एक करोड लगानीमा एग्रो फार्म
भक्तपुर : सूर्यविनायक नगरपालिका ८ सिपाडोलका पाँच युवाले एक करोड लगानीमा एग्रो फार्म सञ्चालनमा ल्याएका छन्। डोर्लाङमा नौ रोपनी जमिन भाडामा लिएर उनीहरूले व्यावसायिक रूपमै पशुपंक्षी तथा तरकारी खेती सुरु गरेका हुन्।
विश्वराम थापा, सानुकान्छा तामाङ, रेणु तामाङ, केशवराज भट्ट र महेन्द्र थापाले संयुक्त लगानी गरेर डोलेश्वर बहुउद्देश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका हुन्। फार्ममा अहिले खसी, बाख्रा, लोकल जातका कुखुरा पाल्न सुरु गरिएको सञ्चालक थापाले जानकारी दिए। उनले व्यावसायिक तरकारी खेतीसमेत सुरु गर्ने तयारी अघि बढाइएको बताए। ‘अहिले फार्म ६० वटा खसी र बोका राखिसकेका छौं’, उनले भने, ‘यो संख्या क्रमशः बढाउँदै लाने तयारी गरेका छौं।’
उनका अनुसार फार्ममा स्थानीयसँगै उन्नत जातका खसी र बाख्रा पालिएका छन्।
खसीका लागि प्राकृतिक चरण क्षेत्रको समेत व्यवस्था गरिएको छ। चरण क्षेत्रभन्दा बाहिर नजाओस् भनेर चारैतिर बाँसका भाटाले बारिएको छ। फार्ममा सुरुमा एक सयवटा उन्नत लोकल कुखुरा पालिएको छ। खुमलटारबाट ल्याइएका ती कुखुरा विशेषतः लोकल अन्डाका लागि पाल्न लागिएको अर्का सञ्चालक सानुकान्छा तामाङ बताउँछन्। खसीबाख्रा र कुखुराको खोरलगायतका भौतिक पूर्वाधार बनाउन दस लाख खर्च भएको उनले बताए। उनका अनुसार नौ रोपनी क्षेत्रफलमध्ये आधामा बेमौसमी तरकारी खेतीका लागि तयारी अघि बढाइएको छ।
‘परि श्रम गरे स्वदेशमै बसेर मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न व्यावसायिक एग्रो फार्म सुरु गरेका हौं’, उनी भन्छन्, ‘पैसै कमाउने हो भने विदेश जानुपर्दैन।’