बास्केटबलमा पुरुषतर्फ आर्मी र महिलामा पुलिसलाई स्वर्ण
दाङ : आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङमा भएको बास्केटबल प्रतियोगिताको बुधवार सम्पन्न फाइनलमा विभागीय टोलीले स्वर्ण जितेका छन्। महिला तथा पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलामा नेपाल पुलिस क्लब र पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले स्वर्ण पदक जितेका छन्।
दाङको घोराहीमा संचालित प्रतियोगिताको पुरुष फाइनल प्रतियोगितामा प्रदेश नं ३ लाई ५८ का विरुद्ध ७६ स्कोरले पाखा लगाउँदै डिफेन्डिङ च्याम्पियन आर्मीले स्वर्ण पदक हात पारेको हो। प्रदेश नं ३ ले रजत पदकमा चित्त बुझाएको छ।
बास्केटबलमा स्वर्णपदक विजेता आर्मी क्लबका खेलाडी। फोटोः अन्नपूर्ण
महिलातर्फको फाइनलमा साविक विजेता प्रदेश नं ३ लाई २९ का विरुद्ध ४५ स्कोरले स्तब्ध पार्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पार्न सफल भएको छ। पुलिससँग फाइनलमा पराजित प्रदेश नं ३ उपविजेतामा सीमित रहँदै रजत पदकमा चित्त बुझाउन बाध्य भयो। प्रतियोगिताको महिला तर्फ नेपाल आर्मी र पुरुष तर्फ नेपाल पुलिस क्लब तेस्रो भए भए।
बिहीबारदेखि एथ्लेटिक्स खेल
दाङको बेलझुण्डीमा बिहीबारदेखि एथ्लेटिक्स प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन विहान ७ बजे हुनेछ। बिहीबार १०० मिटर महिला/पुरुष हिट, ४१०० मिटर रिले हिट, एक हजार मिटर महिला/पुरुष फाइनल र सटफुट हुनेछ।