कालिकोटमा महिला तथा बालबालिका केन्द्र
कालिकोट : कालिकोट जिल्लाको सदरमुकाम मान्ममा महिला तथा बालबालिका केन्द्रको स्थापना भएको छ।विभिन्न समस्यामा परेका महिला तथा बालबालिकालाई सहयोग गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो। सामाजिक सेवा केन्द्र दैलेख र खाँडाचक्र नगरपालिकाको सहकार्यमा समस्यामा परेका महिला तथा बालबालिकाको कानुनी सहायता तथा परामर्शका लागि महिला तथा बालबालिका केन्द्रको स्थापना गरिएको हो।
सामाजिक सेवा केन्द्र सोसेक दैलेखका अध्यक्ष हिरासिंह थापाको अध्यक्षतामा एक कार्यक्रमका बीच प्रमुख अतिथि खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले केन्द्रको उद्घाटन गरे। कार्यक्रममा नगर प्रमुख पाण्डेले खाँडाचक्र नगरपालिकालाई महिला हिंसा, बालबिबाह, बहुविवाह, बालश्रम मुक्त नगरका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकामा महिला तथा बालबालिका केन्द्रको स्थापना गरिएको बताए। उनले यसले समस्यामा परेका महिला तथा बालबालिकालाई, खोज, उद्धार र कानुनी तथा परामर्श सेवा दिने बताए। उनले भने, 'हामीले खाँडाचक्र नगरपालिकालाई स्वच्छ, सभ्य र बालमैत्री नगरपालिकाका रुपमा विकास गर्ने लक्ष्य लिएका छौँ।महिला अधिकार र बाल अधिकारका विषयमा नगरसँगै समन्वय गरेर केन्द्रले काम गर्ने छ।'
कार्यक्रममा सामाजिक सेवा केन्द्र दैलेखका अध्यक्ष हिरासिंह थापाले खाँडाचक्र नगरपालिकामा स्थापना गरिएको महिला तथा बालबालिका केन्द्रले समस्यामा परेका महिला तथा बालबालिकालाई निशुल्क कानुनी तथा परामर्श सेवा दिने बताए। उनले भने,' हामी बालविवाह, बालश्रम, बाल हिंसा, घरेलु हिंसा, लैंगिक हिंसा न्यूनिकरणका सवालमा सहयोग र वकालत गर्नेछौँ।'
समस्यामा परेका महिला तथा बालबालिकालाई केन्द्रमा ५ देखि ७ दिनसम्म राखेर परामर्श तथा कानुनी उपचार सेवा दिनेछौं । उनका अनुसार समस्यामा परेका महिला तथा बालबालिकाको दीर्घकालिन सुरक्षा, संरक्षण, अन्यायमा परेकालाई न्याय दिन सहजिकरण, आपतकालीन गृह सेवा, मनोसामाजिक परामर्श सेवालगायतका सेवाहरु केन्द्रमार्फत दिइने भएको छ।
कार्यक्रममा जिल्ला बारका अध्यक्ष दमनराज बम, जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरे, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख हरीबहादुर बस्नेत, दलित महिला संघका अध्यक्ष हजा सुनारलगायतका वक्ताले जिल्लामा बालविवाह र महिला हिंसाका घटना बढ्दै गएको बताउँदै यसको न्यूनिकरणका लागि सबैले पहल लिनुपर्ने बताए।