अन्धकारमा भोलिका कर्णधार
गत फागुनको अन्त्यतिर शिक्षण संस्थाहरू बन्द भए। जबकि देशका लागि सुधार गर्ने भन्दै हिँड्ने ती बन्दकर्ताले शिक्षामा सुधार नभएसम्म देशमा सुधार हुँदैन भन्ने कहिले बुझ्लान् ? हाम्रोजस्तो विकासोन्मुख मुलुकमा सबैभन्दा बढी बन्द–हडताल हुन्छ। तिनैको सिकार हुने गर्छन् विद्यार्थीहरू। आफ्ना माग पूरा गराउन कुनै पनि व्यक्ति, दल वा संस्थाले स्कुललाई असर पर्ने गरी बालबालिकाको पढ्ने, लेख्ने, हाँस्ने, खेल्ने, रमाउने अधिकारबाट वञ्चित गराएर उनीहरूको पढाइ तहसनहस गराउनु कदापि राम्रो होइन।
विकसित देशहरूमा शिक्षाको गुणस्तर राम्रो भएको होइन भन्ने कुरा बन्द–हडतालकर्ताका दिमागमा किन घुस्न नसकेको होला ? छयालीस सालको परिवर्तनपछि पटकपटक बन्द–हडताल भए विद्यार्थी संगठनबाट। त्यसले शिक्षा क्षेत्रमा दूरगामी असर पुर्याएको थियो भन्ने कुरा अहिले हामीले महसुस गरिररहेका छौं। अहिलेका बन्दकर्ताले विकसित देशहरू शिक्षा मात्र होइन, अन्य क्षेत्रमा अगाडि हुनुको कारण केके छन्, त्यसबारेमा बुझ्ने प्रयास किन हुँदैन ? विकसित देशमा आकस्मिक वा आपत्कालीन घटनाबाहेक उनीहरूका विद्यालय बन्द हुँदैन।
सरकारले शैक्षिक संस्थाहरूमा बन्द–हडताल गर्न नपाइने ऐन, नियम बनाएको छ, तर पनि यसलाई बन्द–हडताल गर्ने पक्षले बेवास्ता गर्दै आएको देखिन्छ। बालबालिकाको अधिकारको सम्मान गर्न, बालबालिकाको हित कायम गर्न बालबालिकासम्बन्धी ऐन २०७५ भदौ २ गते पारित भएको छ। त्यसैगरी नेपालको संविधान भाग ३ को धारा ३१ को उपधारा ५ मा नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायका बालबालिकालाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ भन्ने उल्लेख छ।
अहिले पनि बन्द–हडतालका कारण बालबालिका विद्या आर्जनबाट वञ्चित हुँदै आएका छन्। यस्तो विडम्बनापूर्ण अवस्थाले न बालबालिकाको शैक्षिक स्तर माथि उठ्छ न त देशले आर्थिक विकास गर्न सक्छ।
तर दुर्गमका स्कुलहरूमा पढ्ने बालबालिकाका लागि संविधान र कानुनमा उल्लेख भएका हक र अधिकारका बारेमा केही थाहा छैन। उनीहरू समयमा किताब पाउँदैनन्। उनीहरूसँग कापी, कलम किन्ने पैंसा हुँदैन। साथै कतिपय बालबालिका विभिन्न कारणले तल्लै कक्षामा स्कुल छोड्न बाध्य हुन्छन्। अर्कोतिर राजधानी तथा मुलुकका मुख्य सहरका स्कुलमा पढ्ने विद्यार्थीहरू भने बन्दको मारमा परिरहेका छन्। यसले उनीहरूको पढ्न पाउने अधिकारको हनन भएको छ।
अमेरिका, बेलायत, जापान, अस्टे«लिया आदि विकसित देशमा विद्यालय पढ्ने बालबालिकालाई गाली गर्नसम्म पाइँदैन। कसैले गाली गरेमा विद्यार्थीहरू सीधै प्रहरीलाई फोन गर्न सक्छन्। स्कुलमा पनि बालबालिकालाई सबभन्दा पहिला प्रहरीको फोन नम्बर लेख्न र पढ्न सिकाइन्छ। तर हाम्रा बालबालिका भने सहरका साँघुरा गल्लीका कारण बन्दको दिनमा पनि खेल्नबाट वञ्चित हुन्छन्। अहिले पनि बन्द–हडतालका कारण बालबालिका विद्या आर्जनबाट वञ्चित हुँदै आएका छन्। यस्तो विडम्बनापूर्ण अवस्थाले न बालबालिकाको शैक्षिक स्तर माथि उठ्छ न त देशले आर्थिक विकास गर्न सक्छ।
बन्दकर्ताका पनि छोराछारी हुन्छन्। बन्द–हडतालका कारण उनीहरू पनि पढ्नबाट वञ्चित हुन्छन्। कि उनीहरूका छोराछोरीले अर्कै देशमा पढ्न पाएका छन् ? महत्वपूर्ण कुरा आफ्ना बालबालिकाको पढ्ने अधिकार नखोसौं। विद्यार्थीलाई स्कुल जानबाट रोक्नुभन्दा पनि कसरी उनीहरूलाई स्कुल पढाउन सकिन्छ र स्कुलमा टिकाइराख्न सकिन्छ भन्नेमा जोड दिऔं। सबैले प्रण गरौं– शिक्षा क्षेत्रमा हुने बन्द–हडताल तुरुन्तै बन्द गरौं। बालबालिका भविष्यका कर्णधार हुन्। बन्द–हडताल गरेर बालबालिकालाई पढ्नबाट वञ्चित गरी उनीहरूको भविष्य अन्धकार नपारौं।