घरझगडामा छिमेकीको ज्यादती
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका—२५ लोहनाकी ३० वर्षीया सुखमरियादेवी सदा मुसहरलाई छिमेकीले कुटपिट गरेका छन्। उनीहरूले शुक्रबार राति ११ बजे घरबाट जबर्जस्ती मुसहरी टोल चोकमा लगेर कपाल मुण्डनसमेत गरिदिएका छन्।
उनी तीन महिना श्रीमान् र परिवारलाई छाडेर बहिनीज्वाइँकहाँ बसेकी थिइन्। अर्को पुरुषहरूसँग अवैध सम्बन्ध रहेको र उसकै साथ घर छाडेर बाहिर बसेको आरोप उनीहरूले लगाएका थिए। कुटपिटपछि घाइते अवस्थामा उनी घर आएकी थिइन्। घटनाको अर्को दिन शनिबार गाउँकै केही सहयोगीले प्रहरीमा खबर गरेका थिए।
प्रहरीले ४० वर्षीय मकसुदन सदा, २८ वर्षीय ललित सदा, ३६ वर्षीय ठक्कर सदा, २३ वर्षीय करिचन सदा, ४१ वर्षीय चनमा सदा, ३२ वर्षीय घुरन सदा, २६ वर्षीय बद्री सदा र १८ वर्षीय महेन्द्र सदालाई नियन्त्रणमा लिएको छ। अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलाई म्याद थप गरिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए।
यसरी भयो घटना
सुखमरियाका श्रीमान् प्रकाश रक्सी सेवन गरी सधैं झगडा गर्थे। यसबाट आजित उनी माघमा बहिनी फुलकनिया र ज्वाइँ रिझन सदाको घर गोनरपुरा गइन्। उनका श्रीमान्ले यो अवधिमा खोजखबर गरेनन्। तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको छ। ‘बिरामी पर्दा पनि कसैले सोधखोज गरेनन्’, उनले भनिन्, ‘छोरीज्वाइँसँग पैसा मागेर औषधि खान्थें।’ होलीको दिन बेहोस हुँदा बहिनी र ज्वाइँले अस्पताल लगेको उनले सुनाइन्।
छोराछोरीको माया लागेर उनी गत बुधबार घर फर्किन्। तर, घरमा नराख्न गाउँकै केही युवाले प्रकाशलाई दबाब दिए। ‘मेरी स्वास्नी म राख्छु भन्दा मलाई गाली–बेइज्जती गरे’, उनले भने, ‘उसको चरित्र खराब भइसकेको र गाउँमा बस्यो भने अरू छोरीबुहारी बिग्रिने भन्दै घरबाट निकाल्न दबाब दिए।’ घरपरिवारले नमानेपछि शुक्रबार राति उनीहरूले समुदायको पञ्चायत बोलाएर सुखमरियालाई ल्याएका थिए।
सखुमरिया डराउँदै गइन्। त्यहाँ गाउँका उनकै केही नातेदार र छिमेकी युवा भेला भएका थिए। उनलाई सबैको बीचमा उभ्याइयो। एक जना देवर पर्नेले गाली गर्दै ‘को पुरुषसँग भागेकी थिइस् कबुल गर्’ भने। सुखमरियाले जवाफ दिन नपाउँदै प्रश्न गर्नेले कुट्न निर्देशन दिएका थिए। ‘एक–दुई झापड अझ कुटेको भए मेरो प्राण छुट्थ्यो होला’, उनले भनिन्। गाउँलेहरू प्रकाशलाई पनि कुट्न तम्तयार भए। ‘मेरो पनि कपाल छिल्ने भनेर सबैले समात्न लागेका थिए’, उनले भने, ‘तर, म भागेर जोगिएँ।’ सुखमरिया सबैले छाडेपछि घर फर्किएकी थिइन्। अर्को दिन गाउँकै केही व्यक्तिको सहयोगमा उनले जिल्ला प्रहरी कार्यालय धनुषा गई जाहेरी दर्ता गराएकी थिइन्।
‘हामीले उनका बहिनी र ज्वाइँलाई पनि सोधेका थियौं। उनी तीन महिना साथमै भएको जवाफ आएको थियो’, अनुसन्धानमा संलग्न डीएसपी कार्कीले भने, ‘महिलामाथि यस्तो व्यवहार गर्नेविरुद्ध मुद्दा चलाइसकेका छौं।’
सुखमरियाको मुख सुनिएको छ। उनी कपाल रुमालले छोपेर घरमा बसेकी छन्। ‘छाती दुखेर बोल्न पनि मन लागेको छैन’, उनले भनिन्।
यातना दिनेहरूलाई दण्डसजाय हुनुपर्ने वडाध्यक्ष उमेश यादवको भनाइ छ।‘यदि ती महिलाका बारेमा केही गुनासो थियो भने गाउँमा स्थानीय सरकार छ त्यहाँ आएर भन्न सकिन्थ्यो’, उनले भने, ‘तर, रातिका बेला यस्तो अमानवीय व्यवहार हुनु निन्दनीय छ।’