उच्च र मध्यमवर्गीय नेपाली समाजका चार दुर्गुण

उच्च र मध्यमवर्गीय नेपाली समाजका चार दुर्गुण

नयाँ वर्षले हामी अधिकांशलाई भ्रष्ट, गैरजिम्मेवार, आडम्बरपूर्ण र दूरदृष्टिहीन प्रवृत्ति त्याग्ने प्रेरणा प्रदान गरोस् अन्यथा हामी दशकौंको अविकासको दुष्चक्रबाट मुक्त हुने छैनौं


आज नयाँ वर्ष। पाठकलगायत नेपालभित्र र बाहिर रहेका सबै नेपालीमा हार्दिक मंगलमय शुभकामना ! नयाँ वर्ष भएकाले आज आशा, उत्साह, सपना र प्रतिबद्धता बाँड्ने र अभिव्यक्त गर्ने दिन। दशकौं भयो हामीले शुभकामना आदानप्रदान गरेको। तर, दशकौं भयो हामीले आफ्ना चाहनालाई साकार रूप दिने ढंगबाट नेपाली समाजको ‘विकासमुखी रूपान्तरण’ गर्न नसकेको। ‘अधिकारमुखी रूपान्तरण’ भएको छ तर अधिकारलाई विकासका खम्बाहरूले टेवा दिन सकिएन भने अधिकारले निरन्तरको अस्थिरता उत्पन्न गर्छ। गत तीन दशकमा हामीले धेरै अधिकार पायौं। कुनै, कुनै अधिकार त सुसंस्कृत, विकसित राष्ट्रहरूले पाउनेभन्दा धेरै पायौं। विकासको मामिलामा भने हामी अत्यन्तै पछाडि रह्यौं। परिणामस्वरूप, प्राप्त अधिकार न त स्थिर छन् न तिनको दीर्घकालीन भविष्यका बारेमा हामी ढुक्क छौं।

समाज रूपान्तरणको विषय आयो कि त्यो गएर राजनीतिमा ठोकिन्छ। राजनीति मूलनीति, त्यसैले त्यो स्वाभाविक पनि छ। तर, जटिलता कहाँनिर आउँछ भने राजनीतिले समग्र समाजको रूपान्तरण गर्छ तर अपवादलाई छोडेर राजनीतिको चरित्रचाहिँ समाजले निर्धारण गर्छ। जति म नेपाली समाजलाई गहिरिएर बुझ्न र अनुभूत गर्न प्रयास गर्छु त्यति नै बढी म नेपाली समाजको आफूसमेत संलग्न एउटा खण्डमा राजनीतिमा भन्दा विकराल समस्या देख्छु। ती समस्यालाई हामीले निराकरण नगर्ने हो भने यो देश बदल्न धेरै कठिन हुनेछ र हरेक नयाँ वर्षमा हामी शब्दमा मात्र आशा, उत्साह, सपना र प्रतिबद्धता बाँडिरहन बाध्य हुनेछौं।

उच्च र मध्यम वर्ग

जतिसुकै सर्वहारा वर्गको मुद्दा उठाए पनि, सर्वहारा वर्गलाई उत्तेजित बनाए पनि र सर्वहारा वर्गको शासनको नारा लगाए पनि राजनीति र सत्ताको नेतृत्व संसारभर मूलतः उच्च र मध्यम वर्गले नै गर्छन्। कोही साँच्चिकै सर्वाहारा नै रहेछ भने पनि सत्ता नेतृत्व गर्ने समयसम्म ऊ कतिपय स्थितिमा मध्यम मात्र होइन उच्च वर्गमै रूपान्तरण भइसकेको हुन्छ। उच्च र मध्यम वर्ग शिक्षित हुन्छन्। कुनै न कुनै पेसा-व्यवसायमा संलग्न हुन्छन्। राजनीति, सत्ता, पेसा र व्यवसायको नेतृत्व उच्च र मध्यम वर्गले गर्ने हुनाले राजनीति, सत्ता र समाज चरित्र कालान्तरमा मूलतः यही दुई वर्गले निर्धारण गर्छन्।

तर, नेपालको परिप्रेक्षमा उच्च र मध्यम वर्ग भन्नु र विकसित देशको परिप्रेक्ष्यमा उच्च र मध्यम वर्ग भन्नुमा आकाश जमिनको अन्तर छ। विश्व बैंकको सहयोगमा केन्द्रीय तथ्यांक विभागले सन् २०११ मा गरेको नेपाल जीवनस्तर सर्वेक्षणले २२ प्रतिशत अर्थात् लगभग ६० लाख नेपाली मध्यम वर्गीय भएको देखाएको थियो। त्यसै सर्वेक्षणको नतिजालाई सन् २०१४ मा अद्यावधिक गरिँदा दैनिक प्रतिव्यक्ति आठ डलरभन्दा बढी (करिब नौ सय रुपैयाँ) उपभोग गर्ने उच्च वर्गको हिस्सा दुई प्रतिशत अर्थात् पाँच लाखको हाराहारीमा भएको जनाएको थियो। सन् १९९६ को तुलनामा मध्यम र उच्च वर्गको हिस्सा तीन गुणाले बढेको त छ। तर, विश्वव्यापी मध्यम वर्गको तुलनामा स्थिर पेसा र आम्दानी, उल्लेख्य बचत र विलासी जीवनयापन गर्न सक्नेको संख्या सानै भएको विश्वास गर्न सकिन्छ।

उच्च र मध्यम वर्ग संसारको कुनै पनि समाजका आशा, विडम्बना र धोका, सबै हुन्। समाज बनाउने, बिगार्ने, शान्त या अशान्त पार्ने, जातीय, क्षेत्रीय तीक्तता फैलाउन या नफैलाउने, समतामूलक या दूरीयुक्त समाज बनाउने भन्नेमा तिनै दुई वर्गको भूमिका प्रधान रहन्छ। तिनले सांगोपांगो समाजको नेतृत्व कसरी गरिरहेका हुन्छन्, त्यसैमा देशको वर्तमान र भविष्य निहित हुन्छ। नेपालको परिप्रेक्ष्यमा पनि त्यही नियम लागू हुन्छ। तसर्थ, नेपालको अधिकारमुखी रूपान्तरणको        श्रेय पनि मूलतः त्यही वर्गलाई जान्छ जसले सो संघर्षको नेतृत्व गरे र नेपालको अविकासको दोष पनि त्यही वर्गलाई जान्छ जसको अक्षमता र भ्रष्टताले विकासका प्रचुर सम्भावना अवरुद्ध तुल्याइदिए।

‘अपवाद छोडेर’ भन्नुपर्दा नेपालको उच्च र मध्यम वर्ग मूलतः चारवटा गम्भीर दुर्गुणबाट ग्रस्त छन्, जसले यो समाजको विकासमुखी रूपान्तरणमा ठूलो बाधा पुर्‍याइरहेको छ। ती दुर्गुणबाट टाढा रहेका नेपाली पनि छन्, जो यो समाजमा प्रेरणाका स्रोत हुन्। तर समग्रमा भन्नुपर्दा हामी भ्रष्ट, गैरजिम्मेवार, आडम्बरी र दूरदृष्टिहीन छौं। ती दुर्गुणबाट ग्रस्त नभएको भए न हामी ट्रान्सपरेन्सी इन्टनेसनलको सूचीमा पुछारमा पर्ने थियौं न त हामी यति अविकसित र अपरिस्कृत समाजको सर्जक हुने थियौं।

भ्रष्ट

हामी भ्रष्ट मात्र होइन, महाभ्रष्ट छौं। भ्रष्टताका बारेमा कति लेख्नु ?जति लेखे पनि त्यो अपर्याप्त हुन्छ। भ्रष्टाचारको निरूपण गर्नुपर्ने संस्थाहरू राजनीतिक नेतृत्व, कार्यपालिका, न्यायपालिका, अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग, प्रहरी, प्रशासन सबै ठाउँमा भ्रष्टाचार छ। कसले गर्छ ? उच्च र मध्यम वर्गका शिक्षित नेपालीले। अत्यन्तै सुशिक्षित र सम्भ्रान्तद्वारा सञ्चालित ठूलाठूला व्यापारिक गृहहरूबाट भएका भ्रष्टाचारका समाचार त हामीले बारम्बार पढ्ने गरेकै छौं। घुस कसले खान्छ ? गाउँका कुनै गरिब किसानले होइन। सबै उच्च र मध्यम आयका शिक्षित नेपालीले। नियम, कानुन तोड्नेजति सबै उच्च र मध्यम वर्गीय शिक्षित नेपाली। हो, भोको पेटले या परिवार चलाउन धौधौ हुने पेसाकर्मीले नियम, कानुनभन्दा पनि दालभात र घर भाडाबारे बढी सोच्छ। मर्ता क्या न कर्ता। तर विपन्नताका कारण भ्रष्टाचार गर्न बाध्य ठूला देश बिगार्ने भ्रष्टाचारीका ‘बाइप्रडक्ट’ मात्र हुन्। ठूला भ्रष्टाचार गर्नेहरू सबै उच्च र मध्यम वर्गकै हुन्। ठूला भ्रष्टाचार नियन्त्रण गर्न सक्ने हो भने साना भ्रष्टाचार स्वतः नियन्त्रणमा आइहाल्छ।

गैरजिम्मेवार

लगभग हरेक टोलमा टोल सुधार समिति छ तर केहीलाई छोडेर सबै टोलको हाल बेहाल छ, किन ?        धेरै शिक्षित पेसाकर्मी नेपाली विभिन्न सामाजिक संघसंस्थाको जिम्मेवार पदमा हुन्छन्। अरूको जिम्मेवारीको गज्जबले चर्चा गर्छन् तर आफ्नो संस्थाभित्रको जिम्मेवारीमा विरलै ध्यान दिन्छन्, किन ?        अरूले सडकको सेतो रेखा काटेर मोटरसाइकल या मोटर लैजाँदा रिसाउने व्यक्ति मौका पर्नेबित्तिकै आफैं सो रेखा काटेर सवारी साधन हुइँक्याउँछ, किन ?       

केही समयअघि फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी अधिकृत मनीष झाले तथ्यगत ग्य्राफिक्ससहितको एउटा सन्देश सामाजिक सञ्जालमा राखेका थिए जसमा लेखिएको थियो, ‘एक वर्षमा १६ लाख पटक ट्राफिक नियम उल्लंघन कारबाहीमा पर्ने देशका नागरिकलाई कत्तिको सभ्य मान्ने ?        देश नबनेको कारण केवल राजनीतिक समस्या मात्र हैन, सामाजिक संस्कार पनि हो।’ उनले देशका नागरिक भनेर मूलतः तिनै उच्च र मध्य वर्गीय शिक्षित नागरिकलाई संकेत गरेका हुन् जो निजी सवारी साधन चलाउँछन्।

उच्च र मध्यम वर्गीय नेपाली समाजको चरित्रमा परिवर्तन नआउने हो भने न हाम्रो राजनीतिक स्तरमा सहजै परिवर्तन आउनेछ न त नेपालको समाज नै सुसंस्कृत र विकसित हुनेछ।

नेपालमा बिरलै कुनै बैठक ठीक समयमा सुरु हुन्छ। बिरलै मान्छेले गर्नुपर्ने काम समयमा गर्छन्। कुराले संसार नै हाँकिदिन्छन्। काममा भने एक किलोमिटर हिँड्न एक महिना लगाइदिन्छन् या गर्दै गर्दैनन्। काम नहुनुको दोष सजिलै अरूका टाउकोमा हालिदिन्छन्। हामीकहाँ शिक्षक, प्राध्यापक राम्ररी पढाउँदैनन्, विद्यार्थी राम्ररी पढ्दैनन्, पेसाकर्मीहरू पेसागत जिम्मेवारी निभाउँदैनन्। दशकौंदेखि फोहोरी, भ्रष्ट, राष्ट्रघाती राजनीतिको नेतृत्व गर्नेलाई हामी बारम्बार भोट दिएर जिताइरहन्छौं। त‍ी हरेक अकर्मण्यताका औचित्य दर्शाउन हामी खप्पिस छौं। गैरजिम्मेवारीपनाको योभन्दा पराकाष्ठा के हुनसक्छ ?

आडम्बरपूर्ण

हामी संसारमै भ्रष्टहरूमध्येमा पर्छौं। त्यसमा कुनै शंकै भएन। हामी धर्मकर्ममा ठूलो विश्वास राख्छौं। त्यसमा पनि शंकै भएन। तर, दुःखका साथ भन्नुपर्छ, बिहान-बिहानै पूजाकोठामा धूप बालेर ईश्वरको आराधना सकेपछि हाम्रो भ्रष्टताको यात्रा सुरु हुन्छ। पेसाकर्मीले पेसाबाट, व्यावसायीले व्यवसायबाट, राजनीतिकर्मीले राजनीतिबाट, जहाँजहाँ सकिन्छ त्यहीं-त्यहीं भ्रष्टाचार गरेर बिहानै गरेको ईश्वरको आराधनाको अपमान गरिन्छ। पाँचतारे होटेलमा नेपालका गरिबतम् नागरिकले भोग्नुपरेको पीडाबारेमा सशक्त भाषण दिनेले तिनै नागरिकका लागि आएको रकममा भ्रष्टाचार गर्छ। नदी फोहोर भयो भनेर सधैं गुनासो गर्नेहरू करोडौंको घर बनाउँदा थोरै पैसामा बन्ने ‘सेप्टिक ट्यांक’ नबनाएर घरको ढल नदीमा मिसाउँछन्। नियम-कानुनको हर दिन भाषण दिने सबै उच्च र मध्यम वर्गीय शिक्षित नेपाली हुन्छन् तर हर दिन नियम, कानुन तोड्ने तिनै हुन्छन्। हाम्रो आडम्बरको स्तरसँग हामी आफैं अनभिज्ञ छौं।

दूरदृष्टिहीन

हामी भविष्य भन्ने शब्दसँग परिचित छौं तर भविष्य शब्दको गहिराइबारे हामीलाई मतलबै छैन। हाम्रो भ्रष्टता, गैरजिम्मेवारीपन र आडम्बर त्यसैको परिणाम हो। तात्कालिक फाइदा भए पनि यो समाज विकृत हुँदा त्यसले दीर्घकालमा आफैं र आफ्ना सन्तानलाई प्रत्यक्ष असर पार्छ भन्ने हामी सोच्नै चाहँदनौं। भ्रष्ट, गैरजिम्मेवार, आडम्बरी र दूरदृष्टिहीन समाजले सुसंस्कृत र विकसित भविष्य निर्माण गर्न सक्दैन। आज काठमाडौंमा ८० काटेका थुप्रै सम्पन्न वृद्धवृद्धा किन छोरीछोरी अमेरिका, बेलायतमा छन् भनेर गर्व गर्दै आफूचाहिँ एकजना सहयोगीले घरमा ओल्टाइपल्टाइ गरेर औषधि खुवाइदिनुपर्ने अवस्थामा छन् ?        जिन्दगीमा चाहेको सबै पाउँदापाउँदै पनि किन त्यस्तो अवस्था आयो ? त्यो मूलतः हाम्रो व्यक्तिकेन्द्रित सोच र समाज निर्माणबारे दूरदृष्टि अभावको परिणाम हो। हामीले न आफू बन्ने क्रममा, न आफू बनिसकेपछि देशबारेमा सोच्यौं। आफू बनिसकेपछि पनि थप आफैंलाई बनाउन चाह्यौं, देश बने हामी सबै बन्छौं भनेर सोच्दै सोचेनौं।

हामीमा अलिकति पनि दूरदृष्टि भएको भए आज संसारकै सुन्दरतम् हुन सक्ने काठमाडौं उपत्यकाको यो दुर्गति हुँदैनथ्यो। राजमार्ग सामान्य सडक र सामान्य सडक राजमार्गमा रूपान्तरण हुँदैनथ्यो। संसार हेरेर देखेर आएका नेता र प्रशासक हुँदा पनि बाह्रफुटे बाटो बन्ने क्रम जारी रहँदैनथ्यो। पानीको पाइप, ढल र बिजुलीका तार दशकौंदेखि अव्यवस्थित हुँदैनथ्यो। शिक्षा, स्वास्थ्य, गाउँ, सहरको अवस्था यति नाजुक हुने थिएन। हामीमा पर्फेक्सनिस्ट (अब्बल नतिजा चाहने) दृष्टिकोण नै छैन। ‘चल्ता हे’ मानसिकता कति व्यापक छ भने कुनै पनि काम उत्कृष्ट बनाउने हाम्रो प्रयासको तह नै न्यून छ। न्यून तहको सोचाइमा दूरदृष्टि हुने कुरै भएन। चौतर्फी मापदण्ड न्यून राखेर देशलाई कसरी एसियाली मापदण्डमा पुर्‍याउने ?        समाज रूपान्तरण र देश निर्माणमा दूरदृष्टिको अभाव अशिक्षित न्यून आय भएका जनतामा होइन उच्च र मध्यमवर्गीय शिक्षित जनतामा हुने कमजोरी हो।

माथि उल्लिखित चार दुर्गुण समाज विकास क्रमका विविध पाटासँग जोडिएका छन्। तर ती सबैभन्दा बढी हाम्रो राजनीतिक स्तरसँगै जोडिएको छ। यो आलेखको सुरुतिर चर्चा गरिएजस्तै विडम्बनाचाहिँ के भने, राजनीतिक स्तर नसुध्रिएसम्म समाज स्तर सुध्रिँदैन र समाज स्तर नसुध्रिएसम्म राजनीतिक स्तर सुधार्न कठिन हुन्छ। लोकतन्त्र नभएका कैयन् विकासशील र विकसित देशमा समाज रूपान्तरणको थालनी राजनीतिक नेतृत्वबाट सुरु भएका प्रशस्त उदाहरण छन्। तर लोकतान्त्रिक शासन प्रणाली भएको देश हुनाले नेपालको हकमा सामाजको चेतनामा परिवर्तनका संकेत नदेखिएसम्म राजनीतिक रूपान्तरणको सम्भावना न्यून रहन्छ। अधिकांश अवस्थामा, भ्रष्ट, गैरजिम्मेवार, आडम्बरी र दूरदृष्टिहीन समाजले जानीनजानी आफैंजस्तो नेतृत्व चयन गर्छ।

त्यो दुष्चक्रबाट बाहिर निस्किने प्रयासको थालनी उच्च र मध्यमवर्गीय समाजका सदस्यबाटै हुनु नितान्त जरुरी छ। त्यो गह्रौं भारी आफ्नै जीवनको वजन धान्न धौधौ पर्ने विपन्नलाई बोकाउनु अन्याय हुनेछ। उच्च र मध्यम वर्गका हरेक नागरिकले त्यसका लागि सचेततापूर्वक प्रयास गर्नैपर्छ। कतिपयले भन्नेछन्- शिक्षा र आर्थिक स्तरमा सुधार नआई चेतना स्तरमा सुधारको अपेक्षा गर्नु कठिन हुन्छ। तर नेपालको हकमा हाम्रो विकासमुखी रूपान्तरणमा बाधा पुर्‍याइरहेका दुर्गुणको भागीदार अशिक्षित र विपन्न वर्ग होइनन्। गुणस्तरहीन शिक्षा र विपन्नतालाई अविकासको कारक मान्ने हो भने पनि तिनमा सुधार ल्याउन राजनीति नै सुधार्नुपर्छ। राजनीतिक सुधारको सम्बन्ध फेरि उच्च र मध्यमवर्गीय समाजसँगै गएर जोडिएको हुन्छ। तसर्थ उच्च र मध्यमवर्गीय नेपाली समाजको चरित्रमा परिवर्तन नआउने हो भने न हाम्रो राजनीतिक स्तरमा सहजै परिवर्तन आउनेछ न त नेपालको समाज नै सुसंस्कृत र विकसित हुनेछ। यो नयाँ वर्षले हामी सबैलाई ती दुर्गुणबाट मुक्त हुने चेतना र शक्ति प्रदान गरोस्।

मिश्र विवेकशील साझा पार्टीका संयोजक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.