मालिक ! म फेरि बौलाऊँ
कवितामा पनि हात भाँच्चिएको छ, हाम्रो सालिकको पनि हातै भाँच्चिएको छ। बरु एक छाक खान्नँ, तर ठूलो होडिङबोर्डमा ठूलाबडाले देख्ने गरी सालिकको अगाडि झुन्ड्याउँछु, कविता।
‘बिसे नगर्ची कि नगर्जी ?’
कसको बारेमा सोध्न खोज्नु भएको लालसिंह दर्जी मलाई उल्टो प्रश्न गर्छन्। त्यसपछि उनी आफैं जवाफ दिन्छन् ‘ची तल पर्यो, जी भन्नाले माथि पर्यो। अब त कुरा बुझ्नुभयो नि, कि फेरि फर्मुला बताऊँ ? जी भएको भए बिसे दमाई र उसका सन्तान माथि पुगिसकेका हुन्थे।’
साँझ सिमसिम पानी परिरहेको छ। म हस्याङफस्याङ गर्दै उनको घरमा पुगेको छु। उनको कानले सुन्दैन, आँखाले मधुरो देख्छ। उमेर ८० वर्षको भयो। घरको पाली तल राखिएको खाटमा सिरक ओडेर बसेका छन्। मौसम चिसो छ। अहिले गोडा गलेर हिँड्न नसके पनि जीवनका धेरै जोसिला दिन उनले भारतीय लाहुरेको परेड खेलेर बिताए।
लालसिंहको गाउँ स्याङ्जाको बहाकोट। उनको गाउँमा बिसे नगर्चीको सालिक छ भन्ने थाहा पाउनै मलाई पूरै दुई दिन लाग्यो। फागुनको मध्यतिर यहाँ आइपुगेको थिएँ। बिसे नगर्चीको सालिक भएको बाटो भएर दुई दिनसम्म फनफनी घुम्दा पनि मैले बिसेलाई देखिनँ। चिनिनँ। तपाईंले चिन्नुभयो ? उही हाम्रा कवि श्रवण मुकारुङको कविताका पात्र बिसे, क्या ! पूर्णकुमारी नेपालीको होटेलमा चिया पिउँदै गर्दा मलाई उनैले सोधिन्, ‘तपार्इंलाई बिसे नगर्चीबारे
थाहा छ ?’ यो रोचक प्रश्नले मलाई आश्चर्यमा पार्यो।
त्यसपछि मात्र चुरो कुरो खुल्यो। सालिक उनको होटेल परतिर रहेछ। राजा पृथ्वीनारायण शाहकोमा लुगा सिलाउने मानिस हो रे ! उनी आफैं पनि गोरखाबाट बसाइ सरेर आएका तिनै सालिकका सन्तति हौं भन्नेसम्मको धमिलो ज्ञान रहेछ उनलाई।
कविताबाटै चिनेको बिसेलाई उनकै सालिकको छेउ भएर दुई दिनसम्म घुम्दा नदेख्नुमा दोष मेरो मात्रै छैन। सालिक भएको गाउँमा पर्ने तीन ओटै सेन, दलित र मगर बस्तीमा कफी रोप्ने फेसनदेखि बाजाको रागसम्मका कुरा सोध्न भ्याएको थिएँ। कहिले बादलले आफूभित्र लुकाउने कहिले बादललाई पन्छाएर मुस्कुराउने माछापुच्छ्रे हेरी बस्ने पर्यटक मात्र पनि त थिइनँ म। बहाकोट गाउँमा अझै पनि ६३ घर ‘सेवा दलित परिवार’ छन्। तर बिसे नगर्चीको सालिकबारे न यहाँ सेनले बताए, न त उनकै सन्तानले जानकारी दिए। ‘बिसे नगर्चीको बयान’ थुप्रै चोटि पढ्दा पनि धीत नमरेको म जस्तो पाठकका लागि बिसेको सालिकको प्रसंगले तान्ने नै भयो। तर यहाँ त उनकै सालिक पनि कोल्टे परेर उभिएको रहेछ।
२०६२÷६३ को गणतान्त्रिक आन्दोलनका विम्ब बनेका बिसे नगर्चीको सालिक धेरैको मनमा अझैं ठडिएकै छ। तर, उनकै सन्तान बस्ने बहाकोटमा भने स्थिति उल्टो देखियो। वरिपरि उम्रेका झारपातले पनि बिसेलाई छेकेका थिए। बिसे नै कसैको आँखा नपर्ने ठाउँमा उभिएर बसेकोे छ। बिसेको ढल्केको सालिक देख्दा लाग्यो, यो अहिलेको ‘हाइब्रिड’ गणतन्त्रझैं ढल्केको छ।
कसरी सालिक यहाँ आइपुग्यो ? म यही उत्सुकताले लालसिंह दर्जीको घरको दैलोमा पुगेको थिएँ।
राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका बेला स्याङ्जा जिल्लाभरिका सबै दलित गाउँलाई बाजा बजाउने प्रतियोगितामा भाग लिन उर्दी जारी गरियो। नेत्रबहादुर परियारको टोलीले बहाकोटको नेतृत्व गर्दै ठाकुरी राज खानदानको राग, नगरा बजाए। उनको टोली प्रथम भए पनि पुरस्कारचाहिँ सिंगो गाउँले पायो। त्यही पुरस्कार थियो, बिसे नगर्चीको सालिक। जसको औपचारिक उद्घाटन २०७२ सालमा गरिएको थियो। यो रोचक किस्सा अघि बढाउँदै लाल सिंहले थपे, ‘सालिक ल्याउने त भइयो तर बिसे नगर्ची को हुन् भन्नेबारे हामीलाई थाहा थिएन।’ काठमाडौंबाट बिसेको सालिक ल्याएर गाउँमा स्थापित गर्ने जिम्मामा थिए उनै लालसिंह। नेतृत्व गर्न सक्ने व्यक्तित्व हुन् भनेर पत्याउन उनको ओठको माथितिर फर्केको बाक्लो जुँगाले संकेतचाहिँ गर्छ क्यारे। जुँगाले रवाफ देखाए
पनि उनको गाउँमा दलितका बाटो छेउ सालिक राख्ने जग्गा थिएन। गाउँमा दलितको जग्गा आखिर भीरमै त हुन्छ। धन्न बाटोको कोप्चोमै भए पनि एकजना मनकारी महिलाले जग्गा दिइन् र जसोतसो सालिक ठडियो। आफ्नो सालिक ठड्याउने बेला झेल्नुपरेको सकसबाट विरक्तिएका बिसे नगर्ची आफैं बोल्न सक्ने भए कवितामा जस्तै यहाँ पनि गर्जन्थे होला ः
खोइ मेरो अर्धकदको सालिक कहाँनिर राख्ने–
कहाँ ठडिन्छ बिसे नगर्चीको सालिक
मालिक ! म फेरि बौलाऊँ ?
मैले बिसे नगर्ची र उनको सालिकबारे एकपछि अर्को प्रश्न गर्न थालेपछि लालसिंह एकैसाथ खुसी र दुःखी भए। खुसी यसकारण कि, उनलाई जीवनमा पहिलो चोटि कसैले बिसेको बारेमा सोधीखोजी गरिरहेको थियो। सालिक वरिपरि झारहरू झांगिएका छन्। झारहरूलाई काटछाँट गर्न गाउँमा कसैले चासो नदिएको देख्दा भने उनी खिन्न हुन्छन्।
लालसिंहलाई अझै पनि पृथ्वीनारायणजस्ता राजा त्यो जमानामा बिसे ‘दमाई’को घरमा गएर सल्लाह र सहयोग मागेका थिए भन्ने इतिहासप्रति शंका लाग्छ। एकछिन घोत्लिन्छन्, अनि फेरि भन्छन्, ‘त्यो जमानामा राजालाई सल्लाह दिने सल्लाहकारका सन्तान यसरी पिल्सिएको हुन्छ त ? हुँदै हुँदैन।’
मलाई भने लालसिंहको सन्देहप्रति विश्वास लाग्यो। साँच्चै बिसे नगर्ची सल्लाहकार हुँदा हुन् त सबैका ‘जी’ हुन्थे। उनको नामै ‘बिसे नगर्जी’ हुन्थ्यो होला !
मैले वाचन गरेर सुनाउनु अघिसम्म लालसिंहले श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ पढेका वा सुनेका थिएनन्। न त गाउँका अरुलाई नै कुनै कविले बिसेलाई केन्द्रमा राखेर कविता लेखेको छ भन्ने कुराको पत्तो थियो।
कसैलाई थाहा नभएको हुनाले पनि मुकारुङको कविता सुनाउन म हतारिएँ। इन्टरनेटबाट मोबाइलमा डाउनलोड गरेपछि सबैभन्दा पहिले उनै लालसिंहलाई सुनाएँ। उनले कविता सुनिसकेपछि निकैबेरसम्म एक्लै ताली बजाइरहे। उनको तालीको पर्रा निकैबेरसम्म कानमा गुन्जिइरह्यो।
कविता सुनेर सुरुमा उत्साहित देखिएका लालसिंह एकाएक ढल्न लागेको सालिक सम्झेर मलिन देखिए। गाउँमा बिसे नगर्चीको बयान सुनाउँदा कतै ताली बज्थ्यो त कतै आँसु झथ्र्यो। धेरैले प्रतिक्रिया दिए, ‘कवितामा पनि हात भाँच्चिएको छ, हाम्रो सालिकको पनि हात भाँच्चिएको छ।’
फागुनमा गाउँका दमाइलाई फुर्सद नै हुन्न।
आप्mनो गाउँमा मात्र नभएर टाढाटाढासम्म अरुको बिहेमा पिञ्चेबाजा बजाउन पुग्नुपर्छ। कहिले त दुई दिनसम्म लगातार बजाउनुपर्ने हुन्छ। म सेतु परियारको आँगनमा थिएँ। अघिल्लो रातभर सहनाई फुकेर सेतु अझै रक्सीको नसासँगै घाममा पल्टिरहेका थिए।
यो गाउँमा बिसे भन्नेबित्तिकै सबै दमाईको ध्यान खिचिन्थ्यो। एक त उनीहरू बिसेका सन्तान त्यसमाथि गाउँमा सालिक चुपचाप विराजमान छ। यही संयोगले बिसेको कविता भन्नेबित्तिकै मेरो अगाडि ठीकठीकैको भीड जम्मा भइसकेको हुन्थ्यो। सबै उत्सुक हुन्थे। आखिर के चाहिँ रहेछ त ? यो बिसे दमाई भन्ने प्रश्न उनीहरूको आखाँले सोधिरहेझँै लाग्थ्यो, मलाई। सेतुको आँगनमा कविता सुनाउँदा पनि भीड जम्मा भइसकेको थियो। ती भीडमा सबैभन्दा बढी महिला हुन्थे। कतिले कविता नै पहिलो पटक सुनेका थिए होलान्। कविता सुन्नेबित्तिकै सेतु लर्बराउँदै बोल्छन्, ‘बिसे पनि फनफनी घुम्दो रहेछ, म नि फनफनी घुमिरहेको छु, मेरो नि दिमाग ठीक ठाउँमा छैन।’
अक्षर नचिन्ने उनीहरूका भित्री मनलाई बिसेको कविताले छोइदिन्थ्यो। कविले लेखेको कुरा कति बुझे पनि होलान् कति बुझेनन् पनि होला ? कविले जसका लागि लेखेका थिए, तिनैका अगाडि कविता सुनाउँदा म भने रमाइरहेको थिएँ।
२०५५ सालयता गाउँबाट बिसेका सन्तति अरबतिर लम्किरहेका छन्। पहिला भारततिर भौँतारिन्थे उनीहरू। पुस्तौँको उत्पीडनका कारण विदेशी कमाइले पनि जग्गा जोड्न वर्षौं लाग्ने देखिन्छ। जग्गा नै नभएपछि बहाकोटमा फस्टाएको सुन्तलाको व्यावसायिक खेतीले जमिन भएका गैरदलितलाई बढी फाइदा भएको छ।
योजना बनाउने विज्ञ र नीतिनियम बनाउने मान्छेलाई दमाईका जग्गा हुँदैन भनेर पत्तो नै हुँदैन।
पूर्णकुमारी नेपालीको पसलमा मजस्ता आगन्तुक मात्रै चिया खान पुग्दा रहेछन्। गाउँका उपल्ला ठालुहरूमा दमिनीको होटेलमा जाँदा जात जान्छ भन्ने डर रहेछ। बिसेको सालिकबारे मलाई जानकारी दिने पूर्णकुमारीलाई पनि मैले मुकारुङको कविता सुनाएँ। कविताले उनलाई उद्वेलित बनायो। उनले भनिन्, ‘बरु एक छाक खान्नँ, तर ठूलो होडिङबोर्डमा ठूलाबडाले देख्ने गरी कविता सालिकको अगाडि झुन्ड्याउँछु।’
‘दमाई’को सालिक कोल्टे पर्दा संघीय वा स्थानीय सरकार बेखबर छ। त्यहीँका ठालुहरू पनि खुसी छन् सायद। लालसिंह र पूर्णकुमारीजस्ताहरूको चाहना मात्रले बिसे नगर्चीको सालिक छेउ उनकै बारे लेखिएको सर्वाधिक चर्चित मुकारुङको कविताका शब्दहरू झुन्डेलान् ?
शब्दहरू झुन्डिए भने पनि ‘बिसे नगर्चीको बयान’ले पञ्चायती ‘गणतन्त्र’मा कस्तो अर्थ राख्ला ?
@dhakal_rabindra समाजशास्त्रमा स्नातकोत्तर हुन्।
चिन्ता लागिरहेछ
- श्रवण मुकारुङ
मलाई स्याङ्जाको बहाकोटमा बिसे नगर्चीका सन्ततिको बसोवास छ र उनको सालिक ठडिएको छ भन्ने जानकारी थिएन। बिसेलाई मुख्य पात्र बनाएर कविता लेखे पनि मलाई उनीबारे गहिरो ज्ञान छैन। इतिहासको एक ‘गुप्त’ पात्रका रूपमा ठीकठीकैको मात्र जानकारी थियो।
कसैको सालिक ठड्याउनु भनेको उसको व्यक्तित्व र विचारलाई प्रतीकात्मक रूपमा उभ्याउनु पनि हो। हिजोको हाम्रो राजनीतिक व्यवस्थामा सालिकहरू शासकका बन्थे। कवि वा कलाकारकै सालिक बनाए पनि आफ्नो सत्ता र विचार टिकाउनकै लागि बनाइन्थ्यो। आजको समयमा बहाकोटमा भएको दमाईको सालिकले ठूलो प्रतीकात्मक अर्थ राख्छ। हामी पनि यो ठाउँमा छौँ, हाम्रो पनि अस्तित्व छ र हामीलाई पनि सम्बोधन गर भन्ने अभिव्यक्ति नै हो, यो सालिक।
तर सालिकको स्थिति र कविता सुनाउँदा उनैको सन्तानले दिएको प्रतिक्रियाले मलाई भावुक बनायो। २०६२–६३ मा हामीले चाहेको लोकतन्त्र, देखेको सपना र आन्दोलनको मर्मको प्रतिविम्ब राज्यका कुनै पनि क्रियाकलापमा देखिरहेको छैन। बिसे र उनका सन्तानको समानता र सबै खालको विभेदबाट मुक्त हुने आकांक्षा अझै पूर्ण भएको छैन।
आन्दोलनताका मैले बिसे नगर्चीलाई प्रतीकका रूपमा मेरो कविता ‘बिसे नगर्चीको बयान’मा उतारेको थिएँ। आजका बिसे नगर्चीहरूका आमभावनालाई उजागर गर्ने प्रयास थियो, कविता।
मलाई बिसे नगर्चीजस्ता इतिहासमा कतै हराइएका पात्रलाई बाहिर ल्याउनु थियो। लोकतान्त्रिक गणतन्त्रले उनीहरूको भावनालाई आत्मसात् गरोस् भन्ने थियो।
१३ वर्ष भइसकेछ यो कविता लेखेको र जनताको शासन आएको पनि। तर, अझै पनि जुन समुदायका लागि लेखेको थिएँ, उनीहरूलाई कविता पुरानो लागेको छैन, झन्झन् जोडले ताली बजिरहेको छ। र, यिनै कुराले मलाई हाम्रो गणतन्त्रको भविष्य कतातिर मोडिरहेको छ भन्ने चिन्ता लागिरहेछ।