लिंगो जात्रा, बुढापाका भन्छन् : रोमाञ्चक भएन
भक्तपुर : आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्काअन्तर्गतको लिंगो जात्रा पहिलेजस्तो रोमाञ्चक हुन छाडेको छ। स्थानीय बुढापाकाले बिस्काको लिंगो जात्रा पहिलेजस्तो रोमाञ्चक नभएको गुनासो गरेका हुन्।
उनीहरुले बिस्काको लिंगो ठड्याउँदाभन्दा ढाल्दाको दिनको जात्रा एकदम रोमाञ्चक हुने बताए। स्थानीय रत्नबहादुर सुवालले पहिले लिंगो ढाल्नुअघि लिंगोलाई घन्टौं मान्छे उभिएर निदाउँदा कहिले यता कहिले उता ढल्किएझैं ढल्काइने सुनाए।
यसो गर्दा जात्रालुको शरीर पनि लिंगो सँगसँगै जाने भएकाले जात्रालु आफू रोमाञ्चित भएको महसुस गर्ने उनको भनाइ थियो।
‘लिंगो तानिँदा जतातिर बढी बल पर्छ, त्यतै ढल्छ कि जस्तो हुन्छ’, उनले भने, ‘त्यसपछि त्यतातिरकाले डोरी खुकुलो बनाउँछ। फेरि अर्को दिशामा बढी बल पर्छ र त्यतैतिर लिंगो ढल्ला कि जस्तो हुन्छ। यस्तो बेला लिंगो जताजता ढल्कियो, त्यतात्यता जात्रालुको शरीर जान्छ। जसले जात्रालुलाई रामोञ्चित बनाउँछ।’
लिंगोलाई ढाल्नुअघि यसरी कहिले यता कहिले उता गर्ने प्रक्रियालाई नेपालभाषामा न्ह्यः ब्वयकेगु (निन्द्रा लगाउने) भनिन्छ। तर आजभोलि न्ह्यः ब्वयकेगु हुन छोडेको भन्दै अर्का ज्येष्ठ नागरिक कृष्णबहादुर लोहलाले गुनासो पोखे।
उनले आजभोलिका युवाहरुलाई लिंगो ढाल्ने प्रक्रियाबारे सचेत गर्नुपर्नेमा जोड दिए। ‘आजभोलिका युवाहरुलाई कसरी लिंगो ढाल्ने भनेर सिकाउनुपर्ने भयो’, उनले गुनासो पोखे, ‘युवाहरुले पहिलेजस्तो अहिले लिंगोलाई न्ह्यः ब्वयकेगु नै गर्न बिर्से।’
विश्वनाथ हेर्न आएका थिए लिंगो जात्रा
ज्येष्ठ नागरिकहरुले लिंगो जात्रा हेर्दा रोमाञ्चित हुने भएकाले काशीबाट साक्षात विश्वनाथ हेर्न आएको तर्क गरे। जात्रा हेरेर रोमाञ्चक हुन नै काशीका विश्वनाथ लिंगो जात्रा हेर्न भक्तपुर पुगेको जनविश्वास रहँदै आएको छ।
काशीका विश्वनाथ भक्तपुरको लिंगो जात्रा हेर्न आएको यहाँका तत्कालीन एक राजतान्त्रिकले सुइको पाएपछि त्यसबेलाका राजालाई ‘यदि काशी विश्वनाथलाई नेपालमै राख्न सकिए यहाँ अन्नले धनधान्य हुने र कहिल्यै भोकमरी नहुने’ बताएका थिए।
तर सयौंको भीडमा काशी विश्वनाथलाई चिन्ने कसरी ? राजाले प्रश्न गरे। उक्त राजतान्त्रिकले विश्वनाथ सामान्य मानिसभन्दा अग्लो हुने जानकारी दिए।
हँसियाले काटिएको थियो विश्वनाथको शीर
सोही सल्लाहअनुसार काशी विश्वनाथलाई पक्रन खोजिन्छ तर काशी विश्वनाथले आफूलाई नियन्त्रणमा लिन आएको पत्तो पाउँछन्। नभन्दै उनी जमिनमुनि गडिँदै जान्छन्। त्यत्तिखेरै एक किसानले कम्मरमा बाँधिराखेको हँसिया झिकेर काशी विश्वनाथको शीर छेदन गर्छन्।
हँसियाले विश्वनाथको शीर छेदन गरिएकाले भक्तपुरमा हँसियाले मासु काट्नु हुन्न भन्ने प्रचलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।
उनका अनुसार छेदन गरिएको विश्वनाथको टाउको सातपटक सात ठाउँमा उफ्रिन्छ र आकाशवाणी हुन्छ। आकाशवाणीमा मलाई नेपालमै राख्ने हो भने सात वटा बाटो भएको केन्द्र भागमा मन्दिर बनाएर स्थापना गर भनिन्छ।
सोहीअनुसार हालको टौमढीमा भैरवनाथको मन्दिर बनाएर त्यहीं काशी विश्वनाथलाई स्थापना गरिन्छ। नभन्दै भैरवनाथ मन्दिर भएको ठाउँबाट भक्तपुरका विभिन्न टोल जाने सातवटा फरक फरक बाटो रहेका छन्।
यसरी काशी विश्वनाथको शीर नेपालमा र शरीर भारतमा रहेको विश्वास अद्यापि रहँदै आएको छ।
ढालियो ५५ हाते लिंगो
बिस्का जात्राको पाँचौं दिन आइतबार शान्तिपूर्ण रुपमा भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा ठड्याइएको ५५ हात लामो लिङ्गो ढालिएको छ। भैरव एवं इन्द्र देवताको प्रतीकस्वरुप योसिंखेलमा शनिबार ठ्डयाइएको उक्त लिंगो आइतबार आठवटा लामा डोरीले तानेर ढालिएको हो।
नयाँ वर्षको पूर्वसन्ध्यामा ठड्याइएको उक्त लिङ्गो जात्रा हेर्दा शत्रुनाश हुने जनविश्वास छ। त्यसैले यस लिङ्गो जात्रालाई शत्रुहन्ता जात्रासमेत भनिन्छ।
उक्त लिंगो ढाल्नुअघि भैरवनाथको रथमा भैरवको मूल देवता राखिएको थियो। त्यसलगत्तै लिंगोमा बाँधिएका आठवटा डोरी फुकाएर आठ कुना लगी तानिएको थियो। आठ दिशा जनाउने गरी आठ वटा डोरीबीच तानातान भएको लिंगो पश्चिमी दिशातर्फ ढलेको थियो।
लिंगो जात्रा सकिएलगत्तै योसिंखेलमा रहेका भैरवनाथ र भद्रकालीको रथ तानेर गःहिटी पुर्याइएर तीनपटक जुधाइएको छ। यस जात्रालाई स्थानीय नेपालभाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ। यसरी दुई रथ जुधाउनुलाई भैरव र भद्रकालीको समागम भएको प्रतीकको रुपमा लिइन्छ।
गःहिटीमा रथ जुधाइएपछि पाँचौं दिनको जात्रा पनि सम्पन्न भएको मानिन्छ। छैटौं दिन सोमबार मध्यपुर थिमी नपाको बोडेमा जिब्रो छेड्ने जात्रा र बालकुमारी, नगदेश र चपाचो क्षेत्रमा सिन्दूर जात्रा हुने चलन छ।