चिन्ता लागिरहेछ
श्रमलाई स्याङ्जाको बहाकोटमा बिसे नगर्चीका सन्ततिको बसोबास छ र उनको सालिक ठडिएको छ भन्ने जानकारी थिएन। बिसेलाई मुख्य पात्र बनाएर कविता लेखे पनि मलाई उनीबारे गहिरो ज्ञान छैन। इतिहासको एक ‘गुप्त’ पात्रका रूपमा ठीकठीकैको मात्र जानकारी थियो।
कसैको सालिक ठड्याउनु भनेको उसको व्यक्तित्व र विचारलाई प्रतीकात्मक रूपमा उभ्याउनु पनि हो। हिजोको हाम्रो राजनीतिक व्यवस्थामा सालिकहरू शासकका बन्थे। कवि वा कलाकारकै सालिक बनाए पनि आफ्नो सत्ता र विचार टिकाउनकै लागि बनाइन्थ्यो। आजको समयमा बहाकोटमा भएको दमाईको सालिकले ठूलो प्रतीकात्मक अर्थ राख्छ। हामी पनि यो ठाउँमा छौँ, हाम्रो पनि अस्तित्व छ र हामीलाई पनि सम्बोधन गर भन्ने अभिव्यक्ति नै हो, यो सालिक।
तर, सालिकको स्थिति र कविता सुनाउँदा उनैको सन्तानले दिएको प्रतिक्रियाले मलाई भावुक बनायो। २०६२–६३ मा हामीले चाहेको लोकतन्त्र, देखेको सपना र आन्दोलनको मर्मको प्रतिविम्ब राज्यका कुनै पनि क्रियाकलापमा देखिरहेको छैन। बिसे र उनका सन्तानको समानता र सबै खालको विभेदबाट मुक्त हुने आकांक्षा अझै पूर्ण भएको छैन।
आन्दोलनताका मैले बिसे नगर्चीलाई प्रतीकका रूपमा मेरो कविता ‘बिसे नगर्चीको बयान’मा उतारेको थिएँ। आजका बिसे नगर्चीहरूका आमभावनालाई उजागर गर्ने प्रयास थियो, कविता। मलाई बिसे नगर्चीजस्ता इतिहासमा कतै हराइएका पात्रलाई बाहिर ल्याउनु थियो। लोकतान्त्रिक गणतन्त्रले उनीहरूको भावनालाई आत्मसात् गरोस् भन्ने थियो।
१३ वर्ष भइसकेछ यो कविता लेखेको र जनताको शासन आएको पनि। तर, अझै पनि जुन समुदायका लागि लेखेको थिएँ, उनीहरूलाई कविता पुरानो लागेको छैन, झन्झन् जोडले ताली बजिरहेको छ। र, यिनै कुराले मलाई हाम्रो गणतन्त्रको भविष्य कतातिर मोडिरहेको छ भन्ने चिन्ता लागिरहेछ।