अन्तर-सांस्कृतिक कोलाज

अन्तर-सांस्कृतिक कोलाज

‘अंग्रेजीमा लेख्ने नेपाली’, चल्तीको शब्दावली हो यो। सम्राट उपाध्याय र मञ्जुश्री थापा मात्र होइन; केशर लाल, ग्रेटा राणा, रवि थापा, प्रवीण अधिकारी, प्रणय राणा र अरू धेरै सिर्जनशील नेपाली लेखकको नाम थप्न सकिन्छ यो पंक्तिमा। जातीय हिसाबले हेर्दा क्षत्री बाहुन लेखककै बाहुल्य देखिन्छ। महिलाको संख्या त अझ कम। त्यसैले सुखद मान्नुपर्छ, श्रद्घा घले यो लहरमा उभिनुलाई। कैयौं अखबारी लेख निबन्धबाट चिनिएकी छन् उनी अंग्रेजी पाठकमाझ। गैरआख्यानमा मात्रै सीमित रहेन अब उनको परिचय। ‘दी वेवार्ड डटर  : अ काठमाडौं स्टोरी’मार्फत दमदार डेब्यु गरेकी छन् आख्यानजगत्मा।

 
मध्यमवर्गीय ‘तमुले’ परिवारको कथा हो ‘दी वेवार्ड डटर’ मूलत :। औसत मान्छेको सपनाको खोजीको कथा। काठमाडौंमा घर, राम्रो कमाइ, सुखी जीवन, सामाजिक हैसियतमा वृद्धि- यही सेरोफेरोमा घुमेको छ धेरै मध्यमवर्गीयको जीवनचक्र। तमुले परिवारको मूली गजेन्द्र पनि कसरी अपवाद रहनु र यो दौडमा ? केटाकेटीबाट राखेको अपेक्षा र त्यसका परिणामका साक्षी बसेका छन् गजेन्द्रका चोटपीडा, छटपटी र खुसी। गाउँमा अभाव र प्रतिकूलतामाझ पनि आनन्दले बसिरहेको देख्छन् आफ्नो दाइलाई। राजधानीको सुखसुविधामा पनि निरसिलो र यान्त्रिक लाग्छ आफ्नो जीवन। अनि सुस्केरा निस्किन्छ उनको-थुइक्क, साँघुरो र खुम्चिएको मेरो अस्तित्व।

महिला पात्रहरूको बाहुल्य छ उपन्यासभर। गजेन्द्रकी सासू अर्थात् बोजूको बिर्सनै नसकिने चरित्र छ। छाडा बोली र झगडालु स्वभाव त उनको परिचय भइगयो। उनकै कारण गजेन्द्रका भतिजीहरू गंगा र मनलहरीबीचको द्वन्द्व बढ्दै जान्छ। तर, उपन्यासको हास्यरस उनमै निर्भर छ। यसबाहेक गजेन्द्रकी श्रीमती प्रेमकला, छिमेकी देवी दिदी र छोरीहरू सुम्निमा र नुमा तथा उनीहरूका स्कुल कलेजका साथी गरी अरू धेरै छन्।

यिनै पात्रबीचको वर्गीय विभेद र अन्तरद्वन्द्व चाखलाग्दो छ। परम्परा र आधुनिकताबीचको सतत् संघर्ष छ यहाँ-गाउँमै रहेका, गाउँबाट भर्खरै सहर पसेका वा वर्षौंपहिले सहर आएका अनि सहरमै पुस्तौं बिताएका पात्रको वरिपरि। यिनै द्वन्द्व र घर्षणबीच आफ्नै समाज र परिवेश परावर्तन भएझैं लाग्नसक्छ पाठकलाई, उपन्यासका अनेक मोडमा। 

माथिल्ला हैसियतकाको बगालमा मध्यमवर्गीय परिवारका केटाकेटी कति अप्ठ्यारा र अपमान झेल्न बाध्य छन्, सुम्निमाको चरित्रले प्रस्ट्याउँछ। बोर्डिङमा लैजाने टिफिनदेखि ठूलाबडाको बिहेबारीमा जाँदाको संकोच, कलेजमा नयाँ विद्यार्थीले झेल्ने ‘र्‍यागिङ’ भन्दा कम छैन। पाहुना आतंक काठमाडौंका मध्यमवर्गीयको क्रमागत समस्या भइगयो। माओवादी द्वन्द्वकालमा यो सकस अझ ज्यादा थियो। अलि हुनेखाने नातागोताकहाँ गाउँघरका सबै धुइरिनु अन्यथा भएन। तमुले परिवारले निरन्तर झेलेको छ यो समस्या। 

सांस्कृतिक सम्मिश्रणको मोहक झाँकी छ, उपन्यासमा। पूर्वको लिम्बू र पश्चिमको गुरुङ संस्कृतिको मिश्रण। 

सन् ९० को दशकपछि खुला हुँदै गरेको नेपाली समाज। दृश्य संसारसँगको पहुँच सहज नरहेको त्यो समय दिनचर्याको ठूलो हिस्सा ओगटेको हुन्थ्यो एफएम रेडियोले। एफएम पुस्ताको आरजेप्रतिको सम्मोहन बिछट्टै थियो।

 आरजे सागरसँग सुम्निमाको एकतर्फी प्रेम त्यही प्रतिनिधि घटनाका रूपमा उतारिएको छ। स्कुले जीवनको अन्त्यतिर आरजेप्रति बढेको माया कलेज प्रवेशसँगै भेटघाटमा रूपान्तर हुन्छ। असफल प्रेममा टुंगिएको यो गाथाले सतहमा ल्याउँछ कैयौं डिस्कोर्स-बेमेल हैसियत र त्यसका परिणतिबारे, गैरजिम्मेवार पुरुष मनोवृत्तिबारे अनि सामाजिकीकरणका जटिल पाटाबारे। 

सुम्निमा गजेन्द्रकी जेठी छोरी, केन्द्रीय पात्रजस्तो देखिन्छिन्। तर वेवार्ड डटर अर्थात् नियम नमान्ने छोरी त खासमा बहिनी नुमा हुन्। नुमा विशिष्ट श्रेणीमा एसएलसी पास गर्छिन्। बाबुआमा उनलाई विज्ञान पढाउन चाहन्छन् तर उनी जवाफ फर्काउँछिन्, ‘यो तपाईंको समय होइन। अनि म सुम्निमा होइन। विज्ञान विषय पढ्न मलाई कर नगरे हुन्छ कसैले पनि।’ अर्कोतिर सुम्निमाले बाउआमाको आदेश विरलै उल्लङ्घन गर्छिन्। लुकीछुपी प्रेम गर्नु अलग कुरा। तर तमुले दम्पतीजस्तै हाम्रा अभिभावक अझै लाद्दै छन् आफ्ना सपना केटाकेटीमा, जोर-जबर्जस्ती। यी तिनै बाउआमा हुन् जो ‘थ्री इटियट्स’ जस्ता सिनेमा हेरेर आँसुको भल बगाउँछन्। 

उपन्यासको उपशीर्षक छ-अ काठमाडौं स्टोरी। साँच्चै, अविच्छिन्न भेटिन्छ काठमाडौं कोलाज उपन्यासभर। ट्राफिक जाम, सरकारी अस्पतालको दुरवस्था, स्कुल-कलेजका मनोमानी, बाग्मतीको दुर्गन्ध, बन्द, जुलुस यस्ता गतिविधिको सूक्ष्म चित्रण छ, केस्राकेस्रा केलाएकी छन् सामान्य जनजीवन श्रद्घाले। कथानक दृश्यात्मक छ। पात्रवीचको संवाद स्वाभाविक छ, रैथाने लवजको प्रयोग छ बेलाबखत। ‘काका, काकी, ठूली, कान्छी’ जस्ता सम्बोधन मात्र होइन, ‘खै, ओइ, के छ, पोइला, पाखे, ट्यापे, मस्यौरा, डोको’ जस्ता प्रचलित नेपाली शब्द पनि ठाउँठाउँमा छन्। अर्थ नखुलाई गरिएको यो प्रयोगले गैरनेपाली पाठकलाई भने केही अप्ठ्यारो होला कि ? 

यथार्थ नै श्रद्घाको लेखन धार हो। उनको लेखनले जमिनमा टेकेको मात्र छैन, जरोकिलो नै गाडेको छ। मान्छे र ठाउँ उनका लागि बढी महत्व राख्छन्। घटना र प्रवृत्ति सहायक मात्र। दैनिक जीवनका सकस र द्वन्द्वहरू अनि शक्ति संघर्षका कथा त छन् यहाँ तर प्राय : पारिवारिक चौघेरामा। पञ्चायती व्यवस्थाको विरोधमा निक्लेका विरोध जुलुसबाट माओवादी द्वन्द्व झाँगिएसम्मको छ उपन्यास अवधि। तर ‘पासिङ रेफेरेन्स’जस्तो गरी आएका छन् राजनीतिका सन्दर्भ। राजनीति, शक्ति र पितृसत्ताको जार्गनले सीधै र गाढा प्रवेश पाएका छैनन्। राई काकाको परिवारले दसैं बहिष्कार गरेको प्रसंग यस्तै एउटा संकेत हो। जातीय र लैंगिक विभेदका सन्दर्भ पनि त्यसै गरी आउँछन्। यौनजन्य हिंसा प्रतीकात्मक रूपमा उठाइएको छ-कलेज प्रमुख बलराम सरको हर्कतबाट। श्रद्घालाई उपन्यासमार्फत कुनै ‘टल क्लेम’ गर्नु छैन सायद। 

राजन मुकारुङका उपन्यास (हेत्छाकुप्पा, दमिनी भीर), उपेन्द्र सुब्बाका कथा (लाटो पहाड) र कविता (खोलाको गीत), स्वप्निल स्मृतिका कविता (रंगैरंगको भीर, बाडुली र सुदूर सम्झना), विमला तुम्खेवाका कविता (हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे), वियश राईका कथा (हिउँमाझी)। यी केही आँखीझ्याल मात्र हुन्, जहाँबाट राई लिम्बूका जनजातीय जीवन, संस्कार, संस्कृति देख्नबुझ्न सकिन्छ। त्यसो भए यसअघि नै पूर्वेली निक्खर स्वाद चाखिसकेका नेपाली पाठकका लागि त्योभन्दा फरक के छ त यसमा ? स्वाभाविक जिज्ञासा उब्जिन्छ। 

सांस्कृतिक सम्मि श्रणको मोहक झाँकी छ श्रद्घाको यस उपन्यासमा। पूर्वको लिम्बू र पश्चिमको गुरुङ संस्कृतिको मि श्रण भेटिन्छ यहाँ। उपन्यासकार आफैं पनि अन्तर्जातीय परिवारमा हुर्केकाले होला, प्रेमपूर्वक अनि सहज र सूक्ष्म ढंगले गरिएको छ चित्रण। रसिलो मात्र छैन यो; यहाँ कुण्ठा, पीडा, छटपटी, ईष्र्या सबै छन्। फरक भूगोलका विस्तीर्ण क्यानभास पोतिएका छन्। धान नाच, उधौली उभौली, रोदी, एकादशी, दसैं, होली, भ्यालेन्टाइन डेका इन्द्रेणी झलक छन्। किताबमा कमै आउने खाना र यसका परिकारको वर्णन मज्जाको छ। गुन्द्रुक, सिलाम मात्र होइन; किनेमा, फिलिंगेको स्वाद चखाएकी छन् उनले। त्यसैले त, सांस्कृतिक विविधता, अन्तरसंघर्ष र अन्तर्घुलनको कथाजस्तो लाग्छ ‘दी वेवार्ड डटर’। 

अन्तरसंस्कृतिको विन्यास त छ उपन्यासमा, तर पहाडे भूगोलमा सीमित। तराई हुँदै काठमाडौं आउजाउ गर्छन् केही पात्र तर तराई टेकेको छैन कथाले। दलित चरित्र अनुपस्थित छ सिंगो उपन्यासमा। उपन्यासको उपशीर्षक ‘अ काठमाडौं स्टोरी’ ‘ट्यागलाइन’जस्तो देखिन्छ। केन्द्र काठमाडौं रहे पनि कथा पूर्वपश्चिम फैलिएकै छ आखिर। धेरैतिर छिरलिँदा अन्याय पनि भएको छ कतिपय पात्रलाई। नुमा र मनलहरीको बहिर्गमन हतारमा भएजस्तो लाग्छ।

 उपन्यासको अन्त्यमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेको छ। उपसंहारमा एक पात्र अमेरिका जान लागेको दृश्य छ। सिक्वेल लेखियो भने राजनीतिको केन्द्रमा पुग्ला कि कथा ? 

भनिन्छ, नाममा के छ र त्यस्तो ? तर केही त पक्कै छ। यही उपन्यासमाथिको छलफलमा श्रद्घा भन्दै थिइन्, ‘यो मैले छानेको शीर्षक होइन, प्रकाशकले राखिदिएको हो।’ अमेरिकाको इलिनोयमा यही नामको ‘व्याले’ (नाच) देखाइँदै छ। एक राजकुमारीको तिलस्मी कहानी छ त्यसमा, जो आरामदायी दुनियाँ छोडेर अनिश्चित बाटो समात्छिन्। अमेरिकी लेखिका ब्रेन्डा मिलरको पनि यही शीर्षकमा निबन्ध रहेछ। निबन्धको पुछारतिर ब्रेन्डा भन्छिन्, ‘एक्लो छु। आफ्नै खटनपटन छ, स्वतन्त्र संसारमा रमाइरहेछु म।’ भारतीय प्रकाशक ‘स्पिकिङ टाइगर’ले चयन गरेको ‘दी वेवार्ड डटर’ शीर्षक अमेरिकी व्याले र निबन्धसँग मिल्नु संयोग मात्र हुनसक्छ। 

हिन्दु संस्कार र संस्कृतिले घेरिएको मतवाली परिवार। एउटै भाषा एउटै भेषको राज्यव्यवस्थाको छायाँमा कथित उपल्ला जातिको प्रभाव पर्ने नै भयो अरूमाथि। लामा पढाउनुको सट्टा पण्डित बोलाउँछ तमुले परिवार पनि। ‘तिम्रो छोरो गजे भाग्यमानी छ, बाहुनको छोरोले जस्तै प्रगति गर्ने छ।’ यस्ता पण्डितवाणी सुन्दै हुर्केको जनजाति परिवारले बाहुनकै संस्कृति अनुसरण गर्ने नै भयो। 

मौलिक पहिचानका लागि पैरवी गर्नेहरू पनि यसरी नै कुलीन बन्दै जाने खतरातर्फको संकेत हो यो। भारतीय समाजशास्त्री एमएन श्रीनिवासका शब्दमा ‘संस्कृतकरण’ भन्न सकिन्छ यो अभ्यासलाई-अर्थात् तल्ला मानिएका जातिले कथित माथिल्लाको अनुकरण गर्दै अघि बढ्ने अभ्यास। आखिर छड्के तिलहरीको प्रयोग र आइस्योस्, गइस्योस् जस्ता ‘राजसी’ बोलीले उपन्यासमा जस्तै आमजीवनमा पनि अतिक्रमण गरिरहेकै छ; चाहे त्यो जुनसुकै जात, तह, क्षेत्र र वर्गका नेपालीमा किन नहोस्।


सिभिल इन्जिनियरिङमा स्नातक र साहित्यमा एमफिल [email protected] पढलेख गर्न रमाउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.