अविकासको वास्तविकता
प्राकृतिक स्रोतको उपयोग र मानवीय साधन, पुँजी र प्रविधि परिचालनले अविकासका रेखा मेटिँदै जान्छन्
विश्वका आर्थिक गतिविधि झल्काउने, विकासोन्मुख मुलुकहरूले सामना गरिरहेका समस्या र विकास (अविकास ? ) अवस्था (सूचक) बोध गराउने थुप्रै प्रतिवेदन वार्षिक रूपमा प्रकाशनमा आउँछन्। मानव विकास प्रतिवेदन, विश्व विकास प्रतिवेदन, शासकीय अवस्था प्रतिवेदन, वातावरणीय अवस्था प्रतिवेदन, महिला विकास प्रतिवेदन, प्रविधि ग्रहण प्रतिवेदन, पारदर्शिता र सूचना प्रतिवेदन आदिले विकासका समष्टिगत वा विषयगत अवस्थाको स्तरलाई प्रकाशन गरिरहेको हुन्छ।
यस्ता प्रतिवेदनले विकासका लागि सरोकारवाला संस्था र पात्रलाई नैतिक दबाब पनि दिइरहेको हुन्छ। त्यसो नगरे प्रतिवेदन र अध्ययनको महत्व पनि रहँदैन। यस्ता प्रतिवेदनहरूको साझा निष्कर्ष के छ भने केही मुलुक विकास प्रक्रियामा पछि छन्, रोग, भोक, अभाव र आवश्यकतामा पिल्सिरहेका छन्।
अझ भनौं, धेरैजसो मुलुक अविकासमा छन्, समृद्धि र खुसीमा पछि छन्। तर यस्ता प्रतिवेदनमा के उल्लेख गरिँदैन भने मुलुकहरू पछि पर्नु वा अविकासका कारण केके हुन् ? अविकासबाट विकासमा जाने बाटो कस्तो हुनुपर्छ ? अविकासका समस्या देशविशेषका छुट्टाछुट्टै छन् कि साझा प्रकृतिका ? साथै मुलुकलाई विकासमा पुर्याउन विश्व संस्था र अन्य मुलुकको पनि दायित्व हुन्छ र त्यो कसरी निर्वाह गर्ने भन्ने विषयमा पनि प्रतिवेदन प्रायः मौन रहन्छन्। मुलुकलाई विकासमा पुर्याउने प्राथमिक दायित्व आन्तरिक विषय हो। तर समकालीन विश्वमा विकास ‘साझा आवश्यकता’ (कमन ग्लोबल गुड्स) हो र अविकास ‘साझा शत्रु’ (कमन ह्युमन इनेमी)। त्यसैले अल्पविकसित मुलुकहरू गरिब बिरामीमाथि प्रशिक्षार्थी स्वास्थ्यकर्मीले परीक्षण गरे झैं प्रेस्क्रिप्सनको प्रयोगशाला बन्नु हुँदैन। यस प्रवृत्तिले प्रतिवेदनका खात त हुन्छन्, तर निदानको उपाय हुँदैन। यसो भइरहे प्रतिवेदनका महत्व नहुने मात्र होइन, विकास निमानवीकृत हुने समस्या फराकिन सक्छ।
भनिरहन परोइन– अल्पविकसित मुलुकहरू विपन्नता, वञ्चिती र अभावमा छन्। तर मौलिक रूपमै यी समस्या समाधान गर्ने सामथ्र्य त्यहाँ नभएको भने होइन। समस्या संस्था निर्मित छन् र नेल्सन मन्डेलाले भने झैं मानवीय प्रयत्नबाटै तिनको निदान निकाल्न सकिन्छ। केही संरचनागत र केही मूल्य र संस्कृतिगत कारण भएका प्रचुर सम्भावना पनि उपयोगमा नआएर अविकासमा देखिएको हो। कुनै भूगोल, क्षेत्र, वर्ग, व्यक्ति मात्र होइन, भूगर्भ र त्यसको परिवेश पनि आफैंमा सम्भावनाका भण्डार हुन्। कमजोर प्रणाली र हीन मनोविज्ञान अल्पविकसित मुलुकका खास समस्या हुन्, जसले सम्भावना भइकन समृद्धि अलग्याएको छ। प्रविधि, पुँजीजस्ता विषय शासकीय सबलताको स्तर र सकारात्मक मनोविज्ञानले सिर्जना गर्ने कुरा हुन्। अरूको सहयोग र दानदातव्यले समृद्धि सम्भव नै हुँदैन, चाहे त्यो व्यक्तिगत तहमा होस् वा राष्ट्रिय तहमा नै किन नहोस्। प्रत्येक विकसित मुलुक र उदीयमान अर्थतन्त्रको पृष्ठभूमिमा आफ्नै प्रयास र शासकीय सफलताको कथा छ।
कुनै मुलुक विकसित छ भन्नु त्यहाँ संस्था विकास छ भन्नु हो। यसलाई महत्व नदिँदा वा प्राज्ञिक उपयोगको क्षेत्र मात्र बनाउँदा अविकास नै हात लागेको विश्व विकासको इतिहास छ।
चीनको समृद्धि देङको दृष्टिकोण र शासकीय कुशलताको उपज हो। दक्षिण कोरियामा पार्कले, सिंगापुरमा लीले विकास नेतृत्वमा देखाएको चमत्कारमा उच्च तहको राष्ट्रिय निष्ठा र त्यसलाई सहयोग गर्ने प्रणाली निर्माण थियो। अहिले हामीले देखे, पढेजस्तो सरल साहित्य विकास उपलब्धिमा पक्कै थिएन। विकास र समृद्धिको यात्रा रेखीय हुँदैन, सरल पनि हुँदैन। लगातारको लगाव, निष्ठा र क्रियाशीलता चाहिन्छ। यो बुझाइ र वृत्ति नहुँदासम्म अविकासको विकास भएरै रहन्छ, समृद्धि र रूपान्तरण जटिल बन्छ। भएका सीमित प्राप्ति पनि दिगो रहँदैनन्। वैयक्तिक जीवनमा पनि अरूको सहयोग र दानबाट दिगो उपलब्धि कसले हाासिल गरेको छ र ? विश्वका स्थापित विकास प्रणेता, आविष्कारक, धनी मानिस आफ्नै प्रयत्न र पसिनाको अनवरत लगानीबाटै स्थापित भएका हुन्।
अल्पविकसित मुलुकका विकासविद्, नीतिकर्मी, राजनीतिज्ञ, प्रशासक र यिनीहरूलाई पहरेदारी गर्ने नागरिक समाज भनिनेहरू सबैजसोले यो कुरा बुझेका छन्। तर वृत्तिमा त्यसलाई अवलम्बन गर्न चाहँदैनन्। किनकि, यो जटिल छ र निरन्तरको समर्पण पनि चाहिन्छ। त्यसैले भन्ने गरिन्छ, अल्पकिसित मुलुकका विकास पात्रहरूको संस्कार (डीएनए) परिवर्तनबिना अविकासबाट विकासमा जान सकिँदैन। क्षमता भएर मात्र हँुदैन, सोच, संस्कार र समर्पण झनै जरुरी हो।
विकास संस्कृति नै मूल चुनौती हो। अल्पविकसित मुलुकहरू किन अविकासमा रहे भन्ने विश्लेषणका सन्दर्भमा विकासे अर्थशास्त्रीहरू मत्यैक्य छैनन्। कतिपय अर्थशास्त्रीहरू अविकासको मूल कारण आधुनिकीकरण हुन नसक्नु हो भन्ने गर्छन्। कतिपय निर्भरता बढेर विकास नभएको मान्छन्। केहीले गरिबी र असमानता अविकासमा मूल कारण मान्छन्। यी भनाइ वस्तुगत नभई अमूर्त पनि छन्। यी शास्त्रीय अर्थशास्त्रीय धारणा अविकासका कारण नभई परिणाम हुन्। मानवतावादी अर्थशास्त्री अमत्र्य सेन मानवीय क्षमता निर्माणले मात्र गरिबी घट्छ भनी घुमाउरो पाराले मानवीय क्षमता निर्माण नहुनुलाई अविकासको कारण मान्छन्। महबुब उल हक मानवीय चयन क्षमता विस्तार गरेर नै मानव विकास प्राप्त गर्न सकिन्छ भन्छन्। उनका अनुसार सबैखाले मानवीय समस्या समाधानको एकमुष्ट अचुक अस्त्र मानव क्षमता हो।
राष्ट्रसंघीय विकास पद्धतिमा मानव आकृतिसहितको विकास आवश्यकता औंल्याउने गरिन्छ। केही अर्थशास्त्रीहरू संस्था निर्माण हुन नसक्दा मुलुकहरू अविकासको चंगुलबाट उम्किन नसकेको मान्छन्। उनीहरूको तर्क छ– अमेरिकाको संविधान निर्माण र उसले लिएको आधुनिकीकरणको यात्रा, जेम्स वाटले वाष्प इन्जिन पत्ता लगाएको समय, एडम स्मिथले ‘वेल्थ आफ नेसन’ लेखेको समय र नेपाल एकीकरण भएको समय एकै दशकतिरको हो। विकासको पहिलो लहर यसैको आसपासमा आयो, औद्योगिक क्रान्ति भयो, उत्पादन संरचना बदलियो र वैदेशिक व्यापारको निकै विस्तार भई युरोपीय–अमेरिकी मुलुकहरू विश्वभरि तुलनात्मक लाभका क्षेत्रमा फैलिए।
पहिलो लहर समाउन संस्थात्मक क्षमता भएका मुलुकहरू आर्थिक विकासको शिखरमा पुगे। दोस्रो लहर एक शताब्दीपछि साठीको दशकतिर सुरु भयो। दक्षिण कोरिया, चीन, सिंगापुर, मलेसिया यो लहरबाट लाभान्वित भए। कर्पोरेट गुरिल्लाका रूपमा बहुराष्ट्रिय कम्पनीहरू ग्राहकका नयाँ स्वाद र सन्तुष्टिमा दौडिए। यी मुलुकले उनीहरूलाई स्वागत गरेर भित्याए र विकासको छुट्टै मोडेल देखाइदिए। साठीको दशकमा पनि नेपाल र यी मुलुकबीच तुलना गर्न सकिने अवस्था थियो। एकै प्रकारको समस्या भएका मुलुकहरू योजनाबद्ध विकासको ढाँचा अवलम्बन गर्न पुगे।
संस्था निर्माण हुन सक्दा विकासको गति (अवसर) पक्डिन सकिन्छ र प्रगति हुन्छ। नसक्दा गुमेको अवसर गुम्ने नै भयो, फेरि आउने भएन। संस्था निर्माण नै अविकासको चंगुलबाट विकासको यात्रा तय गर्ने रणनीति हो। यो आर्थिक विकासको चर्चित मोडेल होइन, तर अनुभवले यही बताएको छ। विकास, सुशासन र लोकतन्त्रका लागि प्रभावकारी संस्थाहरू जरुरी पूर्वाधार नै हुन्। संस्थाहरू नै प्रणाली विकासका लागि निरन्तर गतिशील हुन्छन् र आविष्कार, सिर्जना र अन्वेषणमा लागिरहन्छन्। त्यसैले कुनै मुलुक विकसित छ भन्नु त्यहाँ संस्था विकास छ भन्नु हो। यसलाई महत्व नदिँदा वा प्राज्ञिक उपयोगको क्षेत्र मात्र बनाउँदा अविकास नै हात लागेको विश्व विकासको इतिहास छ।
उसो भए संस्था विकास भनेको के हो ? संस्था विकासको प्रक्रिया कस्तो हुन्छ ? यसलाई पनि बौद्धिक उपभोगको अर्थमा व्याख्या नगरी व्यावहारिक रूपमा लिनुपर्छ। संगठन र संस्थालाई एकै रूपमा पनि बुझ्ने गरिएको छ। संगठनलाई संस्थामा परिणत गर्ने कार्यले संगठन (राज्य प्रणाली) का उद्देश्य पूरा गराउँछ। संगठनका उद्देश्य पूरा गर्न आवश्यक व्यवस्थित कार्य, कार्यविधि, सिलसिलाबद्ध क्रियाकलाप र यसले निर्माण गर्ने स्वचालित पद्धति नै संस्था हो। अनौपचारिक मान्यता र मूल्य प्रणालीले संगठन र सर्वसाधारणबीच सामाजिक अन्तरक्रिया सम्भव गराउँछ।
संगठनलाई संस्था बनाउन निकै प्रयास गर्नुपर्छ। संगठनलाई दिशाबोध गर्न सक्षम नेतृत्व चाहिन्छ, नेतृत्वलाई साथ दिने ऊर्जाशील हातहरू (प्रशासन) चाहिन्छन्, ती हातलाई काम गर्न सघाउने नीति, विधि र वातावरण चाहिन्छ, नीतिलाई अवलम्बन गर्ने नियत चाहिन्छ र यी सबैले स्वाभाविक र स्वचालित कोर्स पहिल्याउने संस्कार चाहिन्छ, जसले नतिजा निर्माण गरी त्यसैलाई टेकेर थप उत्साह र ऊर्जा आर्जन गर्दै भविष्यपथ सुगम बनाउँदै जान्छ।
अविकासका चंगुलहरू भत्काउँदै जान्छ। सारमा भन्दा दृढ नेतृत्व, आक्रामक प्रशासन, उत्पादनशील निजी क्षेत्र, स्वयम् परिचालित सामुदायिक संरचना एवम् सहयोगी जनताको विश्वासिलो अन्तरक्रिया नै सबल संस्थात्मक परिवेश हो। यस परिस्थितिले नै प्राकृतिक स्रोत, मानवीय साधन (ज्ञान, सीप), पुँजी र प्रविधिलाई आदर्श अभ्यास गराई विकास र समृद्धि सहज, सरल र सतत बनाउँछ। यसर्थ विकास, समृद्धि र सुशासनका लागि संगठनहरू संस्थामा परिणतको विकल्प छैन, त्यो पनि आक्रामक रूपमा।