ए लेभलमा ऋतिक ‘विश्व उत्कृष्ट’
काठमाडौं : कालोपुलस्थित जेभिएर इन्टरनेशनल एकेडेमीबाट ए लेभल पढेका ऋतिक यादवले कम्प्युटर विज्ञान विषयमा विश्वमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा ब्रिटिस काउन्सिलले ऋतिकलाई विश्व उत्कृष्ट घोषणा गर्दै प्रमाणपत्र समेत प्रदान गरेको छ।
यादव कम्प्युटर साइन्समा विश्व उत्कृष्ट र भौतिकशास्त्र तथा रसायनशास्त्रमा नेपाल उत्कृष्ट भएका हुन्। कलेजका प्रमुख लोकवहादुर भण्डारीका अनुसार ऋतिकले रसायनशास्त्रमा पनि विश्वको सातौं स्थान हासिल गरेका छन्।
लगनशिल र नियमित पढाईले आफूलाई विश्वकै उत्कृष्ट नतिजा ल्याउन सहयोग पुर्याएको यादवले बताए। कलेज प्रमुख भण्डारीले पनि यादव निकै ईमान्दार विद्यार्थी रहेको बताए।
उक्त कार्यक्रममा अन्य विषयमा पनि उत्कृष्ट अंक हासिल गर्ने कलेजका विद्यार्थीको घोषणा गरिएको थियो। ए लेभललाई नेपालमा कक्षा १२ सहरको शिक्षा मानिन्छ। नेपालमा दुइ दर्जन भन्दा बढी संस्थाले ए लेभलको पढाई सञ्चालन गरिरहेका छन्।