स्रष्टा सम्मानको रजत वर्ष मनाइने
काठमाडौं : साहित्यकला मन्दिरले स्रष्टा सम्मानको २५औं वर्ष पूरा गरेको अवसरमा स्रष्टा सम्मानको रजत वर्ष मनाउने भएको छ ।
कला मन्दिरले सर्जक–कलाकारहरूको सम्मानमा निरन्तर पुरस्कार प्रदान गर्दैआएको छ । यसअघि हुने विभिन्न सात सम्मानका अतिरिक्त यस वर्षदेखि कवि गोपालप्रसाद रिमालको नाममा ‘गोपालप्रसाद रिमाल काव्य सम्मान’ पनि सुरु गरिने कार्यालय सचिव राजकुमार अधिकारीले जानकारी दिए । कवि दिनेश अधिकारीलाई उक्त सम्मान प्रदान गरिने बताइएको छ ।
यस्तै मन्दिरले यस वर्ष आख्यानकार पद्मावती सिंहलाई गङ्गादेवी चौधरी स्मृति सम्मान, अग्रज साहित्यिक इतिहास–अनुसन्धाता मोदनाथ प्रश्रितलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारीलाई सरस्वती सम्मान, लोक तथा आधुनिक संगीतका साधक गणेश रसिकलाई नारायणगोपाल संगीत सम्मान प्रदान गरिने भएको हो ।
यस्तै, नेपाली चित्रकला क्षेत्रका साधक किरण मानन्धरलाई अरनिको ललितकला सम्मान, रंगमञ्च क्षेत्रकी अभिनेत्री भुवन थापा चन्दलाई बालकृष्ण सम रंग सम्मान र फरक क्षमता भएकी सृष्टि केसीलाई नेपाल नवप्रतिभा सम्मान दिने बुधबारको बैठकले निर्णय गरेको छ ।