सिन्धुलीका ५० दलित परिवारलाई भूकम्प प्रतिरोधात्मक घर
सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका- ९ का घरबारविहीन ५० दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक पक्की घर निर्माण गरिएको छ।खोला किनारा तथा ऐलानी जग्गामा टहरा बनाएर बर्षौंदेखि बसोबास गर्दै आएका दलित समुदायको मुसहर बस्तिमा उनिहरुका लागि ५० वटा घरहरु निर्माण गरिएको हो।
१ करोड २३ लाख रुपैयाँ लागत तथा मुसहर समुदायको १० प्रतिशत श्रमदानमा दुई कोठाका ५० वटा भूकम्प प्रतिरोधात्मक पक्की घरहरु निर्माण गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीले जनायो।
नेपाल सरकारले संचालन गरेको जनता आवास कार्यक्रम अन्तरगत ५० परिवार दलित मुसहरका लागि दुई कोठाको पक्की घरहरु निर्माण गरिएको उक्त कार्यालयका इन्जीनियर दुर्गा घिमिरेले बताए।
मुसहर समुदायका लागि निर्माण गरिएका ५० वटा घरमध्ये १० वटा घर निर्माण सम्पन्न गरिएको र बाँकी ४० वटा घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको घिमिरेले जानकारी दिए।
गरिव तथा विपन्न मुसहरका लागि घर, शौचालय, खानेपानी, बाटो सहितको भौतिक पूर्वाधार निर्माण गरी घर हस्तान्तरण गरिने घिमिरेले बताए।'बाँकी घरको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको र सबै भवन निर्माण सम्पन्न भएपछि मुसहरलाई हस्तान्तरण गर्नेछौं,' उनले भने।
आवासविहीन सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको 'जनता आवास कार्यक्रम' अन्तर्गत मुसहर समुदायका विल्टु सदा, सनिया मुसहर, रितलाल सदा, रमनी सदा, डब्कु सदा, रामबृद्ध सदालगायत अन्य ४ जनाको घरी 10 वटा घर निर्माण सम्पन्न भएका छन्। 'बाँकी घरहरु पनि चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने योजना छ,' उनले भने।
जिल्लामा निकै ढिलो गरी सुरु भएको जनता आवास कार्यक्रम समन्वयन समिति सिन्धुलीले दुधौली नगरपालिका-९ को मुसहरबस्ती, कमलामाई नगरपालिका-१ डाडी गुराँसेका हायू बस्ती र साविक बाशेश्वर गाविसको सार्की दलित बस्तीमा कार्यक्रम संचालनका लागी अध्ययन, अवलोकन गरेको थियो।
तर, जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७३ का आधारमा समितिले अध्ययन, अवलोकन गरेका तिन स्थान मध्ये दुधौली नगरपालिका वडा नं. ९ को मुसहरबस्तीमा अधिकाशं मुसहर, अति विपन्न, घरबारविहीन, खोला किनारामा बसोबास गरेको पाएपछि त्यस क्षेत्रमा घरहरु निर्माण गर्ने अन्तिम निर्णय भएको थियो।
उक्त मुसहर बस्तिमा दुधौली नगरपालिकाले सडक, खानेपानी र शौचालय व्यवस्थापन गर्ने समेत बताइएको छ।अति विपन्न मुसहर समुदायको दैनिकी ज्यालमजबुरीबाट चल्दै आएको छ। शिक्षामा निक्कै पछाडी परेका मुसहरहरुका बालबच्चा समेत आर्थिक अभावका कारण विद्यालयमा भर्ना हुन पाउँदैनन्।