मोदीलाई जिताउँदा बलिउड हार्ने हो कि !

मोदीलाई जिताउँदा बलिउड हार्ने हो कि !

अंग्रेजी बर्षको पहिलो हप्ता मुम्बईबाट दिल्लीका लागि एउटा प्राइभेट जेट उड्यो। यो जेटमा सवार थिए रणवीर सिंह, रणवीर कपुर, बरुण धवन, राजकुमार राव, आलिया भट्ट, भूमि पेडेनेकर जस्ता नयाँ पुस्ताका कलाकार। र जेटको गन्तव्य थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निवास। 

निर्माता -निर्देशककरण जौहरले नेतृत्व गरेको यो टोलीले मोदीसँग ‘गु्रपफी’ खिच्यो र मोदीको फिल्मप्रतिको चासोलाई ‘धन्य’ मान्दै सामाजिक सञ्जालमा कृतज्ञता व्यक्त गर्‍यो।मोदीले नयाँ पुस्ताका फिल्ममेकरलाई राष्ट्रियता र संस्कार, संस्कृति झल्काउने फिल्म खेल्न-खेलाउन सुझाव दिएको पनि समाचारमा हेडलाइन बने।

भारतमा १७ औं लोकसभा चुनावको दुई हप्ताअघि चुनावी दौडधुपका बीच पनि मोदी ट्वीटरमा सक्रिय थिए। उनले बलिउडका लगभग सबै ठूला कलाकारलाई मेन्सन गर्दै जनतालाई चुनावमा भोट हाल्न अभिप्रेरित गर्न आग्रह गरिरहेका थिए। सलमान खान, आमिर खान, शाहरुख खान, अक्षय कुमार कोही अछुतो थिएनन् जसले मोदीको ट्वीटर हयान्डलबाट चुनावको सूचना नपाएका हुन्।

मोदीले आफ्नो चुनावी अभियानमा बलिउडलाई कसरी प्रयोग गर्न खोजिरहेका छन् बुझ्न माथिका दुई दृष्टान्त काफी छन्।तर, चुनाव जित्न बलिउडलाई प्रयोग गर्ने उनको सोच कलाकारसँगको व्यक्तिगत वा भर्चुअल भेटमा मात्र सीमित छैन, फिल्मलाई सबैभन्दा ठूलो हतियार बनाएका छन्।६ महिनायता रिलिज भएका केही फिल्मले मोदीको त्यो अभिष्ट ऐना झैं बयान गर्छन्।

मोदीले सन् २०१४ मा दुई कार्यकाल सत्तामा रहेको भारतीय कंग्रेसलाई धुलो चटाउँदै चुनावमा अभूतपूर्व जीत हासिल गरेका थिए। तर, जनतासँग वाचा गरेका विकास र रोजगारीको क्षेत्रमा ठोस काम गर्न नसक्दा गाउँका मानिस मोदीसँग रुष्ट छन्।  
चतुर मोदीले कलाकारलाई मरिहत्ते गर्ने यिनै गाउँलेलाई रिझाउन फिल्म र कलाकारको सरोबरी प्रयोग गर्ने रणनीति बनाएका छन्। मोदी केन्द्रमा रहेका तीन फिल्म चुनावको छेको पारेर रिलिज हुनुले उनको यही मनसाय बयान गर्छन्। 

दुई महिना पहिला रिलिज भएको ‘उरी’ भारतमा सबैभन्दा मुनाफा आर्जन गर्ने उत्कृष्ट फिल्म भित्र पर्न सफल भयो। यो फिल्म रिलिज लगत्तै मोदी सरकारकी रक्षामन्त्रीले यो फिल्मका कलाकारलाई भेटिन्। मोदी स्वंयले यो फिल्मको एउटा संवाद कलाकारको भेटमा प्रयोग गरे, ‘हाउ इज दि जोस ?’ कलाकारले सामूहिक रुपमा भने, ‘हाइ सर।’ 

यो भिडमा ‘उरी’का मुख्य कलाकार विक्की कौशल पनि थिए।मोदी मन्त्रिमण्डलका मन्त्रीले पनि बारम्बार यो संवाद प्रयोग गर्ने गरेका थिए। इतिहासकार भन्छन्, ‘फिल्मको संवाद प्रधानमन्त्री र उनका मन्त्रीले यसरी बारम्बार उच्चारण गरेको यो पहिलो अवसर हो।’

‘उरी’ भारतीय सेनाले पाकिस्तानमा सन् २०१६ मा गरेको सर्जिकल स्ट्राइकमा आधारित छ। ४ जना आतंकवादीले काश्मिरमा भारतीय सेनाको क्याम्पमा पसेर गरेको आत्मघाती हमलामा १७ जना भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसको ११ दिनपछि भारतले  सर्जिकल अट्याक गरेको थियो जसमा सयौं आतंकवादीको मृत्यु भएको थियो। 

फिल्मले सर्जिकल अट्याकका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र मोदीको भूमिका कति महत्पवूर्ण थियो भनेर देखाएको छ।

मोदी सरकारको देशभक्ति बयान गर्ने ‘उरी’ रिलिज भएकै दिन भारतमा अर्को फिल्म रिलिज भएको थियो जसको नाम थियो ‘एक्सिडेन्डल प्राइमिनिस्टर’। मोदीका पूर्वाधिकारी मनमोहन सिंहको जीवनीमा आधारित भनिएको फिल्मले भने ठिक उल्टो काम गथ्र्यो, सिंहलाई कमजोर देखाउने। 

छोटो समय सिंहकै मिडिया सल्लाहकार रहेका संजय बारुको किताबमा आधारित फिल्मले भने न्युक्लियर र कश्मिर मुद्दामा सरकारले असंवैधानिक काम गरेको जस्ता तथ्यहीन कुरालाई समटेको थियो। लोकसभा चुनावको सरगर्मीबीच यस्तो फिल्म रिलिज गर्नुको मतलब थियो, कंग्रेसलाई भोटरबीच निकम्मा देखाउने। 

अझ फिल्ममा मनमोहन सिंहको भूमिकामा अनुपम खेरको उपस्थिति र बिजेपीको ट्वीटर ह्यान्डलबाट फिल्मको ट्रेलर सेयर भएपछि त फिल्म राजनीतिक प्रोपोगान्डाका लागि बनाइएकोमा कुनै शंका रहेन।

जानकारका अनुसार मोदीले आफू र आफ्नो सरकारलाई सही र अरुलाई गलत देखाउन फिल्मलाई ढाल बनाउने काम दुई बर्षअघि नै सुरु गरेका थिए। पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको इमर्जेन्सीलाई पृष्ठभूमिमा राखेर बनाइएको ‘इन्दु सरकार’ यसको सुरुवात थियो। 

सन् २०१७ मा रिलिज भएको मधुर भण्डारकर निर्देशित यो फिल्मले पनि कंग्रेसको इमेज राम्रैसँग खुइल्याउने कसरत गरेको थियो। फिल्ममा इन्दिरा गान्धी र उनका छोरा सञ्जय गान्धीलाई निकम्मा प्रमाणित गर्ने कुनै कसर छाडिएको छैन। 
कंग्रेस र उसका वरिष्ठ नेतालाई खुइल्याउने फिल्मलाई मलजल गरिरहँदा मोदी आफ्नै अभियानलाई सघाउने फिल्मलाई पनि बढाइचढाइ गरिरहेका थिए। 

अक्षय कुमार अभिनित ‘ट्वाइट ः एक प्रेमकथा’ र ‘प्याडम्यान’ मोदीको ‘स्वच्छ भारत’ अभियानलाई मलजल गर्ने यस्तै फिल्म थिए। अनि, खेर, भण्डारकर र अक्षय कुमार तीनै जना सन् २०१४ अघिदेखि नै मोदीका कट्टर समर्थक मानिन्थे।अल्लि अगाडि शिव सेना प्रमुख बाल ठाकरेको जीवनीमा आधारित ‘ठाकरे’ पनि प्रदर्शनमा आयो। भाजपा र शिव सेनाको दर्शन एउटै हो, हिन्दू धर्मको संरक्षण गर्ने। 

फिल्ममा बाल ठाकरेलाई सोही अनुरुप प्रस्तुत गरिएको छ र स्पष्ट छ भोलि शिव सेना जति बलियो भयो भाजपा त्यति नै बलियो हुन्छ। ४८ सिट भएको महाराष्ट्रमा लोक सभा चुनावमा भाजपा र शिव सेनाले २५-२३ सिट बाँडेर चुनाव लड्नुले पनि दुबैको मित्रताको गहिराई बयान गर्छ। अनि यो पनि बुझ्न गाह्रो छैन कि बाल ठाकरेको जीवनीमा फिल्म भाजपाको यही ग्रान्ड डिजाइन अन्तर्गत बनेको हो 

चुनावको मुखसम्म आइपुग्दा मोदीले घुमाउरो बाटोमा मात्र विश्वास गरेनन्।  आफैं मैदानमा उत्रिए। लोकसभाको पहिलो चरणको चुनाव हुने नै दिन आफ्नै जीवनकथामा बनेको फिल्म ‘पिएम नरेन्द्र मोदी’ रिलिजको चाँजो पाँजो मिलाए। तर, कंग्रेस निकट एउटा विद्यार्थी संगठनले फिल्मले निर्वाचन आचार संहितालाई उल्लंघन गर्ने आसयसहित फिल्म रोक्न माग गरेपछि फिल्म आजभोलि अदालतको चक्कर काटिररहेको छ।

११ तारिख रिलिज मिति तोकेको फिल्म ५ तारिखमा रिलिज हुने तरखरमा थियो तर फिल्मको प्रदर्शन रोक्न माग गर्दै निर्वाचन आयोगमा मुद्दा पर्‍यो। आयोगले फिल्म रिलिज गर्नु संहिता विपरित भएको ठहर गर्दै फिल्मको रिलिज रोक्ने निर्णय गर्यो। 
निर्माता सुरेश ओबराय फिल्म फुकुवाको माग गर्दै सर्वोच्च अदालत गए तर सर्वोच्चले निर्वाचन आयोगलाई नै अन्तिम निर्णय सुम्पियो। दुई दिनअघि मात्र सर्वोच्चले निर्वाचन आयोगलाई फिल्म हेरेर रिलिज गर्ने कि नगर्ने निर्णय गर्न आदेश दिएको छ। विवेक ओबराय मोदी भएर खेलेको फिल्मको ट्रेलरले भने मोदीको महिमागान गर्न कुनै कसर छाडेको छैन। मे २१ सम्म विभिन्न चरणमा हुने चुनावमा यस्ता फिल्मले ठूलै प्रभाव पार्ने कुरामा मोदीलाई रत्तिभर शंका छैन।

फिचर फिल्मसँगै मोदीले वेभ सिरिजलाई पनि आफ्नो प्रचारको हतियार बनाएका छन्। बाल्यकालदेखि प्रधानमन्त्री बन्दासम्मको जीवनी समेटिएको वेभ सिरिज ‘मोदी ः जर्नी अफ अ कमन म्यान’ यही बिहीबारबाट प्रसारण सुरु भएको छ। ‘ओह माइ गड’ जस्तो प्रायोगिक फिल्म बनाएका उमेश शुक्लाले निर्देशन गरेको सिरिजले १० भागमा मोदीको जीवनीलाई पर्दामा उतारेको छ। मोदीकै बाल्यकालको कथामा  मात्र आधारित सर्ट फिल्म ‘चलो जिते हैं’ भने  अघिल्लो साल नै प्रदर्शनमा आइसकेको छ।

भारतमा मोदी एक्ला होइनन् जसले फिल्मलाई राजनीतिक अभिष्टका लागि प्रयोग गरिरहेका छन्। राजनीतिकर्मीको लामो लिस्ट छ जो फिल्मको माध्यमबाट महानताको खुड्किलो चढ्ने प्रयासमा छन्। पश्चिम बंगाल मुख्यमन्त्री ममता बेनर्जीको जीवनीबाट प्रभावित भनिएको फिल्म ‘बघिनी ः बंगाल टाइगर्स’ चुनावकै  बीचमा रिलिज हुन खोज्दैछ भने तमिलनाडु मुख्यमन्त्री जयललिताको जीवनमा बन्ने फिल्म ‘जया’ यही बर्ष सुरु हुँदैछ।लालबहादुर शास्त्रीको जीवन कथामा बनेको ‘दि रक्क्षन्त फाइल्स’ पनि यही बर्ष रिलिज हुँदैछ भने इन्दिरा गान्धीको कार्यकाल झल्काउने ‘किस्सा कुर्सीका’ ले पनि सम्भवतः यही साल पर्दामा आफ्नो उपस्थिति जनाउँदैछ। 

मोदीले अघिल्लो पटकको चुनावमा मिडिया र सामाजिक सञ्जाललाई सफ्ट पावरको रुपमा प्रयोग गरेका थिए। यो पटक उनले फिल्मलाई यो कामका लागि छानेका छन्। भोलि सम्भवतः मोदीले चुनाव पनि जित्लान्। तर, मोदीलाई चुनाव जिताउँदा जिताउँदै बलिउड आफैं त हार्दैन? धेरैको मनमा प्रश्न छ। किनकि फिल्मको पहिलो स्वार्थ, कलात्मक अभिव्यक्ति हो, प्रोपोगन्डा हैन। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.