भैरहवा भन्सारमाथि अख्तियारको छानबिन
बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले भैरहवा भन्सारको गतिविधिमाथि छानबिन सुरु गरेको छ। अन्नपूर्ण पोस्ट्मा ‘भन्सारमा घुसको दररेट’ भन्ने समाचारको आधारमा अख्यितारले मंगलबारदेखि छानबिन सुरु गरेको हो।
अख्तियार बुटवलको टोलीले यात्रु कक्ष र सवारी सुविधा कक्षमा सेवाप्रवाहको विषयमा अनुगमन गरेको छ। अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले समाचार सूचनाका आधारमा अनुसन्धान थालिएको बताए। ‘अन्नपूर्णकै समाचारका आधारमा अनुसन्धान थालेका छौं, उनले भने, ‘केही कागजात र विवरण लिएका हौं।’
अख्तियारले भन्सारले पछिल्लो तीन दिनमा जारी गरेको प्रज्ञापन पत्र, तीन दिनको गाडी प्रवेश र बाहिरिएको विवरण लिएको छ। त्यस्तै तीन दिनको सीसीटीभी फुटेजसमेत मागिएको प्रवक्ता भुसालले जानकारी दिए। यि कागजातका आधारमा अनुसन्धान थालिएको उनले बताए।
अन्नपूर्ण पोस्ट्ले ‘अड्डामा अन्नपूर्ण’ अभियान अन्तगर्त भैरहवा भन्सार कार्यालयको रिपोर्टिङ गरेको थियो। सो क्रममा भन्सारमा दैनिक लाखौं घुसको लेनदेन हुने गरेको भेटिएको थियो।