ब्यारेक छोडेर फुटबल
फुटबलप्रति सानैदेखि समर्पित विपीनको मन घरबिदामा आएपछि ब्यारेकतर्फ फर्किएन। अन्ततः उनले सेनाको जागिर त्यागिदिए। फेरि फुटबल खेल्नतिरै लागे।
खेलाडीको सपना हुन्छ विभागीय टोली हुँदै राष्ट्रिय खेलाडी बन्ने। रोजीरोटीको जोहोसँगै खेलाडीको रूपमा देशको झन्डा बोक्ने अवसर विभागीय टोलीमा छ पनि।
कतिसम्म भने विद्यालय पढ्दाताका फुटबल खेल्न भनेपछि पस्केको भातसमेत छाडेर हिँड्थे। बच्चादेखि नै फुटबलको लत बसेका विपीनले सानै उमेरमा नेपाली सेनाको जागिर पनि पाए। फुटबल खेल र नियमित व्यायाम गर्ने भएकाले उनी नेपाली सेनामा सहजै छनोट भएका थिए। आर्मीमा छनोट भएपछि विपीनको सपनाको उडान झनै चुलियो।
खेलकुद क्षेत्रको अग्रणी टोली नेपाली सेनाको ‘त्रिभुवन आर्मी क्लब’बाट खेल्ने सपना बुनेका विपीनले आफूलाई भाग्यमानी नै ठाने। तर, फुटबल कौशल देखाउने सोचका साथ नेपाली सेनामा भर्ती भएका विपीनले फुटबल खेल्ने अवसर त परको कुरा, नियमित अभ्याससमेत गर्न पाएनन्। त्यसपछि उनले सेनाको जागिर नै त्यागिदिए।
सेनामा भर्ती भएपछि कास्कीको खैरेनीटार तालिम केन्द्रबाट नौमहिने तालिमपछि उनको पोस्टिङ पाँचथरको भैरवी दल गणमा भयो। तालिमकै क्रममा फुटबलको कौशल देखाएका कँडेललाई तालिम केन्द्रका प्रमुखले खेलाडी उत्पादन गर्ने राजदल गणमा पठाउने आश्वासन पनि दिए।
विपीनले सम्झिए, ‘तालिमका क्रममा लप्टन सापले मेरो खेल देखेर खेलाडी उत्पादन गर्ने गणमा पठाइदिऊँला भनेको दिन जिन्दगीकै सबैभन्दा बढी खुसी लागेको थियो। जुन सोच राखेर म नेपाली सेनामा गएको थिएँ, त्यसको पहिलो खुटकलाका रूपमा लप्टन सापको त्यो भनाइलाई लिएको थिएँ।’
तर, विपीनको त्यो खुसी धेरै दिन टिक्न सकेन। तालिम सकिनै लाग्दा प्रशिक्षण केन्द्रमा प्रमुख लप्टनको सरुवा भयो।
उनको पनि पोस्टिङ पाँचथरको भैरवी दल गणमा भयो। पाँच महिना ब्यारेकमा बसेर बन्दुकसहित ड्युटी गरेका विपीनलाई विस्तारै सेनाको जागिर भारी लाग्न थाल्यो। भन्ने र सुनाउने कोही नभएपछि उनी घरबिदामा आए।
फुटबलप्रति सानैदेखि समर्पित विपीनको मन घरबिदामा आएपछि ब्यारेकतर्फ फर्किएन। अन्ततः उनले सेनाको जागिर त्यागिदिए। फेरि फुटबल खेल्नतिरै लागे। जागिर छाडेको दिन सम्झँदै विपीनले भने, ‘पाँचथरको गणमा फुटबल खेल्ने त परै जाओस, नियमित अभ्यास गर्नेसमेत अवसर पाइएन। यसरी बसेपछि अहिलेसम्म आफूले सिकेको फुटबल कलासमेत बिर्सन्छु भन्ने लागेर जागिर नै छाडिदिएँ।’
विपीनले एन्फा एकेडेमीको यू–१६ उमेर समूहको छनोट खेलमा पनि सहभागिता जनाएका थिए। तर उनी फाइनल चरणमा फालिए। ‘त्यहाँ खेल कौशल मात्र देखाएर नहुँदो रहेछ’, फाइनल चरणबाट आफू बाहिरिएको दिन सम्झँदै विपीनले भने, ‘सोर्सफोर्स पनि चाहिँदो रहेछ तर भनसुन गरिदिने मेरो कोही थिएन।’
विपीन अहिले साथीहरूको सम्पर्कबाट क्षेत्रीयस्तर तथा जिल्लास्तरमा भएका विभिन्न प्रतियोगितामा फुटबल खेलिरहेका छन्। विपीनले भने, ‘हालसम्म एक सयभन्दा बढी क्षेत्रीय तथा जिल्लास्तरीय प्रतियोगिता खेलिसकेको छु।’ उनी जुन ठाउँमा फुटबल खेल्छन्, त्यहाँ राम्रो छाप छाडेर आउने गरेका छन्।
वीरगन्जमा हालै सम्पन्न ‘पर्सवा गोल्डकप’मा यस वर्ष उनको टोली वीरगन्ज युथ एकेडेमी फाइनलमा पुग्यो। विपीनले त्यहाँ सर्वाधिक गोलकर्ता बन्दै सिल्भर बुट जिते। त्यस्तै हिमाली जिल्ला मनाङमा पुगेर डाँफे क्लबबाट खेल्दा उनकै बेजोड प्रदर्शनमा डाँफे पहिलो भयो। गोरखाको हरमटारीमा भएको फुटबल प्रतियोगितामा चितवन जिल्लाबाट खेल्दा पनि उनी राम्रो छाप छाड्न सफल भए।
अखिल नेपाल फुटबल संघले हरेक वर्ष धादिङ जिल्लामा सञ्चालन गर्ने जिल्लास्तरीय लिगमा धादिङ समाज धादिङबाट खेलेर टोलीलाई तीनपटक लिग च्याम्पियन बनाएको अनुभव पनि विपीनसँग छ।
गत वर्ष चरौंदी कप प्रतियोगिता खेलेका विपीन त्यहाँ सर्वोत्कृष्ट खेलाडी बनेका थिए। हाल वीरगन्ज युथ एकेडेमीबाट ‘सी’ डिभिजन लिग खेलिरहेका विपीन वीरगन्जका नियमित खेलाडी हुन्। उनी त्यहाँबाट भारतका विभिन्न प्रतियोगितामा खेल्नसमेत गएका छन्। विपीनले फुटबल खेलेर थुपारेका ट्रफी र मेडलले घरको दराज सजिएको छ।
सानैदेखि अब्बल
सुनगाभा बोर्डिङ स्कुलमा पढ्दा स्कुलस्तरीय प्रतियोगितामा पहिलो पटक सामेल भएका विपीनको टोली पहिलो पटक नै च्याम्पियन बन्यो। त्यसपछि विपीनलाई लाग्यो— म पनि फुटबल खेल्न सक्छु। स्कुलस्तरीय प्रतियोगितामा च्याम्पियन भएपछि विपीनको फुटबलप्रतिको मोह जागेको थियो।
त्यसपछि उनले धादिङबेँसीको खुला मञ्चमा दाइहरूले फुटबल खेलेको हेर्न थाले। विस्तारै दाइहरूसँगै खेल्ने र सिक्ने अवसर पाए। धादिङ समाज धादिङका पहिलो पुस्ताका फुटबलर भीषण श्रेष्ठ भन्छन्, ‘विपीन फुटबल भनेपछि हुरुक्कै हुने खालको थियो, हामीले सँगै खेलाउन थाल्यौं। उसले हामीले सोचेभन्दा धेरै राम्रो खेल्न थाल्यो। उसको फुटबलप्रतिको लगाव र मेहनत देखेर हामीले काठमाडौं गएर राम्रो तयारी गर्न सुझाव दियौं।’
दुई बहिनीको जिम्मेवारी
विपीनको काँधमा ठूलो जिम्मेवारी पनि छ। विपीनका बुवा अर्की आमा लिएर छुट्टै बसेका छन्। आमा र दुई बहिनीसहित छुट्टै बसिरहेका विपीनमाथि पाँच वर्षअघि ठूलो बज्रपात आइलाग्यो। मध्यमाञ्चलस्तरीय फुटबल खेल्न गएका बेला उनकी आमाको मृत्यु भयो। उनी प्रतियोगितामै समावेश हुन नपाई घर फर्किए।
आमाको मृत्युपछि दुई बहिनीको पालनपोषण र रेखदेखको जिम्मेवारी विपीनकै काँधमा छ। फुटबल खेलेर कमाएको पैसा उनले घरायसी र बहिनीहरूको पढाइमा खर्च गर्छन्। विपीनकी जेठी बहिनी मञ्जु १२ कक्षा पास गरी आईईएलटीएस गर्दै छिन्। कान्छी बहिनी पूजा ९ कक्षामा पढछन्। कहिलेकाहीँ बहिनीले मागेका बेलामा दिने पैसा साथमा नुहँदा उनी आर्मीको जागिर पनि सम्झन्छन्। ‘खल्तीमा सधैं पैसा हुँदैन, बहिनीले त्यही बेलामा पैसा मागी भने अलि खिन्न लाग्छ। मनमनै अठोट गर्छु, आर्मीको जागिर खाएर कमाउने पैसा म फुटबल खेलेरै कमाउँछु।’
कहिलेकाहीँ फुटबल खेलेर केही पैसा कमाएर घर फर्कंदा उनलाई आमाको साह्रै सम्झना आउँछ। ‘फुटबल खेल्न जादा आमाले कहिल्यै गाली गर्नुभएन। मैले यत्तिको खेल्न सक्नुमा आमाको प्रेरणा र सहयोग ठूलो छ। फुटबल खेलेर ल्याएको दुईचार हजार नै किन नहोस्, आमालाई देखाउन नपाउँदा निकै दुःख लाग्छ’, विपीन भावुक बने।
राष्ट्रिय टोलीबाट खेल्ने इच्छा
वीरगन्ज युथ एकेडेमीबाट ‘सी’ डिभिजन खेलिरहेका विपीनको इच्छा कुनै दिन ठूलो क्लब र राष्ट्रिय टोलीबाट खेल्ने छ। ‘मैले फुटबलका लागि निकै समर्पण गरेको छु। कुनै दिन राष्ट्रिय टोलीमा छनोट हुने लक्ष्य छ। मेहनत गरेर खेले फुटबलमा पनि राम्रो हुन्छ तर अवसर पाइने वा नपाइने कुरा भन्न सक्दिनँ। कर्म गरिरहेको छु। हेरौं भाग्य र स्वास्थ्यले कत्तिको साथ दिन्छ’, उनले भने, ‘राम्रो अवसर पाइनँ भने एउटा बाटो त छँदै छ नि, उही खाडी वा विदेश।’