प्रकाश नाप्ने चरा

प्रकाश नाप्ने चरा

प्रकाश अर्थात् सूर्यको किरण जो समय हो । दिन-रात अर्थात् उज्यालो-अँध्यारो यसैका कारणले हुन्छ । समयको मापन यसैको चालका आधारमा गरिन्छ । समय केले नापिन्छ भनी प्रश्न गर्‍यो भने ‘घडीले’ । बोलीचाली जवाफ भइसक्यो । तर अझ पछिल्लो पुस्ताले मोबाइल फोन भन्न बेर लाउँदैन । यो कथाले घडी र मोबाइल फोनको समय मापनबारे बोल्दैन । न त यसले डाँडामा ओर्लंदै र चढ्दै गरेको घामको झुल्कोका भरमा समय नाप्ने मेरा हजुरबुवाको पालाको कथा भन्छ ।

यो कथा डाँडाको घामको झुल्को र घडीको आविष्कारभन्दा धेरै पहिलेको समाजको समय नाप्ने संकेतको हो । त्यो समाज जुन बेला मान्छेहरूले जंगली जनावर घरमा पाल्नसम्म थालेका थिएनन् । यो कथा समय नाप्ने आधुनिक आविष्कारहरूको आधार हो । कथ्यमा सीमित यो कथा, कसले कह्यो मेरा हजुरबुवाका हजुरबुवाले पनि पत्तो पाएनन् होला । मलाई भने ६ दशक चार वर्ष लामो जीवन बाँचेका मेरा बाबाले म सानो छँदा मेरो जिज्ञासा मेटाउने सिलसिलमा सुनाउनुभएको थियो । 

धेरै वर्षपहिले पृथ्वीमा हिमाल बनेका थिएनन् । हिमाल बन्नुभन्दा पहिले सबैतिर समथर जमिन थियो । त्यही समथर मैदानमा घना जंगल थियो । जंगलमा जीवजनावर र चराचुरुंगीहरू बस्थे । तिनीहरू कसैको यो मेरो, त्यो तेरो भन्ने आफ्नो क्षेत्र थिएन । जसलाई जहाँ जान मन लाग्यो जान सक्थे । जे गर्न मन लाग्यो गर्न सक्थे । 

त्यो जंगलमा दुइटा चरा डाँफे र कल्चु पनि बस्थे । यी दुई चराले मीत लगाएका थिए । किनकि यिनीहरू दुवैको शरीरको रङ मिल्दो थियो । दुवै नौरंगी थिए । दुवैले बिहान उदाउँदो उज्यालोसँगै गीत गाएर संसारलाई जगाउने काम गर्थे । दुवै धेरै लामो दूरीसम्म एकैचोटि उड्न सक्दैनथे । दुवै अँध्यारोमा उड्न सक्दैनथे । दुईबीच कति फरक थियो भने डाँफेको शरीर अलि ठूलो, कल्चुको सानो । यसैले यी दुई चरा भिन्न हुन् भन्ने बुझाउँथ्यो । 

एक दिन पृथ्वीमा प्रलय भयो । जमिन उल्टियो । जमिनको कुनै भाग भासियो । कुनै भाग ढुंगामाटो थुप्रिएर अग्लो भयो । भासिएर तल झरेको भाग बेसी बन्यो भने माटो ढुंगा थुप्रिएर माथि उठेको भाग लेक बन्यो । लेक र बेसीको हावापानी पनि फेरबदल भयो । लेकमा चिसो र बेसीमा गर्मी हुने भयो । प्रलयका बेला त्यहाँ बस्ने जीवजनावरमाथि विपत्ति आइलाग्यो । जताततै धुलो धुवाँ फैलिएको थियो । त्यसले गर्दा कहाँ के भइरहेको छ देख्न सकिँदैनथ्यो । धेरै रूखबिरुवा जीवजनावर जमिनमुनि पुरिएर बिलाए । केही घाइते भएर पनि बाँचे । केही चराचुरुंगी लामो समयसम्म आकाशमा उडेर बाँचे । बाँचेका थोरै जीवमध्ये दुई मीत पनि परेछन् । दुवै बाँचे पनि पहिलेको जस्तो सँगै हुन पाएनन् । किनकि डाँफे चरी प्रलयमा 
परेर लेकमा पुगेछ भने कल्चु लेकबाट बेसीमा बगेर आएका खोलाका किनारतिर पुगेछ । 

यी दुई मीतलाई विपद्बाट आफूहरू बाँचेका छौं भन्ने पत्तो थिएन । डाँफेले मेरो मीत प्रलयमा परेर मर्‍यो भन्ने सोच्यो । कल्चुले पनि आफू बसेको ठाउँमा धेरै दिनसम्म मीतसँग भेटघाट नभएपछि मीतज्यू मरिसकेछ भनेर मनठोक गरेको थियो । मर्ने मरेर गइसके । बाँच्नेले दिन त कटाउनु पर्‍यो । बिछोडको पीडामा धेरै समय बित्दै गए । विस्तारै समयक्रम सँगसँगै एक्लाएक्लै रमाउन पनि थाले । 

डाँफे आहारा र आश्रमको खोजीमा लेकका वारिडाँडा पारिडाँडा गर्ने गथ्र्यो । लेकबाट बेसीलाई चियाउने गथ्र्यो । डाँफेलाई अब यी लेक रमाइला लाग्न थालिसकेका थिए । तिर्खा लागेको बेला पानी खान खोलाको मूलसम्म पुग्ने गथ्र्यो । 

त्यसैगरी कल्चु पनि खोला-उँधो खोला-उभोँ, खोलावारि खोलापारि धाउँदै आहारा खोजिरहेको हुन्थ्यो । खोलाको सुसाहट अनि पानीले चिप्लो पारेका चिप्ला ढुंगा कतै बालुवा थुप्रिएका किनारहरू, तिनैमा आफ्ना नियमित पदचाप छोडेर खोला उँधो-उँभो धाउँदाधाउँदै एक दिन खोलाको मूलसम्म पुगेका बेला डाँफेसँग जम्काभेट भयो । दुवैले एकआपसमा ठम्याएनन् । किनकि एकले अर्कोलाई मरिसकेको सोचेका थिए ।

प्रलयका बेला त्यहाँ बस्ने जीवजनावरमाथि विपत्तिा आइलाग्यो। जताततै धुलोधुवाँ फैलिएको थियो। त्यसले गर्दा कहाँ के भइरहेको छ देख्न सकिँदैनथ्यो । धेरै रूखबिरुवा जीवजनावर जमिनमुनि पुरिएर बिलाए। केही घाइते भएर पनि बाँचे । केही चराचुरुंगी लामो समयसम्म आकाशमा उडेर बाँचे। बाँचेका थोरै जीवमध्ये दुई मीत पनि परेछन्। 

अनि नयाँ हावापानी र भूबनोटमा दिनहरू बिताउँदै गर्दा उनीहरूको शरीरमा पनि बदलाव आएको थियो । डाँफे मोटाउँदै गएको थियो । कल्चु पहिलेभन्दा अझ सानो सिलिक्क परेको पातलो भएको थियो । शरीरको रंगी विरंगी भने दुवैको उस्तै । 
जम्काभेटमा दुवैले एकले अर्कालाई गहिरिएर नियाले । दुवै स्तब्ध रहे ।
केही बेरको नि :शब्दता चिर्दै कल्चुले मुख फोड्यो, ‘तिमी को हौ ? मजस्तै देखिन्छौ तर बढेमान छौ ।’ 
‘म डाँफे’, जवाफ दिँदै ठट्टा मिसाएर प्रतिप्रश्न गर्‍यो, ‘म तिमीजस्तो होइन । तिमीचाहिँ मजस्तो ।’ 
डाँफेले कल्चुतिर हेर्दै, ‘अनि तिमीचाहिँ को नि ?’

‘डाँफे रे !’ कल्चुलाई पत्यार लागेन । तैपनि प्रतिप्रश्नको उत्तर दियो, ‘तिमी साँच्चिकै डाँफे हो भने म तिम्रो मीतज्यू कल्चु ।’ 
‘ओहो ! हो, मीतज्यू मैले अघि देख्नेबित्तिकै ‘हो कि - हो कि’ जस्तो लागेको थियो । ठम्याइहाल्न सकिनँ । तिमी त उस्तै दुब्लो पातलो । अझै लिखुरे भएछौ’, डाँफेले मनको भाव पोख्यो । 
डाँफेको शरीरतिर हेर्दै ‘हैन, किन के भयो मीतज्यू, यस्तो पुक्क फुलेको ?’ एक सासमा कल्चुले आफ्ना जिज्ञासा लहरै राख्यो । 
एकछिन सोचमग्न भएर डाँफेले भन्यो, ‘मेरो पहिलेको भन्दा अहिले आहारा बढेको छ । त्यसैले मोटाएको छु । त्योभन्दा मुख्य कुरा त प्रलयपछि म जहाँ बस्न पुगेँ, त्यहाँ असाध्यै चिसो हुन्छ । सुरुसुरुमा त म थुरथर 

कामेर दिन कटाउथेँ । पछि बिस्तारै मेरा शरीरका प्वाँखपखेटा र भुत्लाहरू आपसेआफ बढ्न थाले । त्यसले मलाई न्यानो गरायो । अनि ज्यान पनि ठूलो देखिन थाल्यो ।’
हावापानीअनुसार शरीरमा देखिएको बदलावलाई स्वाभाविक ठानेर कल्चुले बढेका प्वाँखपखेटाभन्दा खानाप्रति बढी चासो देखाउँदै जिज्ञासा थप्यो, ‘मीतज्यू बस्ने ठाउँमा धेरै खानेकुरा पाइन्छ कि क्या हो ?’

‘खानेकुरा धेरै पाइनेभन्दा पनि समयचाहिँ धेरै पाइन्छ’, डाँफेले जवाफ दियो । 
‘भनेको मैले बुझिनँ’, कल्चुले स्पष्ट हुन खोज्दै थप्यो, ‘हैन, दिनभरि जे-जति खोज्न सकिन्छ, त्यति न खाने हो । कसरी तिम्रो धेरै हुन्छ ?’ 
‘समय धेरै हुन्छ भनेको मतलब, म बस्ने ठाउँमा चाँडै घाम लाग्छ 

र ढिलो अस्ताउँछ । त्यसैले लामो दिनमा अबेरसम्म पनि खाना खोज्न पाइयो । अबेरसम्म खोज्दा धेरै खाइने भयो’, डाँफेले आफ्नो राय राखेर बुझाउन खोज्यो । 
तर कल्चुलाई डाँफेको उक्त कुराले झन् रिस उठायो । कल्चुलाई डाँफेले फूर्ति लगाएजस्तो भान भयो । उसले के बुझेको थियो भने कल्चुको बिहानी भाकासँगै उज्यालो जगत्भरि फैलिन्छ । रात हराउँछ । त्यसैले उज्यालो त बेसीमा पहिला हुन्छ । अनि कल्चु बम्कियो, ‘हैट् ! यस्तो नहुने कुरा गर्ने मीतज्यू, तिमी ? बेसीमा पहिला उज्यालो हुन्छ । खोलामा उदाएको उज्यालोसँगै मैले चिरिबिरी ! चिरिबिरी !! गीत गुञ्जाएपछि बेसीका मानवजातिदेखि अन्य जीवजनावर जागेर कामको सुसन्धामा लाग्छन् । आजसम्म मभन्दा पहिले तिमीले बिहानी गीत गाएको सुनेकै छैन । कसरी तिमीलाई बढी समय हुन्छ यार ।’ 
डाँफे मुस्कुराउँयो र मनमनै भन्यो, ‘विचरा माथिबाट तलतिर 

संसार एकचोटि चियाएर देखेको भए पो !’ अनि जवाफ फर्काउँदै बोल्यो, ‘मैले गाउँदा तिमी निद्रामा सपना देखिरहेका हुन्छौ, कसरी मेरो बिहानी भाका सुन्छौ त ? तिमीलाई पत्यार लाग्दैन भने मेरो इलाकामा गएर आफैं विचार गर्न सक्छौ ।’

कल्चुलाई आफूलाई ‘सपना देखिरहेका हुन्छौ’ भन्दा चोट पर्‍यो । उसले डाँफेलाई प्रतिकार गर्ने शैलीमा फेरि प्रश्न गर्‍यो, ‘मैले गाएको तिमीले सुनेका छौ त ?’ ‘छैन ।’ डाँफेले शालीन भएर जवाफ फर्कायो र विवाद टुंगो लगाउन खोज्दै भन्यो, ‘धेरैपछि संयोगले भेट भएका हामी दुई मीत किन यस्तो विषयमा वादविवाद गरिरहेका छौं । बरु जाऊँ मीतज्यू मेरो घरतिर ।’
‘हैन । यो विषयको टुंगो नलगाएसम्म हामी एकअर्काको घरमा नजाने । अनि मैले गाएको तिमीले नसुनेको भए कसरी भन्यौ कि तिमी बस्ने ठाउँ लेकमा पहिला उज्यालो हुन्छ । तिमी त्यो उज्यालोसँगै बिहानी भाका गाउँछौ ? त्यसैले म त भन्छु बेसीमा पहिला उज्यालो हुन्छ’, कल्चुले अडान लियो ।डाँफे दिक्क मान्दै ‘ओहो ! मीतज्यू कस्तो नपत्याएको । अनि कति जिद्दी गरेको ? नभएको कुरामा हो भन्नु ठीक हैन है’ भन्दै आफ्नो बाटो लाग्यो । कल्चु भुर्रर उडेर डाफेँको अगाडि रोक्किई बाटो छेक्दै भन्यो, ‘ए मीतज्यू, तिमीलाई मेरो कुरा नभएको लाग्यो ? नभएकै हो भने प्रमाणित गरेर देखाऊ ।’‘हत्तेरी मीतज्यू ! प्रमाणित गरेर आफ्नै मीतलाई हारेको जस्तो कसरी बनाऊँ म ? त्यसैले आजलाई आ-आफ्नो बाटो लागौं । फेरि भेटौंला ।’ डाँफेले फेरि यो विषयलाई किनारा लाउन खोज्यो । 

कल्चुलाई रिस उठ्यो । कुरालाई निकास दिनैपर्ने जिद्दी कस्दै कल्चुले भन्यो, ‘हार र जितमा यो कुरा पुगिसकेकाले आँट छ भने यो कुरा प्रमाणित गर्ने खेलमा सामेल होऊ । बाजी राख ।’
‘बाजी ? कस्तो बाजी, के बाजी ?’ झ्याउ मान्दै डाँफेले सम्झाउन खोज्यो, मीतज्यू तिमी यस्तो नगर । यो तिम्रो लागि फाइदाजनक छैन ।’ 
‘कुनै पनि बाजी’, कल्चुले भन्यो ।
डाँफेले भन्यो, ‘ल तिमी नै तोक न त ।’ 

कल्चु एकछिन सोचमग्न भयो । अनि बोल्यो, ‘तिमीले भनेको सही भयो भने तिमीले हाम्रा मितेरी गुणहरूबाट मूल्यवान् लागेको मेरो एउटा गहना मेटाइदिनू । मैले भनेको मिल्यो भने म त्यसै गर्छु ।’ 
‘अब नमानी नछोड्ने भयौ, त्यसैले ठीकै छ’, डाँफेले स्वीकृति जनायो । 
‘ल भन मीतज्यू, कुरा कसरी प्रमाणित गर्ने हो ?’ काम अगाडि बढाउन कल्चुले भन्यो । 
ध्यानमग्न हुँदै डाँफेले सोध्यो, ‘ल मीतज्यू, त्यसो भए म एउटा विधि भन्छु । तिमीलाई ठीक लाग्यो भने त्यहीअनुसार काम गरौं । हुन्छ ?’ 
 कल्चुले भन्यो, ‘हुन्छ ।’
डाँफेले एक विधि सुझायो, ‘कुनै एक मध्यबिन्दु (बीचको ठाउँ) तोकौं । म माथि लेकबाट लेकको उज्यालोसँगै तल झर्छु । मीतज्यू तल बेसीको उज्यालोसँगै माथि चढ्नु । जो पहिला त्यो मध्यबिन्दुमा पुग्छ, उसैले भनेको सही हुन्छ ।” 
‘ल हुन्छ’ भन्दै कल्चु राजी भयो । दुवै प्रतिवाद गर्दागर्दै उज्यालो कहाँ पहिले हुन्छ भन्ने विषय 
परीक्षण गर्ने सर्तमा पुगे । मिति तय गरे । परीक्षण मितिअगावै एकले अर्काको घर चिन्ने योजना बन्यो । त्यसअनुरूप उनीहरू प्रलयपछिको दोस्रो भेट पूरा गरी तेस्रो भेट परीक्षण दिन हुने सल्लाह मिलाएर आआफ्नो बाटो लागे । परीक्षण हुने राति दुवैले कुनचाहिँ गहना महत्वपूर्ण होला भन्ने सोचेर राति सुते । परीक्षणको बिहान मिर्मरे उज्यालोसँगसँगै डाँफे लेकबाट तल झर्‍यो । तोकिएको मध्यबिन्दुमा पुगेर रोकियो तर कल्चु कतै देखा परेन । उज्यालो उक्त बिन्दुबाट निकै तल झरिसक्दा पनि कल्चु देखा परेन । डाँफे त्यहाँबाट पनि तल झर्‍यो । उज्यालोसँगसँगै कल्चुको घरमा पुगेर डाँफेले कल्चुको ‘नौ रङ’ खोसिसकेपछि कल्चु ब्यूँझियो । आफ्नो समीपमा डाँफेलाई देखेपछि कल्चु लाजले भुतुक्क भयो । 

‘आफ्नो मीतको बोलीलाई विश्वास नगर्ने तिमीलाई म आजबाट ‘मीत’ हैन ‘कालिकल्चु’ भन्छु । किनकि मैले तिम्रै सर्तअनुसार मलाई लागेको तिम्रो मूल्यवान् गहना लुटिदिँदा तिमी कालो भएका छौ । यो खेलको नियम हो । म भंग गर्न सक्दिनँ ।” यति भनेर त्यसउप्रान्त कालो रङमा मात्र देखिने कालिकल्चुसँग बिदा माग्यो । अनि बेसीभन्दा पहिले लेकमा उज्यालो हुने प्रमाणित गरेर डाँफे आफ्नो घर लेक अर्थात् हिमालयतर्फ फर्कियो । 
@ ankalalchalaune समाजशास्त्रमा स्नातकोत्तर हुन्।

(श्रुति परम्पराबाट जीवित हाम्रो लोकजीवन अहिले संकटमा छ । घरघरमा कथा कहने, गाथा गाउने, ‘गाउँ खाने-दिने’ जुन चलन थियो, त्यो झन्नै लोप हुँदो छ । लोकवार्ताका विभिन्न रुपहरू हाम्रा मौलिक पहिचान हुन् । लोककथा, दन्त्यकथा, किंवन्दन्तीहरू हाम्रो तत्कालीन समाज हेर्ने आँखीझ्याल हन्, हामी यस स्तम्भमा संकलन नभएका ती कथ्य सामग्री छाप्नेछौँ ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.