मेलाका लागि पूर्वाधार बनाउन माग
ललितपुर : ललितपुरमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलाका लागि उचित ठाउँको बन्दोबस्त मिलाउनुपर्नेमा ललितपुर उद्योग वाणिज्य संघले माग गरेको छ। पुल्चोकस्थित मदन स्मारकको प्रांगणमा मेला समापनको अवसरमा संघले संघ, प्रदेश र स्थानीय तहलाई सो विषयमा ध्यानाकर्षण गराएको हो। मेला चैत २७ गते सुरु भएको थियो।
यसअघि अधिकांश मेला, महोत्सव पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैंचामा हुने स्थानीयको भनाइ छ। मेला सञ्चालन भएको स्थानले पनि यस पटकको मेलामा नयाँपन दिएको मेलाका अवलोकनकर्ताको भनाइ छ। संघका अध्यक्ष कृष्णलाल महर्जनले भने, ‘विद्यालय वरपर पर्याप्त खुला ठाउँ भएकाले यो ठाउँ पनि मेलाको लागि उचित त छ, तर यसको सीमितता छ त्यसैले विद्यालय बन्द हुने समयमा बाहेक मेला गर्न नमिल्ने अवस्था छ।’ त्यसैले ठाउँको खाँचो रहेको विषयमा यस मेलाले सबैलाई ध्यानाकर्षण गराएको संघका अध्यक्ष महर्जनले बताए।
ललितपुर क्षेत्र नम्बर ३ की सांसद पम्फा भुसालले मेलाको ठाउँको प्रबन्धका लागि यथासक्य पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्। मेलाको उद्घाटनमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सो विषय जायज रहेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताएका थिए। मेलामा चीनमा उत्पादित दैनिक उपभोग्य, खेलकुदको सामग्री, भारत, पाकिस्तानका लत्ताकपडा, नेपाली हस्तकलाको सामानको उल्लेख्य बिक्री वितरण भएको बताइएको छ।
मेलामा तन्ना, लुगा, ब्लाकेट लगायतको कारोबार उत्साहजनक रहेको व्यवसायी बाबुराजा ज्यापूले बताए। संघका सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले पनि मेलामा अहिलेसम्मकै उल्लेख्य कारोबार भएको जानकारी दिए।