जात्रामा बढ्यो जबरजस्ती (फोटो फिचर)
भक्तपुर : आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्रामा जबरजस्ती बढेको भन्दै बुढापाकाहरूले गुनासो पोखेका छन्। बिस्का जात्राको मुख्य आकर्षणको रुपमा रहेको भैरवनाथको रथ जबरजस्ती तान्ने प्रवृत्ति बढेको भन्दै उनीहरूले गुनासो पोखेका हुन्।
जसरी पनि रथमात्रै तान्ने प्रवृत्तिले बिहीबार बिस्का जात्राको अन्तिम दिन भैरवनाथको रथ ठीक ठाउँमा राख्न नै घन्टौं लगाए। रथलाई गःहिटीबाट तानेर पाँचतले र भैरवनाथको मन्दिर परिसर टौमढी पुर्याइएपछि अन्तिम दिनको जात्रा सम्पन्न भएको मानिन्छ। तर बिहीबार टौमढी पुगेको रथबाट भैरवनाथ र बेताललाई झिक्न नदिई जात्रालुले तलमाथि जबरजस्ती तानिरहेका थिए।
रथ टौमढीस्थित दबूको ढुंगामा ठोक्किँदासमेत रथ तान्न छोडिएन। जात्राको विधानअनुसार रथको अगाडि ६ र पछाडि चारवटा लामो डोरीले रथ तानिन्छ तर बिहीबार रथको पछाडि लिंगो तानिएर भण्डारमा राखिएका तीनवटा डोरी थपिएको थियो।
बिस्का जात्राको अन्तिम दिन भैरवनाथको रथ तान्न इसारा गर्दै मूल भैरव नाइके लक्ष्मीभक्त घेमोसू। फोटो : ईश्वरकाजी खाइजू/अन्नपूर्ण
तैपनि क्याफे ङातापोलभन्दा अगाडि रथ लान सकिएन। अगाडिपटिट् तान्नेहरूले रथलाई भैरवनाथ मन्दिरको दायाँ पुर्याएर भैरवनाथ र बेताल निकाल्न नपाउँदै पुनः पछाडिपट्टि तान्नेहरूले रथलाई गःहिटीतर्फ लगिहाल्थे। यसरी भैरवनाथको रथलाई दर्जनौंपटक कहिले यता कहिले उता ओहोरदोहोर गराइएको थियो।
बुढापाकाहरूले भने गःहिटीबाट तानिएको रथ टौमढी पुगेपछि जात्रालुले तान्न छोड्नुपर्नेमा बिहीबार नछोडिएको भन्दै आक्रोशसमेत पोखे।
‘हाम्रो पालामा गःहिटीबाट तानेर रथ टौमढीमा पुर्याउँथ्यौं’, स्थानीय ७० वर्षीय विष्णुकुमार सुवालले भने, ‘अहिले त घरमा ठोकियोस् कि पेटीमा खालि जबरजस्ती रथ तान्ने प्रवृत्ति बढ्यो। रथ गन्तव्यमा पुग्दा पनि तान्न छोडिएन।’
उनले पहिले रथ तान्दा अगाडि र पछाडि समन्वय र सहकार्य हुने गरेको सुनाए। जसले गर्दा रथ घरमा ठोकिन नपाउनेमात्रै होइन रथसमेत बिग्रन नपाउने उनको भनाइ थियो।
बिस्का जात्राको अन्तिम दिन भैरवनाथको रथ तान्दै जात्रालु। फोटो : ईश्वरकाजी खाइजू/अन्नपूर्ण
का अनुसार त्यसबेला रथमा किलाकाँती, फलामे तारलगायत कुनै प्रयोग हुँदैनथ्यो। काठैकाठले बनाइने रथलाई काठकै चुकुलले बलियो बनाउँथ्यो, निगालोका ससाना भाटाले बाँधिन्थ्यो। जसले गर्दा नौ दिन जात्रा गरिँदा पनि रथ त्यति बिग्रन नपाउने उनको भनाइ थियो।
‘तर अहिले रथभरि किलाकाँटी, फलामका तार प्रयोग गरेर रथ बलियो बनाउँदा पनि जात्रामा रथ सद्दे हुँदैन’, उनले थपे, ‘रथ जति बलियो बनाउन खोज्यो त्यति नै जबरजस्ती तान्ने प्रवृत्ति बढेको छ।’
अर्का स्थानीय ६८ वर्षीय कृष्ण छुकांले पहिले भैरवनाथको रथ अहिले जस्तो जथाभावी नतानिने सुनाए। ‘जात्राको परम्पराअनुसार जहाँ लानुपर्ने हो, अगाडि र पछाडिका जात्रालु मिलेर रथलाई गन्तव्यमा पुर्याइन्छ’, उनी थप्छन्, ‘बाटो सीधा नभएकाले रथ ठोक्किन सक्ने भएकाले अगाडि र पछाडि तान्न डोरी राखिएको हो। जबरजस्ती एकातिरमात्रै तानेर लान डोरीको व्यवस्था गरिएको होइन।’
सकियो बिस्का जात्रा
भैरवनाथको रथमुनि बसेर रथ घचेट्दै जात्रालु। फोटो : ईश्वरकाजी खाइजू/अन्नपूर्ण
भैरवनाथको रथ तानेर गएको चैत २७ गते सुरु गरिएको बिस्का जात्रा सोही रथ तानेर बिहीबार सम्पन्न गरिएको छ। गःहिटीमा रहेको रथ टौमढीस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसर पुर्याइएपछि बिस्का जात्रा सम्पन्न भएको मानिन्छ।
टौमढी पुगेको रथबाट भैरवनाथ र बेताललाई झिकेर भैरवनाथ मन्दिरमा विराजमान गराइन्छ। त्यसैले बिस्काको अन्तिम दिनलाई द्यः थहाँ बिज्याइगु (देवता माथि सवारी हुने) जात्रा भनिन्छ।
बिस्का जात्रा शान्तिपूर्ण
भैरवनाथको रथको अजंगको काठको पांग्रा घचेट्दै जात्रालु। फोटो : ईश्वरकाजी खाइजू/अन्नपूर्ण
यस वर्षको बिस्का जात्रा अन्तिम दिनसम्म शान्तिपूर्ण रहेको छ। यस वर्ष कुनै किसिमको झैझगडा भएर इँटा तथा ढुंगा हानाहानसमेत भएन।
बिस्का जात्रा शान्तिपूर्ण बनाउन जात्रा हुने स्थलमा प्रहरी प्रशासन र भक्तपुर नगरपालिका मिलेर ४२ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ। प्रहरी प्रशासनले उक्त क्यामेराको आधारमा जात्रा बिथोल्नेहरूलाई पक्राउ गरी कारबाही गर्ने बताएको थियो।
होस्टे : बिस्का जात्राको अन्तिम दिन भैरवनाथको रथ तान्न जात्रालुलाई हैसेमा होस्टेको आवाज दिँदै जात्रालु। फोटो : ईश्वरकाजी खाइजू/अन्नपूर्ण