जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, रोकियो विवाह
बझाङ : बझाङको खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बोलेरो जिप खप्तड छान्ना गाउँपालिका कै लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको छ। आइतबार भएको दुर्घटनामा दुलाहाको गाउँका ६५ वर्षिय बासुदेव जोशीको घटनास्थलमा मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा चेतराज जोशी, गोकर्ण जोशी, नरेशप्रसाद जोशी, डम्मरप्रसाद जोशी, देवराज जोशी, सुकदेव जोशी र गाडी चालक जयराज जोशी रहेको प्रहरीले जनाएको छ। चेतराज जोशीको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ। उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको उक्त गाडी गाउँबाट एक घण्टा हिँडेपछि लामातोला नजिकै सडकको सतह चिप्लो भएको र ओरालो तथा कच्ची सडक भएको हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
तमैलबाट छान्ना हुँदै अहिले सेती लोकमार्ग अन्तर्गतको सडकमा जीपहरू चल्ने गरेका छन्। मृतक जोशीलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइको छ। दुलाहा बलराम जोशीको विवाह जयपृथ्वी नगरपालिकाको सुबेडामा आउने कार्यक्रम रहेको थियो। जिप दुर्घटना भएर आफन्तको मृत्यु भएपछि विवाह स्थगित भएको छ।