चौरी प्रवर्द्धनका लागि ५ लाख अनुदान
चरिकोट : चौंरीको व्यावसायिक प्रवर्द्धनका लागि शैलुङ चौंरीपालक समूहलाई शैलुङ गाउँपालिकाले ५ लाख अनुदान उपलब्ध गराएको छ। चौंरीपालन व्यवसाय र व्यवसायी घट्दै गएका बेला चौंरीको दुधबाट बन्ने विभिन्न परिकारलाई प्रोत्साहन गर्न गाउँपालिकाले लागत साझेदारी कार्यक्रमअन्तर्गत ५ लाख अनुदान उपलब्ध गराएको हो।
चौंरीपालन पेशाबाट मानिस विस्थापित हुँदै गएकाले यो पेशालाई प्रवर्द्धन गर्न गाउँपालिकाले चौंरीपालक समूहलाई अनुदान दिएको अध्यक्ष भरत दुलालले बताए। गाउँपालिकाका उच्च भूभागमा चौंरी पाल्ने गरिन्छ। शैलुङ क्षेत्रमा रहेका चौंरीपालक किसान समूहका ४ गोठमा अहिले एक सय २० भन्दा बढी चौंरी रहेको समूहका सदस्य फुर्वा तामाङले बताए। अहिले शैलुङ क्षेत्रमा फूर्वा तामाङ, कसबहादुर श्रेष्ठ, निमा तामाङ तथा ढालबहादुर तामाङले चौरीपालन व्यवसाय गरिरहेका छन्।
गाउँपालिकाले अनुदान दिएपछि आफूहरूले त्यसमा १० लाखभन्दा बढी रकम थप गरी उन्नत नश्लका ३० चौंरी सोलुखुम्बुबाट खरिद गरी ल्याएको फूर्वाले जानकारी दिए। एउटा चौंरी सोलुबाट शैलुङसम्म ल्याउँदा ५० हजारदेखि ५५ हजारसम्म पर्ने फूर्वाको भनाइ छ। गाउँपालिकाले गरेको सहयोगबाट पेशालाई निरन्तरता दिन उत्साह जागेको चौरीपालकको भनाइ छ।
अत्यन्तै पोसिलो मानिने चौंरीको दूधबाट प्रमुख रूपमा चीज, छुर्पी, घ्यूजस्ता दुग्धजन्य पदार्थको उत्पादन गरिन्छ। शैलुङका दुग्धजन्य उत्पादनको काठमाडौंको बजारमा ठूलो माग रहेको बताइन्छ। शैलुङका उच्च भूभागमा चौंरीपालनको सम्भावना ठूलो भएकाले व्यावसायिक पालन गर्नेलाई आगामी वर्षमा पनि गाउँपालिकाले मद्दत गर्ने क्रम जारी राख्ने अध्यक्ष दूलालले बताए।