कांग्रेस नेता गिरी भन्छन् : दलितको छुट्टै निर्वाचन मण्डल चाहिन्छ
सिरहा : नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले नेपालमा दलितहरुको छुट्टै निर्वाचन मण्डल आवश्यक रहेको बताएका छन् ।
संविधान निर्माताहरुसमक्ष यस्तो माग आफूले राखेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका हुन् । शनिबार लहानमा सल्हेश, दिनाभद्री र अम्बेडकरको जन्मजयन्तीको अवसरमा आयोजित नेपालमा दलित आन्दोलनको दशा र दिशा विषयक विचार गोष्ठीमा यस्तो बताएका हुन् ।
नेताहरुको निगाहबाट मात्रै अवसर पाउने गरेको र दलितको बारेमा ठोस काम हुन नसकेको उनको भनाइ थियो । देशभरका कूल १४ देखि १५ प्रतिशत दलितहरुले मात्र भोट हाल्नेगरी दलित–दलित बीचमै प्रतिस्पर्धा गराएर सांसद बनाउने विधि अहिलेको आवश्यकता भएको उनको तर्क छ ।
‘संघीय संसदमा ४० देखि ४५ दलित समुदायका व्यक्तित्वहरु नेताको निगाह भन्दा फरक ढंगले निर्वाचित हुनेछन् । जो दलित समुदायप्रति उदार हुनेछन्,’ उनले भने, ‘यसले दलितको पक्षमा सकारात्मक कदम चाल्न वातावरण तयार हुन्छ ।’
राजनीतिक संघर्ष, वर्गीय संघर्षको सफलताले मात्र समाजवाद नआउने भएकाले वर्णभेदी व्यवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ । समाजवादका लागि वर्ण विभेदको विरुद्ध अग्रसर हुन दलित समुदायले पनि आपसमा हुने छुवाछुतलाई हटाउन आवश्यक रहेको उनले बताए ।
नेपालको संविधानमा धेरै त्रुटि भएको र संविधानमा दलितका लागि गरिएको व्यवस्थालाई कार्यान्वयन गर्न कानूनको आवश्यकता रहेको पनि उनको टिप्पणी छ । कानून पनि तोडमोड गरी दलितको हित विपरित बन्न लागेको उनले बताएका थिए ।