पोर्चुगलमा निधन भएका युवाको रामघाटमा अन्त्येष्टि
स्याङ्जा : पोर्चुगलमा निधन भएका पुतलीबजार नगरपालिका-५ का २८ वर्षीय विदुर रेग्मीको मंगलबार साँझ कास्कीको सेतीनदीस्थित रामघाटमा अन्त्येष्टि गरिएको छ। निधनको ११ दिनपछि उनको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो।
मृतक रेग्मी स्याङ्जा क्षेत्र नं. १ कांग्रेस क्षेत्रीय सभापति एवं पुतलीबजार नगरप्रमुख उपविजेता तुलसीराम रेग्मीका एक मात्र छोरा हुन्। रेग्मीको चैत २३ गते ह्दयघातबाट पोर्चुगलमा निधन भएको थियो।
रेग्मी नेपाल विद्यार्थी संघको स्याङ्जा जिल्ला कार्यसमिति सदस्य हुन। उनी सन् २०१६ मा अध्ययनका लागि भन्दै पोर्चुगल गएका थिए।
रेग्मीको पार्थीव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पार्र्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिदै एक होनाहार, कर्मठ, कर्तव्यनिष्ठ युवालाई मुलुकले गुमाउनु पर्दाको पीडा व्यक्त गरे।
त्यसैगरी, केन्द्रीय सदस्य धनराज गुरुङ र प्रदीप पौडेल, संविधानसभा सदस्य राजु थापा, गण्डकी प्रदेशसदस्य भगवतप्रकाश मल्ल, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, कास्कीका सभापति कृष्ण केसी, स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीलगायत हजारौं शुभचिन्तकले अन्तिम श्रद्धान्जली दिएका थिए।