केवलपुरमा ‘केवलपुरे किसान’को सम्झना
केवलपुर (धादिङ) : हलो क्रान्तिका नायक एवं जनकवि देवीप्रसाद पौडेल (केवलपुरे किसान)को ९४ औँ जन्मजयन्ती प्राध्यापक, सर्जक र स्रष्टाले धादिङको केवलपुरमै पुगेर मनाएका छन्। बाहुनले हलो जोत्नु हुँदैन भन्ने सामाजिकविरुद्ध २००६ सालमा धादिङको केवलपुर लामिडाँडामा हलो जोतेर हल्लीखल्ली मच्चाएका कविप्रति उनकै जन्मभूमीमा पुगेर स्मृति सभा आयोजना गरिएको हो।
धादिङ सिर्जना प्रतिष्ठानले किसानको ९४ औँ जन्मजयन्तीको अवसरमा धादिङको थाक्रेगाउँपालिका स्थित केवलपुरमै गाउँपालिकाको सहयोगमा स्मृतिसभा आयोजना गरेको थियो। काठमाडौंबाट बस नै रिजर्भ गरेर केवलपुरमा पुगेका वरिष्ठ साहित्यकार र प्राध्यापकले कवि किसानलाई गरिव जनता र किसानको आवाज कवितामार्फत् मुखरित गर्ने जनकविको रुपमा सम्झिए।
वरिष्ठ साहित्यकार नरनाथ लुइटेलले भने, ‘कवि किसानसँग मैले लामो समय उठबस गर्ने मौका पाएँ, एउटा निष्ठामा अडिग कवि, जनताका मन मतिष्कबाट कहिल्यै नहट्ने र गरिब जनताका आवाज लोकलय र झ्याउरे भाकामा बाहिर ल्याउने कविको रुपमा सम्झन्छु।’
झर्रा शब्दले शासकहरूलाई टर्रो प्रहार गर्ने उनले ‘बाहुनले पनि हलो जोत्न हुन्छ’ भन्ने सन्देश दिन आफैँले गोरु जोतेर २००६ सालमै सनसनी मच्चाएका थिए। काठमाडौंस्थित तीनधारा संस्कृत पाठशालामा पढ्दा भावी राजनीतिलाई दिशानिर्देश गर्ने ‘जयतु संस्कृतम’ को एक अभियन्ता पनि बने।
संस्कृत पाठशालामा नागरिकशास्त्र, विज्ञान, अंग्रेजी जस्ता विषय थप्ने मागबाट सुरु भएको विद्यार्थी आन्दोलन अन्ततः राणाविरोधी राजनीतिक आन्दोलनमा परिणत भयो, अरू धेरै विद्यार्थीसँगै उनी पनि पाठशालाबाट निकालिए र बनारस पुगे। अध्ययन पश्चात नेपाल फर्किएर किसान आन्दोलनमा समाहित भएका ‘किसान’ले बाहुनले हलो जोत्न हुन्न भन्ने मान्यताविरुद्ध आफैँले हलो जोतेपछि उनी रुढीवादी समाज वाटै निस्कासनमा परेका थिए।
भाषाविद एवं साहित्यकार गाउँले बलदेवले भने, ‘उनी किसानका कवि थिए। कृषिप्रधान नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा उनका कविता समर्पित भएका हुन्थे।’
केवलपुरे किसान धादिङ जिल्लाको मात्रै नभइ राष्ट्रकै अमुल्य सम्पति रहेकाले उनको जन्मस्थलमा शालिक र पुस्तकालय बनाउने धादिङको थाक्रे गाउँपालिकाले बताएको छ। थाक्रेगाउँपालिका अध्यक्ष रामकुमार आचार्यले भने, ‘नेपाली साहित्य र किसान आन्दोलनमा उहाँले पुर्याएको योगदानलाई भविष्यसम्म जीवन्त राख्नको लागि कवि किसान जन्मेकै ठाउँ केवलपुरमा हामी उहाँको सालिक र पुस्तकालय स्थापना गर्दैछाँै।’
किसानको लेखनी मुलतः दुःखी, गरिब जनताका समस्या, सरकारी बेथिति र रुढीवादको चित्रण गर्दै सामाजिक जागरणतर्फ केन्द्रित रहेको पाइन्छ। ठेट तथा झर्रो भाषमा कविता लेख्न रुचाउने कवि किसानका ‘बाघ आयो’, ‘नेपाल नछो’, ‘समातेर पछार’, ‘छिःछिः’, ‘बोको खस्यो’, ‘आँसुको पोखरी’ लगायत कविता संग्रह प्रकाशित छन् भने ‘केवलपुरेको आन्द्राभूँडि’ नामको सुन्ने कवितासंग्रह पनि छ।
विक्रम संवत १९८३ मा धादिङको केवलपुरमा जन्मेका कवि किसानको २०६८ असोज २२ गते निधन भएको थियो।