केवलपुरे किसानको स्मरण : हलो जोतेर सनसनी
धादिङ : कवि केवलपुरे किसानले २००६ सालमा केवलपुर लामीडाँडामा हलो जोतेर सनसनी मच्चाए। त्यस बेला बाहुनले हलो जोत्न हुँदैन भन्ने मान्यता व्याप्त थियो। उनै सर्जकको ९४ औं जन्मजयन्ती जन्मथलो केवलपुरमा मनाइएको छ।
धादिङ सिर्जना प्रतिष्ठानले थाक्रे गाउँपालिकास्थित केवलपुरमा कार्यक्रम आयोजना गरेको थियो। काठमाडौंबाट आएका साहित्यकारले उनलाई किसानको आवाज कवितामार्फत मुखरित गर्ने जनकविका रूपमा सम्झिए। ‘उहाँसँग मैले लामो समय उठबस गर्ने मौका पाएँ’, साहित्यकार नरनाथ लुइँटेलले भने, ‘एउटा निष्ठामा अडिग, जनताका मनमतिष्कबाट कहिल्यै नहट्ने र गरिबको आवाज लोकलय र झ्याउरे भाकामा बाहिर ल्याउने कविका रूपमा सम्झन्छु।’
‘बाहुनले पनि हलो जोत्न हुन्छ’ भन्ने सन्देश दिन उनी आफैं अघि सरेका थिए। काठमाडौंस्थित तीनधारा संस्कृत पाठशालामा पढ्दा उनी ‘जयतु संस्कृतम’का एक अभियन्ता बने। नागरिकशास्त्र, विज्ञान, अंग्रेजीलगायत विषय थप्नुपर्ने मागसहित विद्यार्थी आन्दोलित भएका थिए। अन्ततः त्यो राणाविरोधी आन्दोलनमा परिणत भयो। धेरै विद्यार्थीसँगै उनी पनि पाठशालाबाट निकालिए। भारतको वनारस पुगे। अध्ययनपश्चात् उनी नेपाल फर्किएर किसान आन्दोलनमा लागे। बाहुनले हलो जोत्न हुन्न भन्ने मान्यताको विरोधमा उत्रिए। हलो जोतेपछि उनी सामाजिक बहिष्करणमा परे।
‘उहाँ किसानका कवि हुनुहुन्थ्यो’, भाषाविद् एवं साहित्यकार डा. गाउँले बलदेवले भने, ‘उहाँका कविता किसानमा समर्पित हुन्थे। उहाँका कविताले क्रान्ति गर्न उक्साउँथ्यो।’
जन्मस्थलमा सालिक र पुस्तकालय बनाउने योजना गाउँपालिकाले बनाएको छ। ‘नेपाली साहित्य र किसान आन्दोलनमा उहाँले पु¥याएको योगदानलाई जीवन्त राख्न सालिक र पुस्तकालय स्थापना गर्दै छौं’, गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले भने।
किसानको लेखनी गरिबका समस्या, सरकारी बेथिति र रुढिवादको चित्रण गर्दै सामाजिक जागरणतर्फ केन्द्रित पाइन्छ। उनका ‘बाघ आयो’, ‘नेपाल नछो’, ‘समातेर पछार’, ‘छिःछिः’, ‘संघर्षको ठीक गर’, ‘बोको खस्यो’, ‘आँसुको पोखरी’लगायत कविता संग्रह प्रकाशित छन्। ‘केवलपुरेको आन्द्राभुँडी’ नामको सुन्ने कविता संग्रह पनि छ। उनी १९८३ मा जन्मिएका थिए। २०६८ असोज २२ गते उनको निधन भएको थियो। उनको खासनाम देवीप्रसाद पौडेल हो।