श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो (अपडेट)
कोलम्बो : श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या आइतबार साँझसम्म २०७ पुगेको छ। प्रहरी तथा अस्पताल स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले सबै स्थानमा गरी कम्तीमा २०७ जनाको मृत्यु भएको बताएका छन्।
प्रहरी प्रवक्ता रूवान गुनशेकराले मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेको पुष्टि गरेका छन्। बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएका बताइएको छ। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने सम्भावना रहेको यहाँका अधिकारीहरूले बताएका छन्।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो। चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ।
“राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्” प्रहरी प्रवक्ता रूवान गुनशेकराले भने। बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्।
गिर्जाघरहरूमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ। यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बताएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गरेका छन्। उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताएका छन्। घटनाको विश्वभरबाट निन्दा भएको छ।