बाढीले पुल निर्माण सामग्री बगायो
स्याङ्जा : लगातारको वर्षापछि आएको बाढीले स्याङ्जा र पर्वत जोड्ने सेतीखोला मोटरेवल पुल निर्माण सामग्री बगाएको छ। असार मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण कार्य भइरहेको पुलको निर्माणा सामग्री बाढीले बगाउदा लाखौं रुपैयाँको क्षति भएको छ।
निर्माण सामग्री बाढीले बगाएपछि तोकिएको समयमा काम सम्पन्न नहुने चिन्ता बढेको निर्माण सेवाका प्रोपाइटर सुदन श्रेष्ठले बताए। मुक्तिनाथ निर्माण सेवा र सुयान बिल्डर्सको सहकार्यमा पुल निर्माण कार्य भरहेको छ। यो पुलले स्याङ्जाको गल्याङ् नगरपालिका र पर्वतको विहादी गाउँपालिकालाई जोड्ने छ। ३५ मिटर लम्बाई र ११ मिटर चौडाईको पुल पाँच करोड १२ लाखको लागतमा निर्माण सम्पन्न गर्ने योजना थियो।
‘पुल निर्माणमा प्रयोग हुने पम्प, मेसिन, गिट्टी बालुवा, हिमपाइप, काठ, जालीलगायतका सामाग्री बगाउदा झण्डैं ३५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ’, प्रोपाइटर श्रेष्ठले भने।
यो पुल निर्माणपछि पश्चिम स्याङ्जा र दक्षिण पर्वतका दर्जनौं वडाबासी लाभान्वित हुनेछन्।