जात्रै जात्रा

जात्रै जात्रा

भाइबहिनीहरू, नेपाल विभिन्न भाषाभाषी र जातजातिको देश हो। हरेक जातजातिका आ–आफ्नै नयाँ वर्षको परम्परा छ। त्यसमा आ–आफ्नै चाडपर्व र जात्रा छन्। यसपालि नयाँ वर्षको अवसरमा भक्तपुरमा मनाइने बिस्का जात्राको बारेमा केही जानकारी गराउँदै छु।

बिस्का जात्रा

बिस्का जात्रा नयाँ वर्ष आरम्भ हुनु चार दिन अगाडिदेखि मनाउने गरिन्छ। भैरवनाथ र भद्रकालीको रथ तानेर यो जात्रा सुरु हुन्छ। यो जात्रा लिच्छविकालदेखि नै चलिआएको मानिन्छ। वास्तवमा यो जात्रा नागनागिनीसँग सम्बन्धित छ। विःसितको अपभ्रंश भएर बिस्काहुन गएको मानिन्छ।

जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माण गरिएको हुन्छ। जसलाई भक्तपुरको टौमढीदेखि तल र माथि तान्ने गरिन्छ। माथिकाले माथि नै लान खोज्ने र तलकाले तल ल्याउन खोज्ने, रथको तानातान नै यस जात्राको मुख्य आकर्षण हो।

जात्राको चौथो दिन अर्थात् चैत्र मसान्तका दिन भेलुखेलस्थित योसिंख्यमा ५५ हाते लामो सल्लाको लिंगो उभ्याउने गरिन्छ। त्यसमा लगभग ४० हातका दुई वटा नागका स्वरूपको ध्वजा झुन्ड्याउने गरिन्छ। लिंगो उभ्याउने जात्राको लागि आठ वटा मोटो डोरी बाँधेर लिंगोलाई उभ्याइन्छ। जुन डोरीलाई अष्टमातृका (ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, वाराही, इन्द्रायणी, महाकाली र महालक्ष्मी) को प्रतीकको रूपमा लिइन्छ। त्यसै दिन भैरव र भद्रकालीको रथ भेलुखेलस्थित योसिंख्यमा पुर्‍याइन्छ।

पाँचौं दिनमा उक्त लिंगो ढालिन्छ। त्यसै दिन भैरव र भद्रकालीको रथलाई एकआपसमा जुधाइन्छ। यसलाई द्यो ल्वाकेगु (देवता जुधाउने) भनिन्छ। यसरी नवौं दिनसम्म बिस्का जात्रा मान्ने गरिन्छ।

ठिमी जात्रा

बिस्का जात्राको अर्को महत्त्वपूर्ण पक्ष भनेको भक्तपुरको ठिमीमा मनाइने बालकुमारीको खट जात्रा पनि एक हो। भक्तपुरको ठिमीमा मनाइने यो जात्रा चैत मसान्तबाट सुरु भई वैशाख २ गते सकिन्छ। यस दिन ३२ खटमा विभिन्न देवीदेवतालाई राखेर ठाउँठाउँमा परिक्रमा गराइन्छ। यो जात्रामा सिन्दूरको होली खेल्ने गरिन्छ। सिन्दूर र अबिरकै कारण मानिस राताम्मे हुन्छन्।

जिब्रो छेड्ने जात्रा

तिमीहरूले जिब्रो छेड्ने जात्राको बारेमा त सुनेकै होलाउ। यो जात्रा बोडेको प्रसिद्ध जात्रा हो। यस जात्रामा चार दिन पहिलेदेखि शुद्ध भएर नियममा बस्ने साहसी व्यक्तिको जिब्रोलाई सुइँरोले छेडिन्छ। ती ब्यक्तिले आठवटा बत्ती भएको खट बोकी ठिमीका विभिन्न ठाउँको परिक्रमा गर्छन्।

प्राचीनकालमा दैत्यहरूले ठिमीका बासिन्दालाई दुःख दिई तिनका बालबच्चालाई चोरेर लान्थे। एकदिन तान्त्रिकले सपनामा देवीको दर्शन पाएछन्। त्यहीअनुसार एक जना मानिसलाई जिब्रोमा छेड्न लगाई आठ बत्तीको ज्वाला भएको खट बोक्न लगाई सहर परिक्रमा गराएछन्। जसका कारण दैत्यहरू मानिस साह्रै बलवान् रहेछन् भन्ने ठानी त्यहाँबाट भागेछन्। यसैको सम्झनामा यो जात्रा मनाउने गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.