‘वातावरणीय अध्ययनले विकास आयोजनामा ढिलाई हुँदैन’
रसुवा : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणीय अध्ययनका कारण विकास आयोजना निर्माणमा ढिलाई नहुने बताएका छन्। प्रारम्भिक वातावरणीय अध्ययन र वातावरणीय प्रभाव अध्ययन मूल्यांकनका लागि अबदेखि ५० दिनभन्दा बढी नलाग्ने उनको भनाइ छ।
वन तथा वातावरण मन्त्रालयलाई विकास विरोधीका रुपमा हेरिएको भन्दै प्रारम्भिक वातावरणीय अध्ययन र वातावरणीय प्रभाव अध्ययनको प्रक्रियामा परिवर्तन ल्याउने तयार गरेको मन्त्री बस्नेतले बताए।
रसुवाको धुन्चेमा गोसाइकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले शनिबार संयुक्त रुपमा आयोजित २४ औं वन्यजन्तु सप्ताह समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘अब वातावरणीय अध्ययनले विकास आयोजनामा ढिलाई हुनेछैन’, मन्त्री बस्नेतले भने, ‘अब यो सबै काम ५० दिनमा सक्ने तयार गरिराखेका छौँ।’
सरकारले समृद्धिको अगुवाई गरिरहेको चर्चा गर्दै मन्त्री बस्नेतले समृद्धिको यात्रामा आमजनता सरिक नभएसम्म नतिजा नआउने बताए । विकासका काममा सरकार र प्रतिपक्षको भावना राख्न नहुनेमा जोड दिँदै उनले सरकारबाहिर रहेका दल र शक्तिलाई पनि सहकार्यका लागि अपिल गरे।
मन्त्री बस्नेतले रसुवाको गोसाइकुण्ड क्षेत्रमा पाइने रेड पाण्डा संरक्षण गर्ने सके स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने भएकाले त्यसमा लाग्न स्थानीय सरोकारवालासँग आग्रह गरे। कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय हितबहादुर तामाङ र सत्या पहाडी लगायत सहभागी थिए।