सन्तोषीको राष्ट्रिय कीर्तिमान
बेलझुन्डी (दाङ) : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पाँच हजार मिटर दौडमा प्रदेश ३ की सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। आइतबार दाङको बेलझुन्डीमा भएको प्रतिस्पर्धामा उनले निर्धारित दूरी १६ मिनेट ३८.५३ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
धादिङकी स्थायी बासिन्दा सन्तोषीले अध्ययनका क्रममा काठमाडौंमा बसेर प्रतियोगिताको तयारी गरेको बताइन्। नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी उनले २५ हजार नगद पुरस्कार पाउने छिन्।
यसअघि उक्त कीर्तिमान काछीमाया कोजूको नाममा थियो। कान्छीमायाले १६ मिनेट ४९.९६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्। उनले सन् २०१० मा चीनको गोन्झाउमा आयोजना भएको १६औं एसियाली खेलकुदमा उक्त कीर्तिमान बनाएकी थिइन्।
यस स्पर्धामा त्रिभुवन आर्मी क्लबकी विश्वरूपा बुढाले १६ मिनेट ४६.०३ सेकेन्डका साथ रजत र सशस्त्र प्रहरी बल एपीएफकी वृन्दा धम्के श्रेष्ठले १७ मिनेट ०३.७५ सेकेन्डमा दौडँदै कांस्य जितिन्।
यसैगरी चार गुणा चार सय मिटर रिले दौडमा पनि त्रिभुवन आर्मी क्लबले नयाँ कीर्तिमान बनाएको छ। महिलातर्फको रिले दौडमा आर्मीका कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईले निर्धारित दूरी चार मिनेट ०२.४८ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। यसअघि यो रेकर्ड नेपालको राष्ट्रिय टोलीको नाममा थियो। यस स्पर्धामा एपीएफले रजत र प्रदेश ५ ले कांस्य पदक जित्यो।
यसैगरी पुरुष रिलेमा भने एपीएफले स्वर्ण जितेको छ। एपीएफका आशिष चौधरी, सत्यबहादुर बुढा, शिवराज पार्की र नीरप्रताप महतोले निर्धारित दूरी तीन मिनेट २४.०१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो।
यस्तै चेतनारायण धनेत, जीवन चौधरी, अशोक कुँवर र आनन्ददेव चौधरी सम्मिलित आर्मीले निर्धारीत दूरी तीन मिनेट २५.०४ सेकेन्डमा पूरा गर्दै रजत हात पारेका छन्। सीमान्त पाण्डे, माधवकुमार चौधरी, निरजकुमार थारू र सर्वण केवट सम्मिलित प्रदेश ५ ले तीन मिनेट ३०.०३ सेकेन्डको समय निकाल्दै कांस्य पदक जिते।
यसैगरी महिला ट्रिपल जम्पमा एपीएफकी शिला चौधरीले स्वर्ण पदक जितिन्। उनले ११.१४ मिटर जम्प गरिन्। यसैगरी १०.५० मिटरसहित प्रदेश ५ की पूजा चौधरीले रजत र १०.३७ मिटरसहित प्रदेश ५ कै सीमा चौधरीले कांस्य जिते। एथलेटिक्समा शिलाको दोस्रो स्वर्ण हो। यसअघि उनले हाइजम्पमा पनि स्वर्ण जितेकी थिइन्।
पुरुष ट्रिपल जम्पमा प्रदेश ३ का भुवन महतोले स्वर्ण जिते। उनले १४.६० मिटर जम्प गर्दै स्वर्ण जितेका हुन्। यसैगरी आर्मीका डिल्ली खत्रीले १३.९८ मिटर र आर्मीकै आशिष चौधरीले १३.९० मिटरका साथ क्रमशः रजत र कांस्य पदक जिते।
यसैगरी पुरुष पाँच हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन्। उनले १४ मिनेट ४४.२३ सेकेन्डका साथ स्वर्ण जितेका हुन्। कर्णाली प्रदेशका दुर्गाबहादुर बुढा १४ मिनेट ४६.५४ सेकेन्डका साथ दोस्रो र गण्डकी प्रदेशका अनिश थापाले १४ मिनेट ५७.०३ सेकेन्डका साथ कांस्य पदक जिते।
यसैगरी चार सय मिटर दौडमा एपीएफका नीरप्रताप महतो स्वर्ण जिते। उने निर्धारित दूरी ४९.३५ सेकेन्डमा पूरा गर्दा एपीएफकै शिवराज पार्कीले ५०.४५ सेकेन्डका साथ रजत र प्रदेश १ का प्रकाश दनुवारले ५०.६३ मिनेटका साथ कांस्य जिते।
महिलातर्फ आर्मीकी तुलसी खत्रीले ५९.९१ सेकेन्डका साथ स्वर्ण जित्दा आर्मीकै संगीता मेचेले एक मिनेट २९ सेकेन्डका साथ रजत र प्रदेश ५ की अरुणा रिजालले एक मिनेट ०१.५४ सेकेन्डका साथ कांस्य जितिन्।
यसैगरी एक सय मिटर महिला हडल्समा प्रदेश ५ की प्रमिला थारुले स्वर्ण जितिन्। उनले निर्धारित दूरी १६.२५ सेकेन्डमा पूरा गरिन्। यस्तै प्रदेश ५ कै जयरानी चौधरीले १८.०० सेकेन्डका साथ रजत र आर्मीकी तुलसा श्रेष्ठले १८.२८ सेकेन्डका साथ कांस्य जिते। पुरुषतर्फ आर्मीका नीरकुमार चौधरी पहिलो भए। उनले निर्धारित दूरी १५.५६ सेकेन्डमा पूरा गरे। यसैगरी पुलिसका चन्द्रदेव जोशी १५.६७ सेकेन्डका साथ दोस्रो र आर्मीका अशोक कुँवर १६.७० सेकेन्डका साथ तेस्रो भए।