महाकाली तर्न ट्युबकै भर

महाकाली तर्न ट्युबकै भर

बैतडी : बैतडीको महाकाली नदी किनारका बासिन्दा नदी वारपार गर्न ट्युबकै भर पर्ने गरेका छन्। महाकाली नदीमाथि झोलुंगे पुल समेत नहुँदा दशरथचन्द नगरपालिका–६ सेराका स्थानीयहरू वर्षौंदेखि ट्युबकै माध्यमबाट नदी वारपार गर्ने गरेका हुन्।

‘दैनिक उपभोग्य सामग्री, औषधिका लागि भारतीय बजारकै भर छ। महाकाली नदीमा पुल छैन। वर्षौंदेखि ट्युबमै आवतजावत गर्न बाध्य छौं’, दशरथचन्द नगरपालिका ६ का ममता कार्कीले भनिन्, ‘ट्युबमा नदी तर्दा निकै जोखिम छ। जोखिम मोलेर भएपनि पारी जानैपर्छ।’

‘२०६९ सालमा महाकाली नदीमा ट्युब मार्फत पारी जाँदै थिए। दुई जना थियौं। एक्कासी ट्युब पल्टियो। धेरै तल पुगेपछि पौडी खेल्दाखेल्दै किनारतिर लाग्यौं। अनि बाँच्न सफल भयौं। त्यो दिन सम्झिँदा अहिले पनि आङ सिरिंग हुन्छ’, दशरथचन्द नगरपालिका–६ सेराकी तारा कार्कीले भनिन्, ‘महाकाली नदी वारपार गर्ने अरु विकल्प नहुँदा ट्युबकै भर पर्नु परेको छ। पारीपट्टी इष्टमित्र आफन्त पनि छन्। भेटघाट गर्नदेखि लिएर अन्य कामका लागि भारतीय बजारमा जानुको विकल्प छैन।’

दशरथचन्द नगरपालिका ६ सेरामा नेपालतर्फबाट अहिले बल्ल कच्ची सडक पुगेको छ। सीमावर्ती बजार झुलाघाट हिँडेर जानुपर्दा दुई घण्टा लाग्छ। ‘वर्षातको समयमा झुलाघाट जाने बाटोमा माथिबाट ढुंगा खस्ने गर्दछ। ट्युबबाट पारीपट्टी तर्न सक्यो भने गाडीमा जान पाइन्छ। कोही बिरामी भएको बेला सीमावर्ती भारतीय अस्पताल लैजान पनि ट्युबकै भरमा छौं।’ स्थानीयबासी तिलकराम टमाटाले भने, ‘आजभोलि त ट्युबमा पनि भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन्। ट्युबमा यात्रा गर्न देख्यो भने ट्युब नै काटी दिन्छन्।’

महाकाली नदीमाथि झोलुंगे पुल बनाउने धेरै पहिलादेखि कुरा चलेको भएपनि दुई देशको सीमा नदी भएकाले कुन ठाउँमा कसरी बनाउने भन्ने विषयमा केही छलफल हुन सकेको छैन। महाकाली नदीमा पुल नहुँदा सीमा क्षेत्रका नेपाली नागरिकलाई भने ज्यादै सकस छ।

‘नुनदेखि लिएर अन्य सामग्री खरीदका लागि भारतीय बजार नजिक पर्छ। त्यसका लागि ट्युबमै जोखिमपूर्ण यात्रा गर्नुपर्छ।’ दशरथचन्द नगरपालिका ६ सेराका पुष्कर कार्कीले भने, ‘नेपालकै पुछारमा बैतडी छ। बैतडीको पुछारमा हामी छौं। पुछारमा रहेका नागरिकलाई सरकारले हेर्न सकेको छैन। हामीले रातको समयमा पनि ट्युबबाटै वारपार गर्नुपर्छ।’

महाकाली नदीमाथि झोलुंगे पुल नहुँदा निकै सास्ती भोग्नुपरेको स्थानीय बिस्ना कार्कीले बताइन्। उनले भनिन् ‘महाकाली नदीमा झोलुंगे पुल भइदिएको भए हामीलाई धेरै सजिलो हुने थियो। झुलाघाटसम्म पुग्ने बाटो पनि मर्मत भएको भए यस्तो समस्या हामीले झेल्नु पर्ने थिएन।’

महाकाली नदी किनाराका बासिन्दाले आफूले भोग्नुपरेको समस्या बारेमा स्थानीय सरकारलाई समेत जानकारी गराएको स्थानीय धाना जोशीले बताइन्। उनले भनिन् ‘हामीले हाम्रा समस्याका बारेमा स्थानीय सरकारलाई जानकारी गराईसकेका छौं। पूर्व सूचना प्रणाली स्थापना गर्न सके नदीको बहाव बढेको बेला ट्युब चलाउन हुँदैन भन्ने हामीलाई जानकारी हुन्थ्यो। यो तर्फ पनि सरोकारवाला निकायहरुको ध्यान जानुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.