एबीसीडी सिक्दै राउटे बालबालिका
सुर्खेतको लेखबेसी नगरपालिकास्थित रातेखोलाको राउटे बस्तीमा केही साताअघि पुग्दा अनौठो दृश्य देखियो। नदी किनारमा रहेको बालुवामाथि बसेर राउटे बालबालिका कखरा सिक्दै थिए। कोही गोलो घेरा बनाएर ‘कपुरी क’ भन्दै रमाइरहेका थिए। केही कापीमा लेख्दै पनि थिए। प्रायः आफ्नो मातृभाषामा बोल्ने उनीहरूले ‘एबीसीडी’ पनि सिक्दै थिए।
बस्तीमा पढ्दा आफ्ना बस्तीका मुख्य ब्यक्ति मुखिया रिसाउलान् कि भन्ने डर पनि रहेछ बालबालिकामा। त्यही डरका कारण बस्तीका सबै बालबालिका मिलेर बस्तीभन्दा केही टाढा भेरी नदीको किनारमा अक्षर चिन्ने प्रयास गरिरहेका थिए।
कुनै बेला बस्तीमा नयाँ मान्छे पुग्नेबित्तिकै राउटे बालबालिका त्रासले छाप्राभित्र पस्थे। आफ्नो समुदायभन्दा बाहिरका मानिससँग बोल्नसमेत डराउँथे। समयको गतिसँगै राउटे बालबालिकामा चेतनाको दियो बल्न थालेको छ। बाहिरी समुदाय सँगको घुलमिलसँगै उनीहरूमा पनि पढ्ने रहर जागेको छ।
‘हाम्रो मुखियाले थाहा पायो भने रिसाउँछ’, नदी किनारमा गोलो घेरा बनाएर साथीहरूसँगै पढ्दै गरेका राउटे बालक बिर्खबहादुर शाहीले भने, ‘मुखियाले नै नपढ भन्छन् तर हामी त अब पढ्न थालेका छौं।’ बिर्खको परिवारमा कसैले पनि पढेका छैनन्, पढ्दा पाप लाग्छ भन्छन्।
राउटे बालबालिकालाई अक्षर चिनाउन ‘सोसेक’ संस्थाले दुईजना शिक्षकको व्यवस्था गरिदिएको छ। शिक्षिकालाई बालबालिकाले ‘मास्टर्नी’ भनेर बोलाउँछन्। ‘मास्टर्नीसँग कखरा र एबीसीडी सिकिरहेका छौं, विस्तारै अंक पनि सिक्ने हो’, राउटे बालक बिर्खबहादुरले भने, ‘पढेर डाक्टर बन्ने हो, ड्राइभर बन्न पाए पनि हुन्छ।’
बालुवामा लडीबुडी गर्दै उनीहरू विभिन्न खेल खेलेर पनि रमाउने गरेका छन्। राउटे बालबालिकालाई पढाउने शिक्षिका दुर्गा खत्रीले उनीहरूको स्वभावमा परिवर्तन आएको सुनाइन्। उनले भनिन्, ‘उनीहरूमा सिक्ने इच्छा निकै बढेको छ, सरसफाइमा पनि ध्यान दिन थालेका छन्।’
राउटेहरू एकै स्थानमा बस्दैनन्। बारम्बार बस्ती सर्ने भएकाले पनि आफूहरू उनीहरूसँगै गएर बालबालिकालाई पढाउने गरेको शिक्षिका खत्रीले जानकारी दिइन्। राउटे बालबालिका पनि शिक्षक र शिक्षिकासँग घुलमिल हुँदै छन्। ‘अब राउटेलाई स्थायी रूपमा बसाल्नुपर्छ, यसले उनीहरूका बालबालिकालाई स्कुलमै पढाउने अवस्था हुन्छ’, खत्रीले भनिन्, ‘परिवर्तन विस्तारै सम्भव छ।’
पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जानबाट वञ्चित भएका राउटे किशोर दीपक शाही भन्छन्, ‘अब हामीले पनि पढ्नुपर्छ, नपढेर त जागिर नै पाइँदैन।’ दीपकले आफ्नो मुखिया बन्ने योजनासमेत रहेको सुनाए। उनले भने, ‘उमेर पुगेपछि म आफैं मुखिया बन्नेछु र बस्तीका सबैलाई स्कुलमा पढाउनेछु।’
राउटे बस्तीमा दिनहुँ नयाँ व्यक्तिहरू पुग्छन्। कोही राउटेसँग फोटो खिच्न त कोही उनीहरूको बारेमा बुझ्न। बस्तीमा पुग्ने हरेकसँग राउटे बालबालिका आफ्नो सपना सुनाउँछन्, ‘हामीलाई जागिर खाने रहर छ। स्कुलमा गएर पढ्न पनि मन छ।’ राउटे बालबालिकाको जागिर खाने सपना सुन्दा जोकोही नतमस्तक हुन्छन्।
अर्का किशोर राउटे दिशबहादुर शाहीले आफ्नो सपना सुनाउँदै भने, ‘अहिले त जंगलमा सिकार पाउन छोड्यो, जंगलमा हामीलाई काठ काट्न पनि दिँदैनन्। अब हामीलाई पढाउनु प¥यो, पढेर पुलिसमा जागिर खाने मन छ।’
यसरी राउटे बस्तीमा नयाँ पुस्ताले विद्यालयमा पढ्ने र जागिर खाने सपना बुनिरहेको छ। किशोर दीपकले थपे, ‘पहिला मुखियाले हामीलाई चप्पल त लगाउन रोक्थे, अहिले जुत्ता नै लगाउन थालेका छौं। दिन र समय फेरिएको छ, विस्तारै हाम्रो स्कुल जाने दिन पनि आएका छन्।’