पुरुष विदेशतिर, महिला गाउँकै कृषि पाठशालामा
अछाम : अछाम साँफेबगर नगरपालिका–५ नवाठानाकी कमला बुढा व्यवसायीक रुपमा तरकारी खेती गर्दैआएकी छन् । उनको परिवार तरकारीमै आत्मनिर्भर छ ।
तरकारी लगाउँदा कहिले पातलो कहिले बाक्लो हुने र उत्पादन पनि सोचे जस्तो हुँदैनथ्यो । तर, आजभोलि त्यस्तो छैन । आईपीएम कृषक पाठशालाबाट अहिले उनले आधुनिक तरिकाले तरकारी खेती गर्न थालेकी छन् ।
‘पहिले आफ्नै तरिकाले तरकारी लगाउथ्याैँ तर, अहिले तरकारी लगाउने तरिका सिक्यौँ, शत्रु र मित्र जीवलाई पनि चिन्यौँ’, कमलाले भनिन्, ‘जसरी बालबालिका विद्यालय गएर सिक्छन् अहिले हामीले पनि तरकारी कसरी लगाउने, उत्पादन कसरी बढाउने भन्ने बिषयमा यो पाठशालामा आएर सिक्न पाएका छौँ ।’
मंसिरदेखि सञ्चालन गरिएको जारीमखोला एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) पाठशाला सञ्चालनमा आएपछि नवाठानाका महिलाहरुलाई सहज भएको हो । यहाँका अधिकांश पुरुष रोजगारीका लागि भारत गएका छन् । गाउँका महिलाहरु भने तरकारी व्यवसाय मार्फत आत्मनिर्भर बन्न थालेका छन् । पाठशालामा सबै महिला कृषक नै छन् । २५ जनाको विभिन्न समुह बनाइएको छ । तरकारिमा चाहिने जैवीक मल उत्पादनदेखि गोडमेल, लगाउने तरिकाको विषयमा बारीमा नै गर्दै सिक्दै गरेको पाठशालाका अध्यक्ष तथा महिला कृषक अगुवा नरपता बुढाले बताइन् ।
उनी भन्छिन्, ‘अहिले एक रोपनी जमिन भाडामा लिएर बन्दा, काउली, प्याज, लसुन, टमाटर लगाएका छौँ । एउटामा परम्परागत र अर्काेमा आधुनिक व्याट भनेर विभाजन गरी तरकारी लगाएका छौँ ।’
पाठशाला सञ्चालनपछि स्थानीय महिलाहरु आधुनिक तरिकाले तरकारी लगाउने र यसबाटै व्यवसाय चलाउँदै आएका छन् । साँफेबगर नगरपालिकाका कृषि शाखाका सुरेन्द्र कुँवर एउटा कोठाभित्र तालिम दिएर सिकाउनु भन्दा यसरी नै पाठशाला सञ्चालन गर्दा कृषकहरुले छिटो र राम्रोसँग ज्ञान पाउने बताउँछन् । साथै पाठशाला सञ्चालनले महिला कृषकहरु निकै उत्साही बनेको उनी बताउँछन् ।