सेतकचिनीमा छैन छुटपुर्जी
जाजरकोट : सेतकचिनी (खिरौलो) निकासीको छुटपुर्जी नपाउँदा व्यापारी मर्कामा परेका छन्। वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नहुँदा सेतकचिनी कुहिन थालेको हो।
जिल्लाका विभिन्न पाटनबाट संकलित सेतकचिनी (खिरौलो) निकासी नहुँदा सड्ने अवस्थामा पुगेको छ। निकासीका लागि वन तथा वातावरण मन्त्रालयबाट ईआईए स्वीकृत नहुँदा डिभिजन वन कार्यालय जाजरकोटले छुट पुर्जी दिन नसकेको हो। समयमा वातावरणीय प्रभाव मूल्यांकन( ईआईए ) स्वीकृत नगर्दा छुटपुर्जी दिन समस्या भएको कार्यालयले जनाएको छ। सेतकचिनी सड्ने अवस्था पुगेपछि कतिपयले अवैध तरिकाले निकासी गर्न थालेका छन्। कार्यालयको लापरबाहीले समयमा मन्त्रालयमा ईआईएका लागि कार्ययोजना नपठाउँदा स्वीकृत गर्न ढिलाइ भएको मन्त्रालयले जनाए पनि पेस गरेकै ६ महिना बितिसक्दा पनि स्वीकृत हुन नसकेको हो।
वन डिभिजन कार्यालयले सम्बन्धित वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (ईआईए) गरेका कारण ५० हजार किलोको मात्र छुटपुर्जी दिने अनुमति पाएको छ। करिब दुई सय ठेकेदारले ६ लाख किलो छुट पुर्जीको माग गर्दै निवेदन दिएका छन्। तर, कार्यालयले हालसम्म प्रतिठेकेदार तीन सय किलोसम्म मात्र छुटपुर्जी दिएको छ। मागको तुलनामा निकै कम परिमाणको छुटपुर्जी पाएपछि व्यापारी समस्यामा परेका हुन्। व्यापारी गोरख शाहीले माग गरेअनुसार छुटपुर्जी नपाउँदा संकलित सेतकचिनी सड्ने अवस्थामा पुगेको गुनासो गरे।
‘कार्यालयमा धाउन थालेको महिनौं बितिसक्यो तर अझै ईआईए स्वीकृत भएको छैन भन्दै छुटपुर्जी दिइएको छैन’, उनले भने, ‘वर्षा लाग्न थालिसक्यो, साहुसँग ऋण गरेर खरिद गरिएको सामान छिटो निकासी नहुँदा लाखौं रुपैयाँ डुब्ने अवस्था आएको छ।’ असोज अन्तिम सातादेखि मंसिर पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न पाटनमा बहुमूल्य सेतकचिनी खिरौलो खन्ने गरिन्छ। जमिनमुनि सखरखण्डजस्तो फलेका दाना खनेर निकालेपछि पकाएर सुकाउनुपर्छ। यसरी तयार पारिएको सयांै क्विन्टल सेतकचिनी बारेकोट, थलहबजार, कालिमाटी, रिम्ना, पाँचकाटिया, तल्लुबगरलगायत स्थानमा अलपत्र परेको छ।
उक्त खिरौलो विभिन्न नाकाहुँदै चीनतर्फ निकासी हुने गरेको छ। व्यापारीले ३० हजार प्रतिक्विन्टलमा खरिद गरेको सेतकचिनी एक लाख रुपैयाँ प्रतिक्विन्टलसम्म बिक्री गर्ने गरेका छन्। कतिपय व्यापारीले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट छुटपुर्जी लिएर निकासी गरेका छन्। सेतकचिनीको छुटपुर्जी लिन कार्यालय धाउन थालेको ६ महिना बितिसक्दा पनि पाउन नसकेको बारेकोट गाउँपालिका–४ जिरीका व्यापारी रवि रावतले बताए। कार्यालयले विभिन्न बहानामा छुटपुर्जी नदिएपछि सेतकचिनी खरिदमा लगानी गरेका व्यापारी चिन्तित बनेका छन्। वन कार्ययोजना स्वीकृत नभएका कारण सेतकचिनीलगायत जडीबुटी निकासीमा पुर्जी दिन नसकिएको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख मन्जुर अहमदले जानकारी दिए।
एक्सन फर इन्जिनियरिङ सोलुसनले जाजरकोटका वनको वातावरणीय प्रभाव मूल्यांकनको जिम्मा लिएकोे थियो तर समयमा उक्त कार्य नगर्दा समस्या देखिएको डिभिजन वन प्रमुख अहमदले बताए। उनले उक्त कार्ययोजना स्वीकृतिको अन्तिम चरणमा पुगेको दाबी गरे। जिल्लाका विभिन्न पाटन तथा जंगलमा पाइने बहुमूल्य सेतकचिनी संकलन तथा निकासी व्यवस्थित गर्न नसक्दा एकातिर लोप भएर जाने खतरा बढेको छ भने अर्कोतिर करोडांैको राजस्व गुम्ने खतरा बढेको छ।