राष्ट्रिय फुटबल : गण्डकीसँग कर्णाली ४-० ले पराजित
तौलिहवा : आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ। कपिलवस्तुमा सुरु भएको महिला राष्ट्रिय फुटबलमा गण्डकीले कर्णाली प्रदेशलाई ४-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
बुद्ध रंगशालामा बुधबार बिहान भएको खेलको १७ औँ मिनेटमा अग्रता लिएको गण्डकीले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गर्दै चार गोल गरेको हो।
पहिलो गोल जर्सी नम्बर ११ की मनिषा पंगेनीले गरेकी थिइन्। दोस्रो गोल २९ औँ मिनेटमा जर्सी नम्बर ९ की उद्या थापाले गरिन्। पहिलो हाफमा दुई गोल खाएको कर्णालीले दोस्रो हाफमा थप दुई गोल खायो।
दोश्रो हाफको पहिलो मिनेटमै गण्डकीकी जर्सी नम्बर ११ की ननिता गुरुङले गोल गरिन्। २९ औं मिनेटमा पहिलो गोल गरेकी थापाले ८१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै गण्डकीलाई ४-० को अग्रता दिलाइन्।
दबाबमा देखिएको कर्णालीले गोल गर्ने प्रयास गरे पनि फर्काउन सकेन। ननिता गुरुङ ‘म्यान अफ दि म्याच’ बनिन्। उनलाई जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष छविलाल रेश्मीले ट्रफी प्रदान गरे।
प्रतियोगिताको दोश्रो खेलमा बुधबार साँझ ४ बजे राष्ट्रिय टिमकी चर्चित खेलाडी सावित्रा भण्डारी संलग्न सशस्त्र प्रहरीको एपीएफले प्रदेश १ को सामना गर्नेछ।