मिर्गौला प्रत्यारोपणको माग धेरै
काठमाडौं : मिर्गौला बिग्रेपछि बर्सेनि ३ हजार व्यक्ति निष्क्रिय हुन पुग्छन्। तीमध्ये झण्डै ३ सय बिरामीले मात्र नयाँ मिर्गौला प्रत्यारोपण गरेर सक्रिय जीवन बिताउँछन्।
देशमा अंग प्रत्यारोपण सुरुवात प्रशंसनीय भए पनि मागअनुरूप सेवा दिन नसकेकोमा शल्यचिकित्सक चिन्ता व्यक्त गर्छन्। दुईदिने अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भने, ‘प्रत्यारोपण गर्नु पर्ने सबैलाई सेवा दिन सकिएको छैन। ३ हजारको मिर्गौला फेल हुन्छ। तर प्रत्यारोपण झण्डै ३ सयको मात्र हुन्छ।’
केन्द्रले ६ वर्षमा ६ सय १ जनाको मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ। ४ जनाको कलेजो प्रत्यारोपण र ६ जनाको मस्तिष्क मृत्युबाट प्राप्त मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ। वरिष्ठ मिर्गौला, कलेजो तथा प्यान्क्रियाज सर्जनसमेत रहेका डा. श्रेष्ठले अंगदानसम्बन्धी जनचेतना फैलाउनु पर्ने खाँचो औंल्याए।
सरकारी अस्पतालमा पूर्वाधार विकासका साथै आधुनिक प्रविधि र दक्ष जनशक्ति व्यवस्था गरे बिरामीको पहुँच पुग्ने शल्यचिकित्सकको भनाइ छ। वीर अस्पतालका स्नायु शल्यचिकित्सक डा. राजीव झाले टाउकोमा चोट लागेका व्यक्तिको शल्यक्रिया काठमाडौंमा सीमित रहेको बताए। ‘झ्यालबाट लडेका, सडक दुर्घटनामा परेका, खेल्दा चोटपटक लागेर घाइते भएकाको उपचार उपत्यका बाहिरका अस्पतालमा पनि हुनु पर्छ’, उनले भने। शल्यचिकित्सक प्राडा. राकेश वर्माले मिर्गौला प्रत्यारोपण गर्नु पर्ने बिरामी बढिरहे पनि सेवा सीमित भएको बताए।
सरकार सहयोग गर्छ : मन्त्री पण्डित
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अंग प्रत्यारोपणमा सघाउन सरकार तयार रहेको बताएका छन्।
राजधानीमा भएको दुईदिने अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनको समापनमा उनले प्रत्यारोपण सेवा मितव्ययी बनाउनु पर्ने बताए। ‘प्रत्यारोपण सेवाका लागि जस्तो सुकै सहयोग गर्न पनि सरकार तयार छ’, मन्त्री पण्डितले भने। प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको संयुक्त आयोजनामा भएको सम्मेलनको पहिलो दिन प्रत्यारोपणसम्बन्धी प्राविधिक विषयमा छलफल भएको थियो। दोस्रो दिन जनचेतना अभिवृद्धि र मस्तिष्क मृत्युपछि गरिने अंगदानसम्बन्धी छलफल गरिएको थियो।
‘ब्रिजिङ द ग्याप’ नारासहितको सम्मेलनमा विभिन्न देशका ३ सयभन्दा बढी विज्ञ एवं शल्यचिकित्सक सहभागी थिए। सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतबाट ३० विज्ञ सहभागी थिए।