फर्केर हेर्दा २०७५ : उड्डयनमा निराशा, पर्यटनमा कहाँ चुक्यौँ ?
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका बहुसंख्यक सदस्य राष्ट्रले अनुमोदन गरेको मन्ट्रियल महासन्धिलाई नेपालले पनि लागू गर्दा अन्तर्राष्ट्रिय हवाई यात्रुलाई लाभ हुने व्यवस्था स्थापित भयो।
काठमाडौं : पर्यटन क्षेत्रका लागि २०७५ साल सकारात्मक रह्यो। पर्यटक आगमन संख्या हेर्दा सात वर्षअघिको ‘१० लाख पर्यटक पुर्याउने’ लक्ष्य अहिले आएर पूरा भएको छ। पर्यटक आगमन, पर्यटकीय पूर्वाधार, संस्थागत विकास, घुम्ने संस्कृतिसहित आर्थिक विकासमा आशा जगाउने क्षेत्रको रूपमा पर्यटनलाई लिइन्छ।
पर्यटन भित्र्याउने मेरुदण्ड र समग्र पर्यटनको इतिहास बनाउन यो वर्ष पनि चुकेको छ। २०७५ फागनु १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाउनुपर्यो। यो घटना नेपालको पर्यटन इतिहासमै दुःखद रह्यो।
दुर्घटनामा नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, इन्जिनियर ध्रुवदास भोछिभया, निजी क्षेत्रका अग्रणी व्यवसायी तथा यती एयरलाइन्सका मालिक आङछिरिङ शेर्पासहित पर्यटन क्षेत्रका हस्तीले ज्यान गुमाए। यस घटनाले नेपालको हवाई उड्डयनलाई युरोपेली युनियनले (ईयू)लाई नेपाललाई हवाई उड्डयन सुरक्षा (कालोसूची)बाट नहटाउन अर्को बहाना बन्यो।
उड्डयन क्षेत्रले भोगेको यो दुःखद घटनालाई बिर्सने हो भने समग्र पर्यटन उद्योग सकारात्मक र उपलब्धिपूर्ण रहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी बताउँछन्। उनका अनुसार पर्यटक आगनमा भएको अहिलेसम्मकै वृद्धिले संख्यामा मात्रै भन्दा पनि प्रवृत्ति परिवर्तन भएको छ। यसअघि अफ सिजन मानिएका महिनामा पर्यटक आगमन निकै कम हुन्थ्यो। अहिले यसमा सुधार आई सबै सिजन पर्यटकीय सिजन भएको छ।
घुम्ने संस्कृतिको विकास भएको छ। नेपाली पनि पर्यटक बनेर एक गन्तव्यबाट अर्कोमा जाने, खर्च गर्ने, स्थानीयको आर्थिक गतिविधि बढाउने तथा समग्र अर्थतन्त्र चलायमान बनाउन थप सहयोगी रहेको वर्ष २०७५ लाई लिन सकिने जोशीको बुझाइ छ।
पर्यकीय पूर्वाधारमध्ये होटल, रेस्टुरेन्ट, विमानस्थल, जहाज थप, पर्यटकीय गन्तव्य पहिचान र विकास, नेपाल भ्रमण वर्ष २०२० को आवश्यक तयारी र पूर्वाधार निर्माणले पर्यटन क्षेत्रलाई थप टेवा पुर्याएको छ। यसका साथै दीर्घकालीन प्रभाव पार्ने र पद्धति बसाउन २०७५ सफल भएको छ।
वाइडबडीको उत्साहसँगै जोडिएको निराशा
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यो वर्षको सुरुवातमै अन्तर्राष्ट्रिय उडानका लागि २७४ सिट क्षमताका दुईवटा वाइडबडी जहाज भित्र्यायो। निगमले असार १४ मा पहिलो ‘अन्नपूर्ण’ र साउन १० गते दोस्रो ‘मकालु’ नामका वाइडबडी जहाज ल्याएपछि नेपालबाट लामो दूरीको गन्तव्यमा उडान गर्ने अपेक्षाले पर्यटन व्यवसायीमाझ आशा जगाएको थियो।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको २४ अर्ब ऋणबाट खरिद गरिएका यी दुई जहाज भित्रिए पनि यसले अपेक्षाअनुसार प्रगति गर्न भने सकेनन्। जहाज भित्रिएपछि असोज मसान्तमा तिर्नुपर्ने किस्ता त जहाज किनेर बाँकी रहेकै पैसाले तिर्यो। त्यसपछि निगमले पुस र चैत मसान्तमा बुझाउनुपर्ने किस्ता तिर्न सकेन। यसले लामो दूरीको गन्तव्यमा जान नसक्दा हालसम्म एक अर्ब ६६ करोड रुपैयाँ घाटा व्यहोरिसकेको छ। योजनाबिना नै जहाज भित्र्याइएकाले १० महिना खेर गएको छ।
यही जहाज खरिदमा संसद्को सार्वजनिक लेखा समितिले चार अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको प्रतिवेदन सार्वजनिक गर्यो। वाइडबडी जहाज खरिदमा भएको अनियमितताको अख्तियारले नै गहन अनुसन्धान गरिरहेको छ। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि यसकै खरिद प्रक्रियामा औंला उठाउँदै छानबिन गरेर प्रतिवेदन तयार पारेको छ। उड्डयन क्षेत्रमै यसको खरिद प्रक्रियामा भएको अनियमितताले वाइडबडीप्रति नकारात्मक प्रचार बढायो।
एक सय नयाँ गन्तव्य सार्वजनिक
इलामको कन्याम।
सरकारले कात्तिक दोस्रो साता देशभरका नयाँ र प्रवद्र्धन गर्नुपर्ने एक सय पर्यटकीय गन्तव्य पहिचान गरी सूची सार्वजनिक गर्यो। सरकारले पहिल्यै स्थापित तर प्रवद्र्धन गर्नुपर्ने एक सय र नयाँ तर विकास गर्नुपर्ने गरी एक एक सय गन्तव्यको सूची सार्वजनिक गरेको हो। यी गन्तव्य प्रवद्र्धनमा सरकारले ५० करोड रुपैयाँ बजेट छुट्टयाएकाले यसको चर्चा झनै बढ्यो।
मन्ट्रियल महासन्धि लागू
सरकारले अन्तर्राष्ट्रिय उडानमा यात्रुले पाउने बिमा रकम बढाउने गरी मंसिरदेखि मन्ट्रियल महासन्धि लागू गर्यो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) का बहुसंख्यक सदस्य राष्ट्रले अनुमोदन गरेको मन्ट्रियल महासन्धिलाई नेपालले पनि लागू गर्दा अन्तर्राष्ट्रिय हवाई यात्रुलाई लाभ हुने व्यवस्था स्थापित भयो। यसले संसारभरका सबै राष्ट्रका यात्रुले समान दरले यात्रु बिमा पाउँछन्। यस्तो बिमा रकम करिब पौने दुई करोड रुपैयाँ हुनेछ।
विमानस्थल निर्माण
पोखरा क्षेत्रीय विमानस्थलको बन्दै गरेको रनवे।
पर्यटक आगमनको मुख्य प्रवेश मार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत सुरु भएको छ। यो विमानस्थलको पहिलोपटक धावनमार्गको कालोपत्रे सबै उप्काएर मर्मत सुरु भएको हो। २१ घण्टा सञ्चालन भइरहेको विमानस्थल मर्मतको चरणमा १४ घण्टामा सीमित छ। आन्तरिक विमानस्थल चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी मा रात्रि उडान सुरु भएको छ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ७० प्रतिशतभन्दा बढी प्रगति गरेको छ। पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपलब्धि ३० प्रतिशत छ।
नेपालको महत्वपूर्ण हवाई पूर्वाधार मानिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने गरी सकारात्मक पहलकदमी हुँदै छ। यो विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकक (ईआईए) स्वीकृत, विमानस्थल निजी सार्वजनिक साझेदारी (पीपीपी)मा बनाउने गरी मोडालिटी तय भएको छ। विमानस्थल निर्माण गर्न रुख काट्ने काम स्वीकृतिको चरणमा छ। यसले सकारात्मक गति प्रदान गरेको छ।
होटल निर्माण धमाधम
दशक पछि पाँचतारे होटल थपिएका छन्। काठमाडौंमा मात्रै सीमित पाँचतारे होटल निर्माण मोफसलमा पनि विस्तार भएका छन्। दशकदेखि पाँचतारे होटलको संख्या १० वटा मात्रै थिए। २०७५ बाट यसको सख्या १३ पुगेको छ। पोखरामा मात्रै सीमित जिप फ्लायर्स अब धुलिखेलमा पनि विस्तार भएको छ। पर्यटन क्षेत्रमा होटल, रेस्टुराँ, होमस्टेको विकासहितको पर्यटन पूर्वाधार धमाधम निर्माण भइरहेका छन्।
पाँचतारे होटल निर्माणमा लहर चलेको छ जसलाई पर्यटन पूर्वाधार निर्माणमा सकारात्मक मान्नुपर्ने होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहको बुझाइ छ। सन् २०२० लाई दृष्टिगत गरेर होटल तथा पर्यटकीय पूर्वाधार निर्माण सुरु भइसकेका छन्। यसका साथै पाँचतारे होटल हायात रिजेन्सीको छानबिनले पनि पर्यटन क्षेत्रमा चर्चा बटुलेको छ।
फेक रेस्क्यूको सन्देश
पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई बिरामी बनाउने र नक्कली उद्धार गर्ने भन्ने विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि धुमिल बन्यो। वर्षको सुरुमै उठेको यो विषय वर्षेभरि चर्चामै रह्यो। सरकारले छानविन समिति बनाइ त्यसलाई नियन्त्रण गर्न कार्यविधि तय गरेको छ। ट्राभल ट्रेकिङ, हस्पिटल, हेलिकप्टरसहितको मिलेमतोमा फेक रेस्क्यू हुने भनेर सरकारले प्रतिवेदन तयार पारेको थियो। यसलाई नियन्त्रण गर्न सरकारले ‘पर्यटक खोज, उद्धार, उपचार, तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५’ ल्याएको हो।