चलायमान खेलकुद
काठमाडौं : नेपाली खेलकुदका लागि लागि २०७५ समग्रमा औसत रह्यो । घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागितासँगै पदकीय हिसाबले पनि वर्षैभरि नेपाली खेलकुद चलायमान रह्यो । खेलकुदको महाकुम्भ एसियन गेम्समा नेपालको सहभागिता यादगर बन्यो । नेपालले २० वर्षपछि एसियाडमा रजत पदक जितेर इतिहास बनायो । प्याराग्लाइडिङ खेलले नेपालका लागि एसियाडमा रजत पदक दिलायो । फुटबल, क्रिकेट, एथलेटिक्स र मार्सल आर्ट्स गेम्समा पनि नेपालले उल्लेख्य सफलता हात पार्न सफल भयो ।
मोफसलमा गोल्डकप फुटबलको बाढी नै आयो । नेपालले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन नसके पनि फुटबलका गतिविधि वर्षभर चलायमान बन्यो । फुटबल र क्रिकेट खेलमा बढेको गतिविधिले आगामी वर्षका लागि राम्रो संकेत गरेको छ ।
दुई वर्षमै राष्ट्रिय खेलकुद
२०७५ सालमा नेपाली खेलकुदको महŒवपूर्ण उपलब्धि हो, आठौं राष्ट्रिय खेलकुद । हरेक दुई वर्षको अन्तरालमा गर्ने गरी २०३८ सालदेखि सुरु भएको यो प्रतियोगिता सुरुका तीन संस्करण बाहेक अरू संस्करण दुई वर्षभित्र आयोजना हुन सकेको थिएन । तर, पूर्वाञ्चलमा सातौं संस्करण आयोजना भएको दुई वर्षभित्रै प्रदेश नम्बर ५ मा आठौं राष्ट्रिय खेलकुद हुन लागेको छ । आठौं राष्ट्रिय खेकुद वैशाख ५ देखि ११ गतेसम्म हुने निश्चित भए पनि प्रतियोगिताका थुप्रै खेल यसअघि नै सुरु भइसकेका छन् । केही खेलमा त पदकको छिनोफानोसमेत भइसकेको छ ।
एथलेटिक्सका कीर्तिमानी अजित
२०७५ सालमा नेपाली खेलकुदले हासिल गरेको अर्को ठूलो उपलब्धि हो, एथलेटिक्सको एसियन च्याम्पियनसिपमा स्वर्ण पदक । सप्तरी राजविराजका अजितकुमार यादवले ४५ वर्षपछि एसियाली पदक भित्र्याएका हुन् । हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा अजितले निर्धारित तीन हजार मिटर दूरी आठ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे । यो समयसँगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमानमा पनि सुधार गरेका थिए ।
११ राष्ट्रका खेलाडीलाई पछि पार्दै अजितले स्वर्ण जितेका थिए । आईएएएफद्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले नेपालका लागि म्याराथनमा कांस्य पदक जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक पनि हो ।
विश्व च्याम्पियनसिपमा स्वर्णधारी महेश्वर
२०७५ सालमा नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय पदक भित्र्याउने मध्येका एक हुन्, महेश्वर महर्जन । उनले थाइल्यान्डको चाङमईमा मंसीर २९ गते सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजी तौलसमूहमा स्वर्ण पदक जितेका थिए । महेश्वरले १२ जना प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण जितेका थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा यो पदक हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।
ब्याडमिन्टनमा चम्किएका प्रिन्स
नेपाली खेलकुदका लागि ब्याडमिन्टन खेलले पनि २०७५ सालमा महŒवपूर्ण उपलब्धि हासिल ग¥यो । नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल गत असोजमा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भएको दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजअन्तर्गतको यू–१५ पुरुष एकल स्पर्धामा विजेता बनेका थिए । नेपाली ब्याडमिन्टनमा उनले हासिल गरेको यो कीर्तिमानी उपलब्धि हो ।
महिला फुटबल सन्तोषजनक
फुटबलका लागि २०७५ सन्तोषजनक रह्यो । एन्फाको नयाँ नेतृत्वसँगै घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागिता उल्लेख्य मात्रामा भयो । मोफसलमा गोल्डकप फुटबलको बाढी नै आयो । महिला फुटबलले उल्लेख्य सफलता हात पा¥यो । महिला टोलीले नेपालले आयोजना भएको साफ च्याम्पियनसिपको उपाधि भने उचाल्न सकेन । महिला साफको फाइनलमा नेपाली टोली भारतसँग पराजित भयो । महिला फुटबल टोलीले ओलम्पिक छनोटमा एसिया रिजनको दोस्रो चरणमा स्थान बनायो । पहिलो पटक ओलम्पिक छनोटमा सहभागिता जनाएको नेपाल दोस्रो चरणबाट भने बाहिरिन पुग्यो ।
पुरुष साफमा निराशा
पुरुष फुटबलमा दक्षिण एसियाबाहिर जान नसकेको नेपालका लागि साफ च्याम्पियनसिप सर्वाधिक ठूलो प्रतियोगिता हो । तर, नेपालले अहिलेसम्म यो उपाधि चुम्न सकेको छैन । २०७५ सालमा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै रोकियो । नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । तर, सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग ३–० गोलको हार खेप्यो । फिफा वरीयतामा समेत नेपालले खासै सुधार गर्न सकेन । वर्षको अन्त्यमा स्विडिस नागरिक योहान कालिन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भए । कालिनको नेतृत्वमा वर्षको अन्तमा नेपालले कुवेतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्यो । एक खेल गोलरहित बराबरीमा सकियो भने अर्को खेलमा नेपाल १–० ले पराजित भयो ।
लामो समयपछि लिग
आन्तरिक विवादका कारण चार वर्षदेखि रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७५ सालमा पुनः सञ्चालनमा आयो । पहिलोपटक रेलिगेसन बिनाको लिग सञ्चालन गरिए पनि लिगले क्लब फुटबलको माहोल ततायो । ‘ए’ डिभिजनका १४ क्लबको सहभागितासँगै बजेट र लगानीका हिसाबले पनि यसपटकको लिग विगतको भन्दा ठूलो आकारको बन्यो । प्रत्येक क्लबले खेलाडीलाई स्तर हेरेर मासिक २५ हजार देखि डेढ लाख रुपैयाँसम्म खर्च गरे । एन्फाले लिगमा लागि ६ करोड रुपैयाँ लगानी ग¥यो । लिग च्याम्पियन मनाङले उपाधिसँगै ५० लाख रुपैयाँ पायो । विजेता मनाङले एएफसी कप छनोट खेल्ने अवसर पनि प्राप्त ग¥यो । यसैगरी ‘बी’ र ‘सी’ डिभिजन लिग पनि पुनः सञ्चालनमा आए ।
रोहित र किरनको छलाङ
नेपाली खेलाडीद्वय रोहित चन्द र किरन चेम्जोङले आफ्नो व्यावसायिक खेलसँगै नेपालको सान पनि विदेशी मैदानमा राख्न सफल भए । इन्डोनेसियाको लिग खेल्ने रोहितले यो वर्ष अहिलेसम्मकै ठूलो सफलता हात पारे । उनी खेलेको क्लबले लिगको उपाधि जित्यो भने रोहित सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । यसैगरी गोलरक्षक किरनले पनि २०७५ मा विदेशी भूमिमा नेपालको सान बढाए । माल्दिभ्स लिगको सर्वोत्कृष्ट गोलरक्षक बनेपछि उनको चर्चा झनै चुलियो । किरनले टिसी स्पोर्ट्सलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महŒवपूर्ण भूमिका खेले ।
क्रिकेटले तताएको वर्ष
वर्ष २०७५ नेपाली खेलकुदमा क्रिकेटको वर्ष बन्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन र त्यसमा प्राप्त सफलताले यो वर्ष घरेलु खेलकुदमा क्रिकेटले अन्य खेललाई निकै पछि छोड्यो । यही वर्ष नेपाली खेलाडीले क्रिकेट खेलका भगवान् मानिने सचिन तेन्दुल्करसम्मको व्यक्तिगत कीर्तिमान भंग गरे । नेपालले गत माघमा यूएईविरुद्ध एकदिवसीय र टीट्वेन्टी शृंखला खेल्यो । सोही खेलमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेल तेन्दुल्करको कीर्तिमान भंग गर्न सफल भए । नेपालले यूएईविरुद्धको एकदिवसीय र टीट्वेन्टी दुवै शृंखला आफ्नो पक्षमा पा¥यो । जुन नेपालका लागि ठूलो उपलब्धि थियो । नेपालले एकदिवसीय र टीट्वेन्टी शृंखला जितेको यो पहिलो पटक हो ।
महिला क्रिकेट पनि विशेष
महिला क्रिकेटका लागि पनि वर्ष २०७५ सुखद रह्यो । यो वर्ष नेपाली महिला टोलीले दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । महिला टोलीले थाइल्यान्ड टीट्वेन्टी स्म्यास र विश्वकप छनोट प्रतियोगिता खेल्यो । यी दुवै प्रतियोगितामा थाइल्यान्डसँग मात्रै पराजित हुँदा नेपाली टोली टीट्वेन्टी स्म्यासको उपाधि र विश्वकपका लागि छनोट हुन असफल रह्यो । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा एकपछि अर्काे सफलता हात पारे पनि नेपाल क्रिकेट संघ (क्यान) माथि आईसीसीको निलम्बन फुकुवा नहुँदा खेलाडी र सम्बद्ध पक्ष निरास छन् ।
समाधान उन्मुख कराँते
नेपाली खेलकुदको स्थायी विवादमध्येको एक विवाद थियो, कराँते । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताको टकरावका कारण कराँतेमा लामो समयदेखि विवाद देखिँदै आएको थियो । तर, फागुन १५ गते दुई कराँते महासंघ पुनर्गठन गरी एकीकरण घोषणा गरिएपछि विवाद समाधान उन्मुख देखिएको छ । लामो समय समानान्तर रूपमा रहेका दुई महासंघको एकीकरण गर्दै चार महिनाभित्र निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु आचार्यको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ । पुनर्गठित कार्यसमितिलाई समयसापेक्ष विधान संशोधन गर्नुका साथै राखेपबाट स्वीकृत गराई तीन महिनाभित्र निर्वाचन गर्न समय तोकिएको छ ।
महिला भलिबलको बाढी
२०७५ सालमा महिला भलिबल प्रतियोगिता आयोजनामा बाढी नै आयो । जसमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दबदबा कायम राख्यो । एपीएफ क्लबले २०७५ सालमा आयोजना भएका ११ मध्ये १० प्रतियोगिताको उपाधि जितिसकेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी सहभागी एपीएफले आधिआवादी भलिबल लिग मात्र गुमाएको थियो । यो प्रतियोगितामा एपीएफको टोली अमेरिकी खेलाडीको बाहुल्य रहेको चितवन टाइग्रेससँग फाइनलमा पराजित भएको थियो ।
जापानमा दिगम्बरलाई रजत
जापानमा भएको नवौं सितोरियो कराँते विश्व च्याम्पियनसिपमा नेपालले ऐतिहासिक पदक जित्यो । नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेका थिए । उनी फाइनलमा काजकिस्तानका खेलाडी तसिम अदिलसँग ५–० ले पराजित हुँदा स्वर्ण पदकबाट भने वञ्चित भए । नेपालले सितोरियो कराँतेको विश्व च्याम्पियनसिपमा जितेको यो नै सबैभन्दा ठूलो पदक हो । सोही प्रतियोगिताको ६० केजीभन्दामुनिको तौल समूहमा विजय श्रेष्ठले पनि कांस्य पदक जितेका थिए । प्रतियोगितामा ३९ देशका एक हजार दुई सयजना खेलाडीले भाग लिएका थिए । नेपालले १७ वर्षपछि सितोरियो कराँतको विश्व च्याम्पियनसिपमा पदक जितेको हो ।
स्पेसल ओलम्पिकमा स्वर्ण
संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ‘स्पेसल ओलम्पिक समर वल्र्ड गेम्स’ मा नेपाली खेलाडीले स्वर्ण पदक जितेर देशको गौरव बढाए । एथलेटिक्सको पुरुष सटपुटमा नेपालका लागि अजय तामाङले स्वर्ण र सागर शेरचनले कांस्य पदक जितेका थिए । महिला लङजम्पमा एलिसा न्यौपानेले कांस्य पदक हात पारेकी थिइन् । महिला बोसीमा महिमा कोइरालले नेपाललाई रजत पदक दिलाएकी थिइन् । पुरुष फाइभ ए साइड युनिफाइड फुटसलमा पनि नेपालले रजत जित्यो । फुटसल टोलीमा अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, ईशान श्रेष्ठ, धनबहादुर क्षेत्री, अदेश काफ्ले, अदित वज्राचार्य र क्षितिज बानियाँ सहभागी थिए । प्रतियोगितामा एक सय ९० राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो ।