विभागीय दबदबा तोड्दा
बेलझुन्डी : आठौं राष्ट्रिय खेलकुदमा विभागीय टोलीको दबदबा कायमै छ। हरेक खेलमा अग्रता बनाएको विभागीय टोलीले एथलेटिक्सको ट्र्याक र फिल्ड दुवैमा वर्चस्व कायम गरेको छ। तर, प्रदेशका केही खेलाडीको दमदार प्रदर्शनले भने विभागीय टोलीलाई समेत सोच्न बाध्य बनाएको छ।
सीमित स्रोतसाधन, अपर्याप्त प्रशिक्षण र खेलसामग्री अपर्याप्तकै बीच पनि केही खेलाडीले आफूलाई प्रमाणित गर्दै आएका छन्। तिनैमध्येकी एक हुन्, प्रमिला थारू। ५ नम्बर प्रदेशबाट आठौं राष्ट्रिय खेलकुदमा सहभागी प्रमिलाले बेलझुन्डीमा पहिलो पटक हडल्स देखिन्। महिला हडल्सको एक सय मिटर दौडमा विभागीय वर्चस्वलाई तोड्दै स्वर्ण जितेकी उनले बेलझुन्डी आउनु अघि प्लास्टिकको कुर्सी राखेर प्रशिक्षण लिने गर्दथिन्। हडल्सको बारेमा सुने पनि कहिले नदेखेकी उनले कुर्सीमा भन्दा हडल्समा दौड्न सजिलो भएको बताइन्। उनीसँगै प्रशिक्षण गरेकी जयरानी चौधरीले रजत जितिन्। प्रमिला र जयरानीले स्वर्ण र रजत बाँड्दा आर्मीकी तुलसा थापाले भने कांस्यमा चित्त बुझाइन्।
हावा चल्दा प्लास्टिकका कुर्सी ढल्ने गरेपछि प्रशिक्षक चन्द्रबहादुर गुरुङले फलामको फ्रेम बनाएर उनीहरूलाई प्रशिक्षण गराएका थिए। बर्दिया जोगी गाउँकी प्रमिलाले केही समय हडल्समा प्रशिक्षण गर्न पाएको भए अझै राम्रो नतिजा दिन सक्ने बताइन्। ‘हडल्समा केही समय ट्रेनिङ गर्न पाएको भए अझै राम्रो दौडन सक्थेँ’ उनले भनिन्।
एथलेटिक्सका वरिष्ठ प्रशिक्षक चन्द्रबहादुर गुरुङले प्रमिला मेहनती खेलाडी भएको बताए। ‘प्रमिला धेरै मेहनती छ। एक पटक सिकाएपछि सिकिहाल्ने क्षमता उसमा छ’ गुरुङले भने। उनले एक तथा दुई सय मिटर र हडल्समा राम्रो गर्न सक्ने बताए। उनले आठौंका लागि दाङ आउनुअघि एक महिना तयारी गरेको बताउँदै अन्य विकल्प नभएपछि प्लास्टिक कुर्सी र फलामको फ्रेममा प्रशिक्षण गराएको बताए।
खाली खुट्टाले कांस्य पदक
एथलेटिक्सको महिला चार गुणा चार सय मिटर रिले दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडीले नयाँ इतिहास बनाए। आर्मीका कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईले निर्धारित दूरी चार मिनेट ०२.४८ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए। तर, यो स्पर्धामा आर्मीको भन्दा प्रदेश ५ का खेलाडीको चर्चा बढी भयो। प्रदेश ५ का खेलाडीले विभागीय दबदबालाई तोड्न नसके पनि खाली खुट्टामै दौडिएर कांस्य पदक जिते।
अरुणा रिजाल, पूजा चौधरी र पूर्णिमा खड्काले स्पाइक सुज लगाएर दौडेका थिए। तर, कमला जैसी भने खाली खुट्टामै दौडिएकी थिइन्। रिलेको अन्तिममा दौडिएकी कमलाले प्रदेश ३ लाई पछि पार्दै कांस्य पदक दिलाइन्। बाँकेकी उनले आफूसँग स्पाइक सुज नभएपछि खाली खुट्टा दौडिएको बताइन्। ‘मसँग सामान्य जुत्ता थियो, त्यो पनि घरमा नै छुट्यो। अर्को जुत्तामा दौडिन अप्ठ्यारो भएपछि खाली खुट्टा दौडिएको हुँ’ कमलाले भनिन्। उनले सिन्थेटिक ट्र्याकमा स्पाइक सुजमा दौडन पर्छ भन्ने आफूलाई थाहा नभएको बताइन्। ‘यसअघि सातौं राष्ट्रिय खेलकुदमा माटोको ट्र्याकमा सामान्य जुत्ता लगाएर खेलेको थिएँ’ सिन्थेटिक ट्र्याकमा पहिलो पटक दौडिएकी उनले भनिन् ‘यहाँ स्पाइक सुज लगाउनुपर्छ भन्ने थाहै भएन।’
१७ वर्षीया कमलाले सुरुदेखि नै सिन्थेटिक ट्र्याकमा अभ्यास गर्न पाएको भए अझ राम्रो नतिजा ल्याउन सक्ने बताइन्। ‘पहिलेदेखि नै सिन्थेटिक ट्र्याक र स्पाइक सुजमा दौडिएको भए अझै राम्रो नतिजा ल्याउन सकिन्थ्यो’, उनले भनिन्। उनले पाँच हजार मिटरमा भने सामान्य जुत्ता लगाएर दौडिएको बताइन्। प्रदेश ५ प्रशिक्षक चन्द्रबहादुर गुरुङले स्पाइक सुजमा बानी नहुँदा कमलाले खाली खुट्टामा दौडिएको बताए।