म किसानको छोरो
बादलभन्दा अझ धेरै तल
धेरै मुनि
सल्लाको रूखले छोपिएको
पहाडको थुम्कोको छेवैमा
हङकङ सहरको
उपल्लो छेउको
समुद्रमाथि
अजङ्गको पानीजहाजमा
बाबा तैरिएका थिए
आमा तैरिएकी थिइन्, म तैरिएको थिएँ
हामी रमाएका थियौं
फोटो खिचेका थियौं ।
वर्षौंपछि आज म
यही हङकङ सहरको
त्यही सागर किनारामा
घुम्दै फिर्दै
आइपुगेको छु
आकाश उही छ
बादल उही छ
सल्लाको रूख छ, पहाड छ
समुद्र छ, जहाज छ
म छु, फोटो छ
तर
बाबा छैनन्, आमा छैनन् ।
मैले आकाशतिर हेरेर
ठूलो स्वरले सोधेँ
खोइ त मेरा बाबा आमा ?
पहाडको थुम्को नाजवाफ उभिइ मात्र रह्यो
सल्लाको रूख सुसाइ मात्र रह्यो
समुद्र छचल्की मात्र रह्यो
पानीजहाज एकोहोरो हिँडिरह्यो
फोटोले हेरी मात्र रह्यो ।
सायद मेरो पुकार
आकाशले सुनेछ क्यारे
मलाई आकाशवाणी भयो
उः हेर तिम्रा बाबा आमा
बादलुको पोल्टामा ।
मैले माथितिर हेरेँ
नभन्दै बादलको डंगुरको बीचमा
मैले बाबा देखेँ
मैले आमा देखेँ ।
मैले पनि कस्तो बिर्सिएको
ख्यालै नगरेको !
वर्षौं पहिले पालै पालो
बाबा र आमा
आर्यघाटको किनारमा
आफ्नो अन्तिम चिनु
एक एक अँजुली खरानी
मेरो हातमा थमाइ दिएर
आफूहरू चाहिँ
धुवाँको मुस्लो बन्दै
बाबा बादलतिर लागेका थिए
आमा पनि बादलतिरै लागेकी थिइन् ।
त्यसैले
आजकाल म, आक्कलझुक्कल
फुर्सद निकालेर
यही सागर किनारमा टोलाउँछु
आकाशतिर हेर्छु
सम्झिन्छु, कल्पिन्छु
अतीतमा हराउँछु
बाबालाई बादलको बीचमा हेर्छु
आमालाई बादलको बीचमा हेर्छु
कुरा गर्छु
नियास्रो मेटाउँछु
बस् नियास्रो मेटाउँछु !
(पिता केवलपुरे किसानप्रति समर्पित)