एउटै किताब सय पटक पढिसकेँ
मलाई किताब पढ्न धेरै मन लाग्छ। अहिलेसम्म करिब पाँच सयभन्दा बढी किताबहरू पढिसकेँ। कथा, उपन्यास, निबन्ध, जीवनीलगायतका जुन विधाका किताब पाए पनि पढ्ने मेरो बानी छ।
मैले धेरै मानिसका जीवनी पढिसकेँ। जसमध्ये आनीछोइङ डोल्मा, झमककुमारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बाराक ओबामा, नेल्सन मण्डेला, मलाला युसुफजाईलगायतका व्यक्तिको जीवनीबाट म निकै प्रभावित छु।
डिजिटलमै मज्जा
सबै किताब किनेर पढ्न सम्भव छैन। त्यसैले मैले धेरै किताबको डिजिटल संस्करण पढ्ने गरेको छु। ह्वाटप्याड, इंकिटलगायतका एप्सले पढ्ने सुविधा उपलब्ध गराएको छ। यस्ता एप्समा गएर हामीले छानीछानी हजारौं पुस्तक पढ्न पाउँछौं। यसरी पढ्दा हाम्रो अंग्रेजी भाषा पनि सुधार हुँदै जान्छ।
कहिलेकाहीँ नेपाली किताब पनि किन्न सकिएन भने त्यसको सारांश गुगलमा पढ्ने गरेको छु। त्यस्तै अडियो बुकहरू पनि डाउनलोड गरेर सुन्ने मेरो बानी छु।
६ कक्षादेखि पढ्न थालेँ
म सानैदेखि किताब पढ्थेँ। तर कक्षा ६ मा पुगेपछि अझै बढी पढाइमा रुचि जाग्यो। यस्ता विभिन्न एप्सहरू खोजी खोजी त्यहाँ भएका सामग्री पढ्न थालेँ। स्कुलमा कोर्सका किताबहरू पढ्ने र घर आएपछि बाहिरी किताबहरू पढ्ने गर्छु। राति सुत्नु अगाडि पनि करिब एक घण्टा पढ्ने मेरो बानी छ। बिहान पनि नियमितभन्दा एक घण्टा अगाडि उठेर पढ्न बस्ने गर्छु।
शनिबार नुवाएर घाममा बस्दा पनि किताब पढ्ने मेरो बानी छ। अल्छी लागेको बेलामा र अन्य समयमा मोबाइल चलाउनुभन्दा किताब हेर्ने वा मोबाइलमा पनि यस्ता एप्समा किताब पढ्न मन लाग्छ।
बाबामार्फत बढ्यो रुचि
मलाई पढाइमा रुचि बाबाका कारणले बढेको हो। जन्मेदेखि नै घरमा धेरै किताब देखेर म हुर्किएँ। एउटा किताब पढेर सकाउनेबित्तिकै बाबाले अर्को ल्याइदिनुहुन्थ्यो। पुस्तक प्रदर्शनीमा पनि बाबाले लिएर जानुहुन्छ। मेरो घरमा एउटा मिनी लाइब्रेरी बनाउन पुग्ने आफ्नै किताब छन्। एउटा ठूलो टेबुल भरिसकेको छ। कहिलेकाहीँ साथीहरूले मागेर पनि लान्छन्। कतिले दिन्छन्। दिन बिर्सनेलाई म आफैं सम्झाएर माग्ने गर्छु।
किताब उपहार
ममीबाबाका साथीहरूले मलाई धेरै किताब उपहार दिनुहुन्छ। मैले भने साना नानीबाबुहरूलाई चित्र कथाका किताब उपहार दिने गरेको छु।
यसरी बसाल्ने पढ्ने बानी
छोराछोरीमा पढ्ने बानीको विकास नहुनुमा गल्ती आमाबाबुकै हो भन्ने मलाई लाग्छ। सानैदेखि बच्चा रोयो भने उसको हातमा फोन थमाइदिने चलन छ। युट्युबमा ताराबाजी लगाएर बच्चा फकाउने गरिन्छ। सानैमा किताब दिँदा च्यातिदिन्छ भन्ने मानसिकता छ। जसरी फोनलाई सम्हालेर चलाउ भन्नुहुन्छ, त्यसरी नै किताबलाई पनि सम्हाल्नु भने बच्चाले किताब च्यात्दैनन्। त्यसैगरी छोराछोरीका अगाडि किताब ल्याएर थुपारिदिने र आफू फोन चलाएर बस्ने पनि गर्नु हुँदैन। सानैदेखि चित्रकथाको किताब पढेर बानी लगाउन सकिन्छ। त्यसैगरी किताब प्रदर्शनीमा लिएर गए उनीहरूले स्तरअनुसारको किताब किनेर खुसी हुँदै पढ्छन् भन्ने लाग्छ।
एउटै किताब धेरै दोहोर्याउँछु
अहिले म भागवत् गीता पढ्दैछु। बाबाममीका अनुसार यो पढ्यो भने बुद्धि बढ्छ रे। त्यस्तै भगवान्को बारेमा पनि थाहा पाइन्छ अनि इतिहास पनि बुझिन्छ। कहिलेकाहीँ बाबाले ४, ५ पेज पढ्दा मैले एक सिटिङमा पूरै किताब भ्याएको पनि छु। किताब पढेकोमध्ये धेरै बुझेको छु। नबुझे दोहोर्याइतेहर्याइ पढ्छु। धेरै चोटी पढेपछि कण्ठै हुन्छ। सुरेश प्राञ्जलीको तुइन सय पटक पढिसकेँ। यसका पूरै लाइन कण्ठ भइसके।
छुटाउनै नहुने यी किताब
गिजुभाइको किताबहरू, जापानी लेखिका तोतो चानको तेचुको कुरोयानागी आदि
(मोक्षदा स्कुल, कुमारीगालमा कक्षा १० मा पढ्ने युथिका खनालसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित )