आउँछ अझै झझल्को
बुवाले भन्नुभयो— राम्रोसँग पढ्नू, किताब एकदमै महँगा रै’छन्। मेरो ठ्याक्कै आधा महिनाको तलब परेको छ।
सन् २०११ तिरको कुरा हो। म नराम्रोसँग थलिएको थिएँ। करिब एक हप्ताजति त घरबाट बाहिर निस्कन पनि सकिनँ। बिरामी भएर बेड–रेस्ट गर्दा गर्नुपर्ने काम केही थिएन।
पाउलो कोएल्होको ‘द अलकेमिस्ट’को चर्चा सुनेको थिएँ। पढेको थिइनँ। त्यति चर्चित पुस्तक मसँग थिएन। आफूसँग नभएकोमा रिस पनि उठ्यो।
डिसेम्बरको बेला थियो। एकदमै चिसो थियो। बाहिर हिउँ परिरहेको थियो। जताततै सेताम्मे फुलेको हिउँको सौन्दर्यले मनलाई खुसी दिन सकेको थिएन। बाहिर हिँड्न सजिलो थिएन। हिउँ पर्न रोकिएको मौका पारेर निर्मलालाई नजिकैको लाइब्रेरीमा किताब खोज्न पठाएँ। तर लाइब्रेरीमा ‘द अलकेमिस्ट’ भेटिएन। सायद अरू कसैले पढ्न लगेको थियो। उनी खाली हात फर्किन्।
लाइब्रेरीमा नभेटिएपछि अनलाइनबाट किन्ने विचार गरेँ। अमेजनमा हेरेँ, भेटियो। तर किताब आइपुग्न दुई दिन लाग्थ्यो। दुई दिन कुर्ने धैर्य भएन। अहिले नै पढिहालूँ भइरहेको थियो।
इन्टरनेटमा ई–बुक पाइन्छ कि भनेर खोजेँ। भेटियो, त्यो पनि सित्तैमा। खुसी भएँ। मोबाइलमा डाउनलोड गरेँ। ‘द अलकेमिस्ट’ पढ्न थालेँ।
केही पेज नपढ्दै पुस्तकले मलाई कैद गर्यो। अहिलेसम्म धेरै कम पुस्तक पढ्दा त्यस्तो भएको थियो। पढ्न सुरु गरेपछि नसकेसम्म छोड्नै मन लागेन। रातभर नसुतीकन पढेँ। मैले त्यसरी आँखा नझिम्क्याई पढेको पुस्तक त्यही मात्रै हो।
मलाई त्यो सानो केटो, सान्टिआगोले आफ्नो सपना पूरा गर्न जस्तोसुकै परिस्थितिमा पनि लागिपरेको कुराले प्रभाव पारेको थियो। प्रत्येक पेज पढेपछि अर्को पेज पढ्नका लागि पाठकलाई तानिरहने जादु थियो त्यो पुस्तकमा। तपाईंले भित्री मनबाटै केही चाहनुभएको छ भने तपाईंलाई त्यो कुरा उपलब्ध गराउन सारा संसारले नै सहयोग गर्छ भन्ने भनाइ मलाई एकदमै मन परेको थियो।
बिरामी हुँदा मन, मस्तिष्क र शरीर कमजोर हुन्छ। सानो कुराले पनि छुन्छ। त्यसैले पनि होला, मलाई त्यति बेला त्यो पुस्तकले अलि धेरै नै प्रभाव पारेको थियो।
लाइब्रेरीमा झुक्किँदा
सन् २००१ तिरको कुरा हो। मेरो एकजना साथीले पुल्चोकको एउटा लाइब्रेरी बन्द गर्नुपरेकाले पुराना पुस्तकहरू सस्तोमा बिक्री गरिँदै छ रे भन्ने खबर सुनाए। लाइब्रेरी नै बन्द हुने कुरा राम्रो थिएन। तर सस्तोमा पुस्तक किन्न पाउने कुरा भने हामी पुस्तकप्रेमीका लागि खुसीको खबर थियो।
मैले खुसीको त्यो कुरा साथी खेम अर्याललाई सुनाएँ। खेमजी खुसी भए।
लाइब्रेरीको नाम बिर्सें, तर त्यो लाइब्रेरी कुपन्डोलबाट जाउलाखेल जाँदा पाटनढोकातिर जाने चोक कटेपछि अलिकति अगाडि दायाँतिर पथ्र्याे। अहिले छ कि छैन, थाहा छैन।
हामी खेमजीको रातो यामाहा मोटरसाइकल चढेर त्यहाँ पुग्यौं। सोध्यौं, लाइब्रेरी दोस्रो तलामा रहेछ।
लाइब्रेरीको र्याकमा प्रशस्त पुस्तक थिए। पुस्तकका शीर्षक हेर्यौं, केही पाना पल्ट्यायौं। एक एक गर्दै राम्रा राम्रा पुस्तकहरू छान्यौं। विश्वप्रसिद्ध पुस्तकहरू प्रशस्त थिए। हामीलाई लाग्यो, हामी त क्या भाग्यमानी। त्यति राम्रा पुस्तकहरू सस्तोमा पाइने भइयो भनेर मक्ख पर्यौं।
‘खेमजी, हामी त लक्की रहेछौं। यस्ता राम्रा राम्रा किताब लैजान पाइने भयो आज’, मैले भनँे।
‘होइन, त्यसरी सस्तोमा बिक्रीमा राखिएको भए त यी पुस्तकहरू यतिखेरसम्म यहाँ नहुनुपर्ने। बिक्रीमा त होइनन् होला’, खेमजीले सानो स्वरमा भने।
लाइब्रेरीमा हल्ला गर्न नहुने भएकाले हामी गुनगुन गर्दै थियौं।
‘ठीकै छ। आइहालियो, दस÷दसवटा किताब छानेर लैजाऊँ न त’, मैले भनँे।
‘होइन, पहिले सोधौं कि क्या हो, साँच्चै बिक्रीमा हुन कि होइनन् ?’ खेमजीले भने। ‘होइन, किताब नै लिएर जाऊँ न। यति त छानी नै सक्यौं’, मैले जिद्दी गरेँ।
हामीले पाँच÷पाँचवटा नाम चलेका पुस्तक छानिसकेका थियौं। मैले नाटक र अस्तित्ववादी चिन्तनसम्बन्धी पुस्तक छानेको थिएँ। खेमजीले जोसेफ कन्राड, भीएस नेयपल र केही आधुनिक समालोचनासम्बन्धी किताबहरू छानेका थिए।
हामी ती पुस्तक लिएर काउन्टरमा गयौं र भन्यांै, ‘हामी यी पुस्तक किन्न चाहन्छौं।’
‘किन्न ?’ काउन्टरकी महिलाले आश्चर्य मान्दै सोधिन्।
‘हो, किन्न’। मैले आत्मविश्वासका साथ भनेँ।
‘यी पुस्तक त बिक्रीका लागि होइनन्। सदस्यहरूले पढ्न भने लैजान सक्छन्।’ उनले भनिन्। खेमजी र म मुखामुख गर्यौं।
‘हामी त यहाँ यी पुस्तक बिक्री गर्न लागिएको छ भन्ने सुनेर किन्न पो आएका हौं’, खेमजीले भने। ‘होइन, तपाईंहरूलाई कसैले गलत सूचना दिएछ। त्यो सत्य होइन’, उनले भनिन्। मलाई आफू मूर्ख बनेकोमा लाज लाग्यो। खेमजीले पहिले सोधौं भनेको बेलामा सोधेको भए हुने रहेछ भन्ने लाग्यो। स्थिति सामान्य राख्न चुप लागेँ।
त्यसपछि खेमजीले र मैले उनलाई ‘सरी’ भन्यांै। किन्ने भनेर रोजेका ती किताबलाई डेस्कमा छोड्यौं। एकछिन पहिले आफूले बोकेका ती किताबले हामीलाई जिस्क्याएजस्तै लाग्यो। लाजले रातो भएको आफ्नो अनुहार लुकाउँदै बाहिर निस्कियौं।
बाहिर निस्केपछि मज्जाले हाँस्यौं। लामो समयसम्म हाम्रो हाँसो रोकिएन।
दिल्लीको फुटपाथको पुस्तक पसल
सन् २००० तिरको कुरा हो। म हातेमालो सञ्चारमा काम गर्थें। सेभ द चिल्ड्रेन नर्वेले फन्ड रेजिङसम्बन्धी तालिममा भाग लिनका लागि दिल्ली पठाएको थियो। हामी पाँच÷सातजनाको टोली थियो।
इन्डियन एअरलाइन्सबाट दिल्ली जाँदै गर्दा एयरलाइन्सको इन्फ्लाइट म्यागेजिनमा झुम्पा लहरीको बारेमा लेखिएको लेख थियो। मैले लेख पढेँ। लेख पढिसकेपछि मलाई उनको ‘इन्टरप्रेटर अफ मालाडिज्’ पढ्न मन लाग्यो।
म दुइटा कुरा देखेपछि मन थाम्न सक्दिनँ। एक, गुलियो खानेकुरा। दुई, राम्रो पुस्तक। अहिले पनि म आफूलाई मन पर्ने लेखकको पुस्तक रिलिज भएकै दिन किन्छु।
दिल्लीमा प्लेनबाट झरेपछि मलाई कतिखेर पुस्तक पसल खोजेर ‘इन्टरप्रेटर अफ मालाडिज’ किनौं र पढौं भयो। तर हामी त तालिममा गएका थियौं।
एक दिन तालिम सकिएपछि बेलुकातिर बजार डुल्ने कुरा भयो। हामी दिल्लीको कुनै कुनामा पुगेका थियौं कि मध्य सहरमा नै थियौं भन्ने थाहा भएन, म साथीहरूको पछिपछि लागेको थिएँ।
मेरा आँखाले पुस्तक पसल खोजिरहेका थिए तर भेटिरहेका थिएनन्। मनमनै सोचेँ, ‘इन्टरप्रेटर अफ मालाडिज’ किन्ने मेरो रहर दिल्लीमा पूरा नहुने भयो। आश पनि मारेको थिइनँ, चित्त पनि बुझाउँदै थिएँ।
हामी घुमिरहेका थियौं। अचानक हामी एउटा यस्तो ठाउँमा पुग्यौं, जहाँ बाटोभरि पुस्तक नै पुस्तक बेच्न राखिएका थिए। त्योे फुटपाथको पुस्तक पसल थियो। हेरेँ, त्यहाँ नयाँनयाँ किताब सस्तोमा थिए। मेरो मन खुसीले फुरुंग भयो।
त्यति बेला काठमाडौंमा आफूले खोजेको पुस्तक सजिलै पाइँदैनथ्यो। विशेषगरी भर्खरै निस्केका अन्तर्राष्ट्रिय पुस्तकहरू फेला पार्न सम्भव थिएन। भेटिइहाले पनि महँगो पथ्र्याे, डलरको मूल्य तिर्नुपथ्र्यो।
मलाई टन्नै किताब उठाऊँ भन्ने लोभ लाग्यो। तर, त्यति बेला मसँग पैसा थिएन। तैपनि मैले दुइटा किताब किनेँ— झुम्पा लहरीको ‘इन्टरप्रेटर अफ मालाडिज्’ र खुसवन्त सिंहको ‘द कम्पनी अफ उमन’।
अहिलेसम्म पनि मलाई दिल्लीको त्यो फुटपाथको पुस्तक पसलको याद आइरहन्छ।
पुस्तकमा बुवाको आधा महिनाको तलब
विसं २०४५ तिरको कुरा हो। म एसएलसी दिएर बसेको थिएँ। मलाई चलचित्रमा रुचि बढ्दै गएको थियो। पत्रपत्रिकामा आर्टमुभी र सत्यजित रेको बारेमा पढेको थिएँ।
नौ कक्षामा पढ्दादेखि सिनेमा हलमा गएर हिन्दी फिल्महरू हेर्ने गर्थें। त्यति बेला अहिलेजस्तो न इन्टरनेटको व्यवस्था थियो, न त नेपालमा प्रशस्त सिनेमाहरू नै बन्थे। वर्षमा एउटा दुइटा मात्रै नेपाली फिल्म बन्थे। हलमा गएर नेपाली फिल्म हेर्न सकिँदैनथ्यो, किनभने नेपाली फिल्म चलेपछि जहिले पनि भीड हुन्थ्यो। म त्यो भीडमा च्यापिएर टिकट काट्नै सक्दिनथेँ।
फिल्म हलमा आर्ट फिल्महरू चलेको याद भएन। पत्रपत्रिकामा आर्ट फिल्मको बारेमा लेखिएको हुन्थ्यो। सत्यजित रेको बारेमा लेखिएको हुन्थ्यो। पत्रिकामा चलचित्रकर्मी रेको बारेमा पढेपछि मलाई उनले लेखेका पुस्तकहरू पढ्न मन लाग्यो। नारायणगढमा खोजेँ, भेटिनँ।
नेपालीमा कसैले चलचित्रसम्बन्धी पुस्तक लेखेको छ कि भनेर खोजेँ। लक्ष्मीनाथ शर्माले लेखेको ‘चलचित्र कला’ भन्ने पुस्तक साझा प्रकाशनले छापेको रहेछ। साझा प्रकाशनको नारायणगढ शाखामा गएर खोजेँ, भेटेँ, किनेँ र पढेँ। त्यहाँ पनि सत्यजित रेको बारेमा लेखिएको थियो। त्यति बेलाको चलचित्रको स्थिति र अन्तर्राष्ट्रिय चलचित्रको ट्रेन्डका बारेमा लेखिएको थियो।
सत्यजित रेको ‘पाथेर पान्चली’, डेसिकाको ‘बाइस्कल थिप’, अकिरा कुरोसावाको ‘रशोमन’को बारेमा मैले लक्ष्मीनाथ शर्माकै पुस्तक पढेर थाहा पाएको हुँ। नेपालमा चलचित्रसम्बन्धी पुस्तकहरू खास लेखिएका छैनन्। लक्ष्मीनाथ शर्मापछि प्रकाश सायमीले सिनेमासम्बन्धी एउटा पुस्तक लेखे। नेपालमा चलचित्र क्षेत्रको विकास भइरहेको सन्दर्भमा नेपाली चलचित्रको ऐतिहासिक रूपरेखासम्बन्धी पुस्तक लेखिनु जरुरी छ जस्तो लाग्छ।
मलाई सत्यजित रेका पुस्तकहरू पढ्न मन लाग्थ्यो। नेपालमा पाइँदैनथे। त्यति बेला मेरो बुवा गुवाहाटी, आसाममा काम गर्नुहुन्थ्यो। हाम्रो सञ्चारको माध्यम चिठी मात्रै थियो। फोन गर्न सजिलो थिएन। त्यति बेला मोबाइल, ईमेल थिएन। बुवालाई छुट्टीमा घर आउँदा सत्यजित रेले लेखेका केही पुस्तक ल्याइदिनुहोला भनेर चिठी लेखेँ।
चिठी पठाएपछि कहिले बुवा आउनुहोला र किताब ल्याइदिनुहोला भन्ने भयो। कहिलेकाहीँ लाग्थ्यो— बुवाले ल्याइदिनुभएन भने त मैले गरेको आश खेर जान्छ।
मैले चिठी लेखेको करिब एघार महिनापछि बुवा घर आउनुभयो। त्यति बेलासम्म मेरो ती किताबप्रतिको क्रेज पहिलेजस्तो थिएन, अलि घटिसकेको थियो। लामो समय भएकाले बुवाले बिर्सनुभयो होला भन्ने लाग्यो। किताब ल्याउनुभएन होला भन्ने लाग्यो। तर बुवाले बिर्सनुभएको रहेन्छ। किताबहरू ल्याइदिनुभएको रहेछ।
बुवाले झोला खोल्नुभयो र किताबहरू निकालेर मलाई दिनुभयो। सत्यजित रेले लेखेको ‘आवर फिल्मस्, देअर फिल्म्स’, सत्यजित रे र फिल्मसम्बन्धी लेखिएका दुइटा ठुल्ठूला किताब थिए।
मैले ती किताब हेरेँ। बुवाले मलाई हेर्नुभयो। बुवाले भन्नुभयो, ‘राम्रोसँग पढ्नू, किताब एकदमै महँगा रै’छन्। मेरो ठ्याक्कै आधा महिनाको तलब परेको छ।’ बुवाको त्यो कुराले मेरो मन छोयो।
जीवन बदल्ने त्यो पुस्तक
प्रसंग फेरि लक्ष्मीनाथ शर्माको पुस्तक ‘चलचित्र कला’को। ‘चलचित्र कला’ पुस्तक पढेपछि मलाई लक्ष्मीनाथ शर्मासँग भेट्न मन लाग्यो। नेपाली सिनेमा क्षेत्रमा उहाँ एक पढेलेखेका, जानेका व्यक्तित्व हुनुहुन्थ्यो।
विसं २०४७ तिरको कुरा हो, म अठार वर्षको थिएँ। आईए पढ्दै थिएँ। त्यति बेला लक्ष्मीनाथ शर्मा तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा निर्देशक हुनुहुन्थ्यो। म गैंडाकोटमा बस्थेँ। चलचित्र संस्थान काठमाडौंमा थियो। म काठमाडौं गएँ। काठमाडांै पुगेर उहाँलाई भेट्न चलचित्र संस्थानमै जाने भएँ।
उहाँले मलाई कस्तो रेस्पोन्स गर्नुहुन्छ थाहा थिएन। भेट्न पाइने हो कि होइन, त्यो पनि थाहा थिएन। म सरासर चलचित्र संस्थान पुगेँ।
ढोकामा पुगेपछि म चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई भेट्न आएको भनँे। ‘कहाँबाट आउनुभएको ?’ संस्थानकै एक कर्मचारीले सोधे। ‘नारायणगढबाट’, मैले भनँे। गैंडाकोटभन्दा नारायणगढ चल्तीको नाम थियो, त्यसैले म त्यस्तो बेला नारायणगढलाई अगाडि बढाउथेँ। ती कर्मचारीले मलाई लक्ष्मीनाथ शर्मासँग भेट गराइदिए।
उहाँले मलाई आफ्नो कोठामा बसाएर चिया खुवाउनुभयो। मेरो मनभित्र चलचित्रसम्बन्धी दबेको महŒवाकांक्षाको आगो थियो। मैले मेरो रुचि र महŒवकांक्षाको आगो उहाँसँग पोखेँ। उहाँले मेरो कुरा ध्यान दिएर सुन्नुभयो।
त्यति बेला नेपाली चलचित्र क्षेत्र भर्खर अगाडि बढ्न सुरु गरेको थियो। अवसरहरू कम थिए। मलाई ओस्कर जित्ने नेपाली फिल्म बनाउने इच्छा थियो। म सिक्न चाहन्थेँ, चलचित्र क्षेत्रमा केही गर्न चाहन्थेँ। मेरो सबै कुरा सुनिसकेपछि उहाँले भन्नु भयो, ‘तपाईं अहिले पढ्दै हुनुहुन्छ। तपाईंले पढिसकेपछि अरू धेरै क्षेत्र र अवसरहरू देख्नुहुनेछ। पहिले पढाइ पूरा गर्नुस्। त्यसपछि करिअरका बारेमा सोच्नुहोला। जुन क्षेत्र ठीक लाग्छ, त्यसमा लाग्नुहोला।’
त्यति बेलाको सन्दर्भमा त्यो राम्रो सुझाव थियो। उहाँको कुराबाट प्रभावित भएँ। मैले मेरो ध्यान चलचित्र छोडेर पढाइतिर लगाएँ। मेरी आमा खुसी हुनुभयो। आमालाई म पढ्न छोडेर चलचित्रमा लाग्छु होला भन्ने ठूलो पीर थियो। उहाँलाई म चलचित्रमा आकर्षित भएको पटक्कै मन परेको थिएन।
‘पहिले पढ्नु अनि मात्रै करिअरको बारेमा सोच्नू’ भन्ने सुझाव दिने लक्ष्मीनाथ शर्मालाई अहिले पनि मेरी आमाले बेलाबेलामा धन्यवाद दिने गर्नुहुन्छ।
पछि म नाटक गर्न थालेँ। नाटकलाई आमाले चलचित्रलाई जस्तो घृणा गर्नुभएन। अशेष मल्ल दाइको आध्यात्मिक इमेजले नाटकमा लाग्दा छोरो बिग्रँदैन भन्ने विश्वास थियो उहाँलाई।
‘चलचित्र कला’बाट प्रभावित भए पनि चलचित्र क्षेत्रबाट बाहिर बसेँ। जीवन अर्कैतिर मोडियो।
पेरिसको पुस्तक पसलबाट रित्तौ फर्कंदा
सन् २००२ तिरको कुरा हो। एउटा अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन पेरिस पुगेका थियौं, सुनिताजी र म। त्यतिखेर हामी हेलेन केलर इन्टरनेसनलमा सँगै काम गथ्र्याैं।
सुनिताजी अर्थात् सुनिता रिमाल, जो कवि तथा नाटककार गोपालप्रसाद रिमालकी बुहारी हुनुहुन्छ। उहाँलाई मेरो पुस्तकमोहका बारेमा राम्रो थाहा थियो।
त्यो हाम्रो पहिलो युरोप यात्रा थियो। पेरिसबाट नेपाल फर्किंदा के लैजाने भन्ने लागिरहेको थियो। सुनिताजीले भन्नुभयो, ‘तपाईँ त किताब नै लैजानुहुन्छ होला नि।’ सोचेँ, पेरिसमा कुनै एउटा राम्रो किताब किन्छु।
हामीले पुस्तक पसल खोज्न थाल्यौं। खोज्दै जाँदा एउटा ठूलो पुस्तक पसल भेटियो। पसल देख्नेबित्तिकै म एकदमै खुसी भएँ। हामी पुस्तक पसलभित्र पस्यौं। पसल ठूलो एरियामा फैलिएको थियो। र्याकमा प्रशस्त पुस्तक सजाएर बेच्न राखिएका थिए। पसलको आकार हेर्दा लाग्यो, त्यहाँ त जुन कुनै पुस्तक पनि पाइनुपर्छ।
र्याकबाट एउटा पुस्तक निकालेर हेरेँ, त्यो अंग्रेजी भाषामा थिएन। राम्ररी हेरेँ, फ्रेन्चमा लेखिएको थियो। अर्को पुस्तक निकालेर पाना पल्टाएँ। त्यो पनि फ्रेन्चमै लेखिएको थियो। हेर्दाहेर्दै त्यो पसलभरिका सबै पुस्तक पे्रmन्च भाषामा लेखिएका छन् भन्ने थाहा पाएँ।
मैले त्योभन्दा पहिले फ्रेन्च भाषामा त्यति धेरै किताब लेखिएका होलान् भन्ने कल्पना पनि गरेको थिइनँ। मैले जहिले पनि नेपाली र अंग्रेजी भाषाका पुस्तक मात्रै देखेको थिएँ। त्यो घेराबाट मेरो मस्तिष्क बाहिर निस्केको थिएन। म ती किताब देखेर दंग परेँ। किताबका सबै र्याकमा आँखा डुलाएँ। ती किताब पढ्ने पाठकहरू सम्झेँ। फ्रेन्चभाषी पाठकहरू संसारको कल्पना गरेँ।
त्यत्रो पसलमा एउटा न एउटा अंग्रेजी किताब त हुनुपर्छ। म आफूले नै खोज्न जानिनँ भन्ने लाग्यो। त्यसैले काउन्टरको मानिसलाई अंगे्रजीमा सोधेँ, ‘यहाँ अंग्रेजीको सेक्सन कता छ ?’
उसले मेरो कुरा बुझ्यो कि बुझेन भन्ने मैले ठम्याउन सकिनँ। उसले जवाफ त फर्कायो तर के भनेको थियो भन्ने मैले बुझिनँ।
मलाई उसले ‘अंग्रेजी बुझ्दिनँ, फ्रेन्चमा बोल’ भनेझँै लाग्यो। अब पारा आएन, मैले हार मानेँ। उसलाई ‘मेर्सी’ मात्रै भनेर मुस्काएँ । त्यसपछि हामी त्यो विशाल पुस्तक पसलबाट एउटा पनि पुस्तक नकिनी बाहिरियौं ।
गोपी सापकोटा कवि तथा नाटककार हुन् ।