धान खेतमा तरकारी
कालिकोट : शान्नित्रिवेणी–२ का अलीबहादुर विष्टलाई अहिले काँक्रा बिक्री गर्न भ्याइ–नभ्याइ छ। बर्खामा मात्रै तरकारी फल्ने यस क्षेत्रमा सडक सञ्जाल जोडिएसँगै विष्टले बेमौसमी तरकारी फलाएर मनग्ये आम्दानी गर्न थालेका छन्।
उनी प्रायः हरेक दिन कर्णाली करिडोरसँग जोडिएको कोट बजारस्थित सडक छेउमा रहेको होटलमा खाना नास्ताका साथै काँक्रा बिक्री गर्दै आएका छन्। चार रोपनी जग्गामा लगाइएको व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको उनी बताउँछन्। कमाइका लागि कालापहाड जाने गरेको विष्ट घरमै तरकारीबाट मनग्ये आम्दानी हुन थालेपछि होटल व्यवसायीसँगै तरकारी बिक्रीमा लागेका हुन्।
‘अहिले दैनिक ५० किलो आफ्नै बारीको काँक्रा बिक्री गरिरहेको छु, अन्नबालीभन्दा तरकारी खेतीबाट चार गुणा बढी आम्दानी लिन सकिने भएपछि १० वर्षदेखि यसैमा संलग्न छु’, उनले भने। एक सिजनमा तरकारी बिक्रीबाटै उनले ७०–८० हजार रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको बताए।
उनी गाउँपालिकामै अगुवा कृषकका रूपमा परिचित छन्। गड्यौलाको मल उत्पादनसमेत गर्ने विष्टले त्यही मल प्रयोग गरेर अर्गानिक तरकारी फलाइरहेका छन्। उनी मात्र होइन, कर्णाली करिडोरसँग जोडिएका कालिकोटका धेरै किसान धान, मकै र गहुँ खेती छाडेर तरकारी खेतीप्रति आकर्षित भएका छन्। सहास नेपाल नाम संस्थाले बेमौसमी तरकारी खेतीका लागि हरेक किसानलाई प्लास्टिक घरसहित बीउ सहयोग गरेदेखि परम्परागत खेती छाडेर तरकारी उत्पादनमा लागेका हुन्।
मकै र धानखेती छाडेर व्यावसायिक तरकारी खेतीमा संलग्न भएसँगै नुन, तेल किन्नकै लागि ऋण गर्नुपर्ने अवस्था अन्त्य भएको कृषक थुमा विष्टले बताइन्। उनले धान, गहुँ लगाउँदा घरमा खान नपुग्ने स्थितिबाट अहिले तरकारीले घरखर्च चलाउनसमेत मद्दत पुगेको दाबी गरिन्। सुक्खा मौसम भए पनि अहिले शान्नित्रिवेणीका कृषकका बारीमा आलु, टमाटर, गोभी काउली, खुर्सानी, सिमी, बोडी, गोलभेंडालगायका थुप्रै तरकारी लटरम्म फलेका छन्।
रोगको संक्रमण धेरै हुने भएकाले बाली जोगाउन पनि मुस्किल हुने किसानको गुनासो छ। स्थानीय तहमा समस्या समाधानका लागि अनुरोध गरे पनि गाउँपालिकाको कृषि शाखाले भने वास्ता नगरेको उनीहरूले बताए। गाउँपालिका उपाध्यक्ष होइजा बुढाले कृषकको तरकारी बालीमा देखिएको समस्या समाधानका लागि कृषि शाखामा कार्यरत कृषि प्राविधिकलाई तुरन्त खटिन निर्देशन दिएको बताइन्। उनले नगदेबाली उत्पादन गरी आयआर्जन गरिरहेका कृषकलाई गाउँपालिकाले पनि विशेष सहयोग हुने उल्लेख गरिन्।