कर्णालीको पोस्टमा एपीएफको २३ गोल ! दुईजनाको डबल ह्याट्रिक
तौलिहवा : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एपीएफले कर्णाली प्रदेशको पोस्टमा २३ गोल गरेको हो। कपिलवस्तुको बुद्धरंगशालामा जारी महिला राष्ट्रिय फुटबलमा बिहीबार एपीएफले कर्णालीको पोस्टमा गोल वर्षा गरेको हो।
एपीएफलाई जिताउन २ खेलाडीले डबल ह्याट्रिक गरे। जर्सी नम्बर ९ की सावित्रा भण्डारी (साम्बा) ले ७ गोल गरिन् भने जर्सी नम्बर १० की अनु लामाले ६ गोल गरिन्।
खेल सुरु भएको तेश्रो मिनेटमा जर्सी नम्बर १६ की मञ्जु डोङबाट खाता खोलेको एपीएफले ९० मिनेटमा २३ गोल गरेको हो। खेलको सातौँ, आठौँ र नवौँ मिनेटमा अनिता बस्नेत, सावित्रा भण्डारी र रेनुका नगरकोटीले एक-एक गोल गरे। पन्ध्रौँ र अठारौँ मिनेटमा पुनः भण्डारी, जर्सी नम्बर ७ की रेनुका नगरकोटीले व्यक्तिगत दोश्रो गोल गर्न सफल भए।
खेलमा ६ गोल गरेर म्यान अफ दि म्याच बनेकी जर्सी नम्बर १० की अनु लामाले २३ औँ मिनेटमा गोल गर्दै खाता खोलिन्। यस्तै अनिता केसीले ४१ औँ र ४२ औँ मिनेटमा २ गोल गरिन्। पहिलो हाफ सकिन १८ मिनेट बाँकी हुँदासम्म एपीएफले थप ६ गोल गर्दै गोलको संख्या १३ पुर्याएको थियो।
दोश्रो हाफमा थप १० गोल भयो। दोस्रो हाफको ३ मिनेटमै एपीएफले २ गोल गर्यो। अनु लामाले एक्लै पाँच गोल गरिन्। उनले ५१ औँ, ५७ औँ, ६२ औँ, ६७ औँ र ७४ औँ मिनेटमा गोल गर्दे डबल ह्याट्रिक गरिन्।
यस्तै ४६ औँ मिनेटमा सावित्रा भण्डारी गोल गरिन् भने ४८ औं मिनेटमा मञ्जु डोङले दोस्रो गोल गरिन्। भण्डारले ८० र ८२ औँ मिनेटमा गोल गर्दै डबल ह्याट्रिक पुरा गरिन्। खेल मैदानमा जर्सी नम्बर र ९ की भण्डारी, १० कि लामा, ११ की बस्नेत र १४ की केसीले सबै दर्शकलाई आकर्षित गरेका थिए।
एक पटक पनि कर्णालीको पोस्टमा बल पुर्याउन नसकेको कर्णालीको यो दोस्रो हार हो। दोस्रो जितसँगै एपीएफ ६ अंकसहित शीर्ष स्थानमा छ।