुख्य कारण जित्नु भए पनि यसलाई प्रतियोगिता नभई इम्पावरमेन्टको तालिमका रूपमा हेर्न सिकाइन्छ । सौन्दर्य भन्ने कुरा आत्मपरक हो भन्ने सिकाइए पनि आखिरमा बाहिरी सौन्दर्यलाई प्रश्रय दिई मेकअप क्लास लिन बाध्य पारिन्छ ।
मिडिया अध्ययनमा ‘म्याजिक बुलेट थिअरी’ भन्ने सिद्धान्त छ । यस सिद्धान्तमा मिडियाले दिने सन्देशलाई बन्दुकको गोलीसँग तुलना गरिन्छ । मिडिया नामक बन्दुकबाट फायर भएको सन्देश (गोली) सीधै अक्रियाशील दर्शकहरूको मस्तिष्कमा लाग्छ । यस सिद्धान्तअनुसार दर्शकहरू अप्रतिरोधी वा निष्क्रिय हुन्छन् र मिडियाले उनीहरूलाई जे ख्वाइरहेको छ, त्यही मात्र खान्छन् र अरू केही माग्दैनन् । मिस नेपालका दर्शकहरू पनि यही सिद्धान्तका दर्शकहरूझैं देखिन्छन् भन्दा फरक नपर्ला ।